१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस र माओवादी केन्द्रले राज्य स्रोत दोहन गरे : भट्टराई

अवधेशकुमार झा

राजविराज — नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सरकारले खुल्ला रुपमा निर्वाचन आचारसंहिताविपरीत कार्य गरिरहेको आरोप लगाएका छन् । उनले सरकारमा साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले राज्यको स्रोतको दोहन गरी कार्यकर्ता पोस्ने कार्य गरेको आरोप पनि लगाए ।

कांग्रेस र माओवादी केन्द्रले राज्य स्रोत दोहन गरे : भट्टराई

सप्तरी सदरमुकाम राजविराजमा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विधि नियम नमान्ने नेताको संज्ञा दिए । उनले भने, ‘देउवाजी २०५१ सालदेखि नै विधि प्रक्रिया मान्दैनन्, प्रचण्डजीलाई जनयुद्धको कमाण्डर भएको घमण्ड छ उहाँ पनि नियम विधि मान्नुहुन्न ।’ निर्वाचन आयोग पछिल्लो समय निरीह सावित भएको भट्टराईले बताए ।

उनले भने, ‘निर्वाचन आचारसंहिताविपरीत खुलमखुल्ला कार्य भइरहेको छ, सरुवा बढुवा रोकिएको छैन्, पैसा बाड्ने काम चलेकै छ तर रोक्न आयोगले सकेको छैन, जसले आयोगको निरीहता प्रस्ट भएको छ ।’ दलीय भागवण्डाका आधारमा संवैधानिक निकायहरु बनाउँदा यसैगरी निरीह हुँदै जाने भट्टराइको भनाइ छ ।

मधेसका मागलाई २ वर्षसम्म लतारदै संविधान संशोधनलाई तुहाउनु राम्रो संकेत नभएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले संविधान संशोधन भई निर्वाचन भएको भए सबैको उत्साह अझै मजबुत भएर जाने उल्लेख गरे । मधेस र मधेसीमाथि बिश्वासघात भएको बताउँदै उनले भने, ‘संविधान संशोधन गरी मधेसको माग पूरा गर्नुपर्छ किनभने काँडा शरीरमा घोचिएकै रहे त्यो सधैं बल्झिरहन्छ ।’

प्रकाशित : आश्विन २०, २०७४ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?