कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश–२ तेस्रो चरण : मतदान आज

पर्सा/धनुषा — स्थानीय तहको तेस्रो चरणअन्तर्गतको चुनावका लागि सोमबार प्रदेश २ का आठ जिल्लामा मतदान हुँदैछ । योसँगै नयाँ संविधानले तय गरेको संघीय संरचनाको एउटा तह (स्थानीय तह) को निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहको चुनाव चरणबद्ध रूपमा गरिएको हो । यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ । सोमबार हुने मतदानमा ढुक्क भएर सहभागी हुन निर्वाचन आयोगले आम मतदातामा अपिल गरेको छ ।

 प्रदेश–२ तेस्रो चरण : मतदान आज

‘सबै मतदातालाई एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म अनुरोध गर्दछु,’ आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुनुस् ।’ मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरिसकेकाले मतदान गर्न पाउने व्यवस्था छ ।

आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरूले पनि नागरिकतालगायत परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । ‘नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने,’ आयोगको निर्णयमा उल्लेख छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइए स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ (३९ प्रतिशत) र पुरुष २२ हजार ८ सय ६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् । निर्वाचन गराउन २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालित छन् ।

आयोगले कसैको मताधिकार कुण्ठित गराउने प्रयास नगर्न तथा कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरी मतदान गर्न अपिल गरेको छ । मतदान सकिएर मतपेटिका निर्वाचन अधिकृतको कार्यालय आइपुगेलगत्तै मतगणना थाल्न आयोगले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सुचारु गर्न सहयोगका लागि आयोगले राजनीतिक दललाई आग्रह गरेको छ ।

मतदातामा उत्साह
दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति प्रदेश २ का मतदाता अत्यन्त उत्साही देखिन्छन् । उनीहरू सोमबार हुने मतदानको व्यग्र प्रतीक्षामा छन् । निर्वाचन आयोगले सबै तयारी पूरा भएको र सुरक्षा व्यवस्था दुरुस्त पारिएको जनाउँदै निर्भयपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले तेस्रो चरणमा अझ बढी मत खस्ने दाबी गरे । ‘तेस्रो चरणको चुनावमा विगतको भन्दा बढी मतदान हुनेछ,’ उनले भने ।

निर्वाचन तयारी अनुगमनपछि आइतबार धनुषा जिल्ला अदालतमा सञ्चरकर्मीहरूसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले ८ वटै जिल्लामा वैज्ञानिक तरिकाले सुरक्षा व्यवस्था मिलाइएको बताए । ‘चुनावमा कुनै घटना भए तत्काल नियन्त्रणमा लिन निर्देशन गरेको छु,’ उनले भने ।

मध्यतराईका जिल्लामा स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको सम्बन्धित अधिकारीले जनाएका छन् । मतदान केन्द्र, मतपत्र, मतपेटिका, सुरक्षा व्यवस्थालगायत काम पूरा भएको छ । पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले सुरक्षाका हिसाबले तयारी पूरा भएको दाबी गरे । ‘सबै मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ ।’

जिल्ला निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचनसम्बन्धी सबै प्राविधिक तयारी पूरा भइसकेको बताए । ‘जिल्लाका ३ सय ४४ मतदान केन्द्रमा तयारी पूरा भएको छ,’ उनले भने, ‘कर्मचारी, प्रहरी जनशक्ति र निर्वाचन सामग्री शुक्रबारै पुगिसकेका छन् ।’ एक मतदान केन्द्रमा आधा दर्जन कर्मचारी खटिएका छन् । महिला कर्मचारी वा महिला प्रहरीसमेतलाई सबै केन्द्रमा परिचालन गरिएको छ ।

पर्सामा २ लाख ८० हजार २ सय ११ मतदाता छन् । वीरगन्ज महानगरमा १ लाख ८ हजार ५ सय १ मतदाता छन् । महानगरमा मात्र १ सय २९ मतदान केन्द्र छन् । जिल्लाभरका मतदाताले ५ सय ८८ प्रतिनिधि चुन्नेछन् । महानगरको राधेमाई मन्दिर मतदान केन्द्रलाई नमुना मतदान केन्द्र बनाइएको छ । यो केन्द्रमा महिला कर्मचारी तथा महिलै सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला शिक्षा कार्यालयकी स्रोत व्यक्ति आशा गौतम मतदान अधिकृत छिन् । जिल्ला अदालतका ५ महिला कर्मचारी उनीसँगै खटिएका छन् । सुरक्षाकर्मी पनि अधिकांश महिला नै छन् । मतदान अधिकृत गौतमले पनि सम्पूर्ण तयारी पूरा गरिसकेको बताइन् । ‘यो जिल्लाकै नमुना मतदान केन्द्र हो,’ उनले भनिन्, ‘महिला पनि सबै काम गर्न सक्षम छन् भनी हामी प्रमाणित गर्नेछौं ।’

