कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौरजहारी अस्पतालमै हुन्छ जटिल अप्रेशन

हरि गौतम

चौरजहारी (रुकुम) — सल्लीबजार सल्यानका ५५ बर्षीय बीरबहादुर बुढा शरीर पाक्ने (बेड स्योर) रोगले ग्रसित थिए । चितवन र नेपालगन्जका विभिन्न अस्पताल तथा भारतका केही अस्पताल चहारेर पनि रोग निको नभएपछि उनले आश मारिसकेका थिए, आफु पूर्ण ठिक हुन्छु भनेर ।

चौरजहारी अस्पतालमै हुन्छ जटिल अप्रेशन

सबै ठाउँमा देखाएका बुढाले अन्तिममा चौरजहारी अस्पतालमा आफ्नो रोग देखाउन आए । १ सय ८७ दिन चौरजहारी अस्पताल बसेका बुढा भदौ ४ गते आफै हिडेर घर गए । उनको अन्य शरीरका साथै खुट्टाको रोग पनि पूर्ण ठिक भएपछि घर फर्के ।

रग्दा जाजरकोटकी १३ बर्षीया सुनिता रोकाको शरीरका अधिकांश हड्डी पाके । गरिबीको कारण समयमै उपचार नगरेका कारण हड्डी काम नलाग्ने गरी पोकेको अवस्थामा अस्पताल पुर्‍याइएकी उनी पनि ९० दिनपछि घर फर्किन् । चौरजहारी अस्पतालका डाक्टरको निरन्तर निगरानी र अप्रेशनपछि रोकाका सबै हड्डी पूर्ण ठिक भए । औषधी खाइरहनु पर्ने भएकाले हालसम्म पनि उनले औषधी भने खाइरहेकी छिन् ।

मुख्य श्वास नलीमा चुत्राको पात अडेको अवस्थामा अस्पताल पुर्‍याइएका टालेगाउँ जाजरकोटका १ बर्षीय अशोक नेपालीको पनि चौरजहारी अस्पतालमा नै सफल अप्रेशन भयो । अन्तिम अवस्थामा अस्पताल पुर्‍याइएका उनले पनि पूर्न जीवन पाए ।

डि.आर.डिजिटल एक्सरेमा काम गर्दै चौरजहारी अस्पताल रुकुमका चिकित्सकहरु ।

बीरबहादुरले आफूले पूर्न जीवन पाएकोमा खुशी व्यक्त गरे । ‘यो मेरो लागि अहोभाग्यकै कुरा हो,’ बुढाले भने, ‘मैले आशै नगरेको अप्रेशन र उपचारबाट म ठमठम हिडेर घर जाने भएँ ।’

छोरीको हड्डी ठिक भएपछि सुनिताका बाबु बीरबहादुरले अस्पतालले ठूलो गुन लाएको बताए । अस्पतालले उनीबाट उपचार गरे वापत १ रुपैयाँ पनि लिएन । उनले अप्रेशन, औषधी उपचार, खाना समेत छुट दिएर अस्पतालले छोरीलाई नयाँ जीवन दिएको बताए । ‘ठूलो अप्रेशन भयो, धेरै खर्च भयो होला, हामी बाउछोरी खाएको रुपैयाँ समेत अस्पतालले लिएन’ उनले भने ।

चौरजहारी नगरपालिका–१, मा रहेको मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालमा सफल अप्रेशन भएका यी ३ वटा अप्रेशन प्रतिनिधि उदाहरण हुन् । चौरजहारी अस्पतालमा यसरी साना ठूला अप्रेशन बढ्दो क्रममा छन् । आर्थिक बर्ष २०७२/०७३ मा १ हजार ७ सय ९१ अप्रेशन भएकामा आर्थिक बर्ष २०७३/०७४ मा २ हजार ४ सय २३ अप्रेशन भएका छन् ।

अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार चालु बर्षको साउन महिनामा मात्रै अस्पतालमा साना ठूला र प्रसुती अप्रेशन गरी १ सय ४७ वटा अप्रेशन भैसकेका छन् । ५० शैय्याको अस्पतालमा रुकुम सहित जाजरकोट, सल्यान, सुर्खेतको पश्चिम क्षेत्रको साथै डोल्पाबाट समेत विरामी आउने गरेका छन् । प्रशासक गिरीले विशेषज्ञ डाक्टरद्धारा अप्रेसन सेवा दिइरहेको बताए । अस्पतालमा कार्यरत ६ जना डाक्टरमध्ये ४ जना विशेषज्ञ डाक्टर छन् ।

‘अस्पताल आएकामध्ये निकै कम मात्रै केशहरु रिफर हुन्छन्’ प्रशासक गिरी भन्छन्, ‘यहाँ आउने मध्ये लगभग ९५ प्रतिशत बढी केश यही सल्भ भैरहेका छन् ।’ अस्पतालमा सर्जरी, हड्डी र गर्भवतीको धेरै अप्रेशन हुने गर्दछ । यसका साथै कहिलेकाही अनौठा घटना पनि अस्पताल आउने गरेका छन् । त्यस्ता विरामीलाई पनि रोगको प्रकृती र विरामीको अवस्था अनुसारको अप्रेशनको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा अत्याधुनिक मेशिनबाट विरामीको उपचार तथा अप्रेशन गरिन्छ । अस्पतालमा विशेष प्रकारको सी.आर. ऐक्सरे मेशिन, डि.आर.डिजिटल एक्सरे, जनरल एनेस्थेसिया मेशिन र वायो केमेस्ट्रिक एनलाईजर मेशिनबाट उपचार भैरहेको छ । सी.आर.एक्सरे मेशिनको प्रयोगबाट विरामीको अप्रेशन गर्दा मनिटरमा भिडियो हेर्न मिल्ने सुविधा रहेको छ । जसको कारण विरामीको अप्रेशन गर्नुपर्ने भाग वा अंगको सफल र भरपर्दो तरिकाले सेवा सञ्चालन हुने जनाइएको छ । डि.आर.डिजिटल एक्सरे मेशिनबाट हाडजोर्नी समस्या भएका विरामीहरुको शल्यक्रिया गर्दा १० सेकेन्डमा नै हाड तथा जोर्नीको शल्यक्रिया भएको स्थानमा मिलेको वा नमिलेकोबारे थाहा पाउन सकिने सुविधा रहेको डाक्टर कालेव बुढाले बताए ।

उक्त मेशिनको सहायताले विरामीको शल्यक्रिया गर्दा रड/किला राख्न र निकाल्न सहज हुन्छ । अस्पतालमा रहेको अर्को वायो केमिस्ट्रिक एनलाइजर मेशिन विरामीहरुको रगतमा भएको खरावी पत्ता लगाउन उपयोगी छ । एनालाइजर मेशिनले मुटु, कलेजो, मृगौला, प्यांक्रिज, सुगरको अवस्था पत्ता लगाउन पनि सजिलो बनाएको छ । त्यसैगरी अस्पतालमा प्रयोगमा आएको जनरल एनेस्थेसीया मेशिन विरामीहरुको अप्रेशन गर्नुपूर्व वेहोस गराउन प्रयोग हुन्छ । अस्पतालले उक्त मेशिन नेपाल सरकारको अनुदान सहयोगमा खरिद गरेको थियो ।

अस्पतालमा १० शैयाको बाल वार्ड, ३ शैय्याको आइसीयू, १० शैय्याका सुत्केरी वार्ड र २७ शैय्याको जनरल वार्ड रहेको छ । अस्पताल ५० शैय्याको भएपनि विरामी भने त्यसको दोब्बर संख्यामा भर्ना भैरहेका हुन्छन् । अस्पतालमा दैनिक १ सय ५० देखि ३ सय ७५/८० जनासम्म विरामी आउने गरेका छन् । उक्त अस्पतालमा ६ जना डाक्टरसहित ४० जना स्वास्थ्यकर्मी कार्यरत छन् । उक्त अस्पतालबाट आर्थिक बर्ष २०७२/०७३ मा बहिरंग, अन्तरंग, अप्रेशन, परामर्शलगायत गरी ५६ हजार ८ सय ९ जनाले सेवा लिएका थिए भने आर्थिक बर्ष २०७३/०७४ मा ९५ हजार ४ सय ९१ जनाले विभिन्न सेवा लिएका छन् । चालु आर्थिक बर्षको साउन महिनामा मात्रै उक्त अस्पतालबाट सबै खालको सेवा लिने विरामीको संख्या ७ हजार ३ सय ९ रहेको छ ।

प्रकाशित : भाद्र २९, २०७४ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?