महिलाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

फातिमा बानु

काठमाडौं — चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् । बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो ।

चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।

बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो । उनी चार दिनअघि (शनिबार अस्पताल) भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

‘जन्मजातै उनको नाक थोरै बांगो थियो, दुख्ने-घोच्ने केही हुन्थेन । बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो,’ मृतकका श्रीमान बसन्त भट्टराईले भने । कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले भने, 'शल्यक्रियापछिको उपचारपछि डाक्टरले कहिले संक्रमण कहिले हृदयघात भएको खबर दिइरहेको दाहालले सुनाए ।'

'शल्यक्रियापछि उनी आधा होशमा मात्रै थिइन्, केके बर्बराइरहेकी थिइन्,' श्रीमान वसन्तले भने, ‘हामीलाई मृत्युको स्पष्ट कारण दिनुपर्छ, नत्र हामी डाक्टरलाई कानुनी कारबाही गर्छौं ।’

बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । बिरामीको मृत्यु भएसंगै आफन्तहरुले अस्पताल घेरेका छन् ।

यता अस्पताल प्रशासनले भने कमलाको उपचारमा डाक्टरको लापरवाही अस्विकार गरेका छन् । ‘नाकको शल्यक्रिया सुन्दा सामान्य लागेतापनि यो संवेदनशिल अंग हो, यसको शल्यक्रियामा इन्फेक्सन बढी हुन्छ, कहिलेकाहीँ बिरामीलाई बचाउन सकिँदैन,’ अस्पताल प्रसाशन प्रमुख बिनय प्याकुरेलले भने । मृतकका आफन्तलाई डाक्टरको लावरवाही जस्तो लागे छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘सानो शल्यक्रियामा बिरामीको मृत्यु भयो, यस्तो घटना निकै कम हुन्छ, हामीलाई पनि दुख लागेको छ ।’ घटनाको छानबिन गरि कारबाही अघि बढाउने डा. गौतमले बताएका छन् ।

प्रकाशित : भाद्र २८, २०७४ १६:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश २ मा भदौ ३०, ३१ र असोज १ गते मतदाता परिचयपत्र बाँडिने

काठमाडौं — निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ । गैरसरकारी संघ संस्थामार्फत पनि यस पटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडक नाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने, 'तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यस पटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ ।'

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा छ हजार ६२७ प्रतिनिधिको चयन हुने छ । प्रदेश नं २ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ । प्रदेश नं २ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यस पटक निकै जोड दिँदैआएको छ । मतदाता परिचयपत्र लिन भरसक आफैँ मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

प्रकाशित : भाद्र २८, २०७४ १६:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT