माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतराः अध्यक्ष दाहाल

कान्तिपुर संवाददाता

लहान — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे ।

संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६/४७ सालको अवस्थामा मुलुक फर्किने खतरा रहेको समेत उनले दावी गरे ।

पूर्वप्रधानमन्त्री दाहालले भने, 'संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ । त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।'

मधेसको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष दाहालले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेता आफ्नो पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे ।

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र त्यहाँका जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको बताउँदै उनले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे ।

तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष दाहालले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धनगढीमाई नगरपालिका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी र उपप्रमुखका उम्मेवार फुलकुमारी श्रेष्ठले आफूहरु चुनाव जिते नगरपालिकालाई सुन्दर, सफा र पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
–रासस

प्रकाशित : भाद्र २८, २०७४ १८:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कृत १० वर्षीया बालिकाले जन्म दिएको बच्चाको डीएनए आरोपीसँग नमिलेपछि पुन: अनुसन्धान सुरु

बालात्कारमा अन्य व्यक्ति पनि संलग्न रहेको आशंका
बीबीसी

नयाँ दिल्ली — भारतीय प्रहरीले १० वर्षीया बालिकाको बलात्कारको पुरानो मुद्दालाई पुन: ब्युँताएको छ । उक्त १० वर्षे बालिकाले गत महिना अघि बच्चा जन्माएसँगै त्यसको डीएनए परिक्षण गर्दा बलात्कार गरेको अभियोगमा कारागारमा रहेका काकासँग नमिलेपछि प्रहरीलाई अहिले त्यो टाउको दुखाईको विषय बनेको छ ।

धेरै ढिलो मात्र बालिका गर्भवति भएको थाह पाएपछि गर्भपतनका लागि उनको परिवारले अदालतमा निवेदन दिएको थियो । तर, गर्भपतन गर्न निकै नै ढिलो भएको र त्यो गर्दा बालिकाको ज्यानलाई जोखिम हुने भन्दै सर्वोच्चले उनको निवेदन खारेज गरेको थियो ।

१० वर्षे बालिकालाई आफू गर्भवती रहेको पनि पत्तो थिएन । उनलाई परिवारले पेटमा ढुंगा रहेको बताएका थिए । सो बालिकाले आफ्नै काकाले उनलाई पटकपटक बलात्कार गरेको बयान दिएकी थिइन् । ४० वर्षिय काका अहिले जेलमा छन् र उनले यसबारे केही प्रतिक्रिया पनि दिएका छैनन् । डीएनएको रिपोर्ट काकासँग नमिलेपछि ती बालिकालाई अन्य व्यक्तिले पनि बलात्कार गरेका थिए भन्ने तथ्य बाहिर आएका हो ।

बालिकाको पिताका अनुसार जेल सजाए काटिरहेका काकाले अरोप अस्विकार गरेका छैनन् । यस्तै, प्रहरीले पनि ती व्यक्तिले अपराध स्विकार गरेको बताएको छ ।

‘उक्त केसको अनुसन्धानमा हामीलाई कहिल्यै पनि अर्को व्यक्ति पनि संलग्न हुनसक्छ भन्ने लागेन । किनभने बालिका आफैंले काकाले गरेको कुकृत्य अदालतमा बयान गरेकी थिइन्,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

यो रिपोर्ट बाहिर आएसंगै प्रहरी र काउन्सिलरहरुले ती बालिकालाई घरमा गएर भेटेका छन् । प्रहरी अधिकारीहरुले कतै डीएनए रिपोर्ट मै केही गडबढी भयो कि भनेर पुन: टेस्ट गराउने सोचमा पनि छन् ।

भारतमा २० हप्ताभन्दा बढीको भ्रुण पतन गराउन अदालतको आदेश लिनुपर्ने नियम छ । उक्त बालिकाले गत जुलाई महिनामा पेट दुखेको बताएपछि गर्भ रहेको पत्ता लागेको थियो । त्यसपछि परिवारले चन्दिगर्ड अदालतमा गर्भपतनको निवेदन दिएका थिए । तर अदालतले चिकित्सकसँगको सल्लाह पछि त्यसलाई अस्विकार गरेको थियो । त्यसपछि परिवार सर्वोच्च गएका थिए, त्यहाँबाट पनि निवेदन अस्विकृत भएपछि बालिकाले बच्चा जन्माएकी थिइन् ।

बालिकाको परिवारले उक्त बच्चा आफूले नराख्ने बताएसँगै बाल संगठनले उक्त बच्चालाई आफ्नो जिम्मामा राखेको छ । 

प्रकाशित : भाद्र २८, २०७४ १८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT