कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जापानमा २० घण्टा नियन्त्रणपछि कांग्रेस नेता पौडेल नेपाल फर्किए

प्रकाश पन्थी

टोकियो (जापान) — नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको कार्यक्रमका लागि जापान आएका नेता प्रदीप पौडेल अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फिर्ता भएका छन् ।

जापानमा २० घण्टा नियन्त्रणपछि कांग्रेस नेता पौडेल नेपाल फर्किए

समितिका अध्यक्ष डीवी कंडेल र रमेश ड‌ंगोलले अध्यागमनले भनेको बेला स्पोन्सर उपस्थित हुन नसक्दा फिर्ता गरिएको जनाएको छ । पौडेलसंगै स्वास्थ्य खवर पत्रिकाका प्रकाशक अनिल न्यौपाने पनि फिर्ता गरिएका छन् । 

पौडेललाई अध्यागमनले रोकेपछि समितिका पदाधिकारीहरुको पहलामा जापानस्थित नेपाली राजदूतावासले पौडेललाई निर्बाध रुपमा आउन दिन गरेको पहल प्रभावकारी हुन नसकेको जनाएको छ । दूतावासले नेताको जापान भ्रमणबारे आधिकारिक जानकारी नआए पनि समस्या भएपछि आयोजकले सम्पर्क गरेको जनाएको छ । जनसम्पर्क समिति सभापति डीपी कँडेलले युवानेता पौडेललाई जापान प्रवेशका लागि अनेक प्रयास गर्दा पनि नसुनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गर्न लगाइएको बताए । प्रधानमन्त्री देउवाको फोन आएको, नआएकोबारे जापानस्थित कुनै पनि निकायले पुष्टि गरेको छैन ।

जापान अध्यागमनले शनिबार अपराह्न १३:३० मा जापानको हानेदा विमानास्थल भएर आएका पौडेलसँग भ्रमणको उद्देश्य पूरा गर्ने आधार नभेटेपछि आइतबार बिहान १०:२४ मा नेपाल फिर्ता गरेको जनाएको छ । पौडेल र न्यौपानेसंगै जापान आएका कांग्रेस केन्द्रीय सदस्य तथा साँसद धनराज गुरुङसंग भने रातो पासपोर्ट भएका कारण प्रवेश दिएको बताइएको छ । 

कंडेल र डंगोलले आइतवार नै संयुक्त बिज्ञप्ति जारी गरि नेपालबाट आउने पौडेलसहितलाई जनसम्पर्क समिति जापानका पुर्व सदस्य ऋदिन्द्र गिरीको पोखरा कम्पनी लिमिटेडले स्पोन्सर गरेको उल्लेख गरेको छ । साथै अध्यागमनमा स्पोन्सर गर्ने ब्यक्ति नै उपस्थित भई बुझ्नु पर्ने अवस्था सिर्जना भएकोमा गिरी नेपालमा रहेका कारण उपस्थित हुन नसकेको र त्यही कारण जापानमा प्रवेश अनुमति नदिईएको उल्लेअ गरेका छन् । 

यसअघि दर्जन बढी कलाकार र माओवादी केन्द्र र नयाँशक्ति नेपालका नेतालाई पनि जापान अध्यागमनले फिर्ता पठाएको थियो । फिर्ता भएका पौडेलसँग रातो राहदानी समेत थिएन । पौडेल जापानका विभिन्न स्थानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अतिथि भएर प्रशिक्षण दिने कार्यक्रम थियो । कांग्रेस नेता गुरुङ र माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा जापानमा छन् ।

यसैबीच पौडेल र न्यौपानेको स्पोन्सर गरेका जापान निवासी नेपाली ऋदिन्द्र गिरिले भने आफु कारणबस यसैबीच नेपाल आउनु परेको र अध्यामनले बोलाएको बेला आफु नेपाल भएकोले त्यहाँ उपस्थित हुन नसक्दा समस्या भएको जनाएका छन् । 

'म १४ वर्षदेखि जापानमा बस्दै त्यहाँ व्यवसाय तथा सामाजिक काममा संलग्न रहँदै आएको छु। समय समयमा नेपालबाट विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुलाई जापान भ्रमणका लागि बोलाउँदै नेपालको समृद्धीमा जापानबाट सिक्न सकिने विषयहरुमा छलफलहरु गराउँदै आएको थिएँ' उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, 'यो पटक मेरो निमन्त्रणामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र प्रदीप पौडेल सहितको चार सदस्यीय टोली शनिबार साँझ जापानको राजधानी टोकियोस्थित हानेदा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको थियो । जापान भ्रमण र भेटघाटकै लागि मैले निमन्त्रणा पठाएको र मेरै स्पोन्सरसिपमा उहाँहरु जापान आउनु भएको हो । तर विशेष कारणले शुक्रबार साँझ म अचानक नेपाल आउनु परेको थियो। म नेपाल आउने समयमा उहाँहरुको टिकट तथा भीसा निश्चित भईसकेकोले उहाँहरु जापान आउने तयारीमा हुनुहुन्थ्यो ।'

गिरीले आफू जापानमा नहुँदा पनि स्पोन्सरसिप पठाएर जापान आएकाहरुलाई प्रवेश दिईएकोले आफूले जापान प्रवेश सहज हुने विश्वासका साथ नेपाल आएको उल्लेख गरेका छन् । तर, जापानको अध्यागमनमा पुगेपछि चार मध्ये दुई जनालाई प्रवेश दिईएको र बाँकी दुईजनालाई प्रवेश दिने बेलामा स्पोन्सर गर्ने व्यक्तिलाई बोलाउन भनिएपछि आफूलाई बोलाएपनि आफू नेपालमा भएकाल‍े उपस्थित हुन नसकेको उल्लेख गरेका छन् ।

 

 

 

प्रकाशित : आश्विन १, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?