१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दसैंमा यात्रु ओसार्न छ हजार सार्वजनिक सवारी

काठमाडौं — हिन्दु नेपालीको पर्व दसैंको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन् । दसैंको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् ।

दसैंमा यात्रु ओसार्न छ हजार सार्वजनिक सवारी

हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसका अलावा दसैंमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन् । 

यो वर्षमात्र २०/२१ लाख मानिस दसैं मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे १५/१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा पाँच/छ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउँछन् । 

हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायत स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन् । दसैंलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दसैंको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दसैंको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताउँछन् । 

महाशाखा, विभागलगायत विभिन्न संघ संस्थाको सहयोगमा दसैंमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ । रासस 

प्रकाशित : भाद्र २९, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?