दाहाल मध्यरातसम्मै चुनावी प्रचारमा

अवधेशकुमार झा

राजविराज — असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई अत्यन्तै महत्वका साथ लिएका राजनीतिक दलहरुले आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरुको कार्यक्रमलाई तीव्रता दिएका छन् । एकैदिन धेरै कार्यक्रममा सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो दौडमा अरुलाई उछिनेका छन् ।

दाहाल मध्यरातसम्मै चुनावी प्रचारमा

 दाहालले मध्यरातसम्म चुनावी प्रचारलाई निरन्तरता दिएका छन् भने एकाबिहानै राजविराजको सडकमा मर्निङ वाक गर्दै त्यसलाई पनि चुनावी प्रचारकै रुपमा प्रयोग गरेका छन् ।

मंगलबार सप्तरी आएका दाहालले साँझ ५ बजे कञ्चनरुप नगरपालिकामा पार्टीको चुनावी सभालाई सम्बोधन गरे । त्यहाँबाट पूर्व-पश्चिम राजमार्गको रुपनीमा साँझ ७ बजे दाहालले पार्टीको सभामा सहभागिता जनाए । राति ९ बजे राजविराज आइपुगेका दाहाल स्थानीय होटेलमा मुस्लिम समुदायका अगुवाहरुसित भेटघाट गर्दै आफ्ना उम्मेदवारका लागि मत मागे । माओवादीका तर्फबाट राजविराजको मेयरमा अनिस अन्सारीले उम्मेदवारी दिएका छन् । राति १० बजे दाहाल राजविरराजको जैन भवनमा माडवाडी समुदायका मतदाताहरुसित भेटघाट गर्दै मत मागे । मध्यरातसम्म दाहालले चुनावी प्रचारलाई निरन्तरता दिए ।

बुधबार एकाबिहानै सुरक्षाकर्मीसहित राजविराजको सडकमा मर्निङ वाकमा निस्केका दाहाल स्थानीय सामान्य चिया पसलमा चिया खाँदै त्यो समय पनि चुनावी प्रचारकै रुपमा उपयोग गरे । बिहानै ७ बजेबाट फेरि दाहालले भेटघाटलाई निरनतरता दिए । बिहान निर्माण व्यवसायी र उद्योगीहरुलाई भेटेका दाहालले ९ बजे नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राखे । 

पत्रकार सम्मेलनमा दाहालले मधेसको समस्याको समाधान कुनै क्षेत्रीय पार्टीबाट सम्भव नरहेको बताए । उनले मधेसी जनताको पहिचानको लडाइँ माओवादी जनयुद्धबाट स्थापित मुद्दा भएको बताए । दाहालले मुलुककै ऐतिहासिक नगरी राजविराजको पछिल्लो अवस्था निक्कै दयनीय र नाजुक भएको बताउँदै राजविराजको विकासका लागि प्याकेजमै कार्यक्रम ल्याउने आश्वासन दिए ।
 
लगत्तै हनुमाननगर कंकालिनी नगरपालिकाको सभालाई सम्बोधन गर्न पुगेका दाहाल ग्रामीण क्षेत्र लोहजारामा पनि सभामा उपस्थित भए । त्यसपछि सीतापुरको कार्यक्रम सकी राजविराज फर्केर खाना खाई दाहाल पुन:सभा र मत माग्ने कार्यलाई निरन्तरता दिए । दिउँसो खोक्सरमा गोविन्द चौधरीको शालिक अनावरण गरेका दाहालले शम्भुनाथ नगरपालिकाको कठौना, खडक र सुरुङा नगरपालिकामा आयोजित छुट्टाछुट्टै सभामा सहभागी हुँदै माओवादीका उम्मेदवारको पक्षमा मत मागे । मंगलबार साँझदेखि बुधबार साँझसम्म सप्तरीमा निक्कै व्यस्त भएका दाहाल बुधबार साँझ चुनावी प्रचारका लागि सिरहातर्फ लागेका छन् । 

स्थानीय तहको दुई चरणको निर्वाचनमा तेस्रो शक्तिको रुपमा देखिएको माओवादी केन्द्र प्रदेश २ को चुनावका अलि बढी सक्रिय बनेको छ । माओवादी नेताहरुका अनुसार प्रदेश २ मा पार्टीले ३०/३५ तहमा जित्ने आकलन छ ।  

प्रकाशित : भाद्र २९, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?