सर्लाहीमा पनि सोमबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतपत्र, मतपेटिकाजस्ता सामग्री मतदान केन्द्र पुर्‍याइसकिएको छ । मतदान केन्द्रमा महिला, पुरुष, अशक्त, अपांगता भएका व्यक्ति, वृद्धवृद्धालाई मतदान सहज हुने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताए ।

मतदान हुन एक दिन बाँकी रहँदा जिल्लाका कतिपय ठाउँमा अझै पनि मतदाता शिक्षा कार्यकर्ता पुगेका छैनन् । राजमार्ग क्षेत्रका सहज बजारमै पनि मतदाता शिक्षाका लागि नियुक्ति पाएका कार्यकर्ता घरघर नपुगेको गुनासो आएको छ । निर्वाचन आयोगले सञ्चार माध्यममार्फत गाउँ–गाउँमा मतदाता शिक्षा कार्यकर्ता खटिएको भनेर प्रचार गरे पनि मतदाताले भने अझैसम्म मत हाल्ने तरिका सिक्न पाएका छैनन् । मतपत्र लामो र ठूलो रहेकाले मतदान गर्दा बदर हुने सम्भावना रहेकाले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्दै धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले खटाएको ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने स्वयंसेवकलाई कारबाही गरिने बताए ।

सुरक्षाका लागि ‘सीसी’ क्यामेरा
बारामा मतदानका लागि तयारी पूरा भएको छ । जिल्लाका १६ स्थानीय तहका मतगणनास्थलमा निगरानीका लागि सीसी क्यामरा जडान गरिएको छ । जिल्लामा ३ लाख ३४ हजार ७ सय ४६ मतदाता छन् । १६ स्थानीय तहमा ४ सय ५८ मतदान केन्द्र छन् । सबै केन्द्रमा सुरक्षा व्यवस्थापनलगायत तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । मतदान केन्द्रमा खटिएका झन्डै ३ हजार कर्मचारीले मतदान केन्द्रमा स्वस्तिक छाप हाल्ने गोप्य स्थान (बन्द घेरा), मतदातालाई लाइन राख्ने घेरा, बारलगायत तयारी गरेको उनले बताए । घेराका लागि बाँस, भट्टा, डोरीलगायत सामान कतै अभाव हुँदा केही कठिनाइ भए पनि सबै तयारी भइसकेको उनले बताए । बाहिर रहेका मतदाता घर फर्कने लर्काे आइतबार दिनभर देखियो । मतदाता परिचयपत्र करिब सबै बाँडिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनायो । कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिइसकेका छन् । मतपत्रहरू सबै मतदान स्थल पुगिसकेको छ । उता सुरक्षाका लागि सीमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

रौतहटका गाउँ–गाउँमा चुनावी रौनक छ । मतदानको तयारीमा उम्मेदवार, पार्टीका कार्यकर्ता र सर्वसाधारणसमेत जुटेका छन् । दुई दशकपछि प्राप्त अवसर भएकाले उनीहरू जसरी हुन्छ, मतदान गर्न उत्साहित छन् । जिल्लाबाहिर रहेकाहरू फर्किसकेका छन् । सीमावर्ती जिल्ला भएकाले मतदाता सुरक्षाका लागि पर्याप्त व्यवस्था गरिएको छ । मतपत्र तथा मतपेटिका लिएर मतदान केन्द्रमा निर्वाचन कर्मचारी खटिएका छन् । सुरक्षाकर्मी तैनाथ छन् । अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पैदल गस्ती गरिरहेका छन् । गाउँ–गाउँमा सुरक्षाकर्मीको संख्या बाक्लो छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले दिनभर मतदाता परिचयपत्र वितरण र अपराह्नदेखि मतदान स्थलमा तारबार गर्न जुटे । जिल्लाकै सबैभन्दा बढी मतदाता तथा जनसंख्या रहेको र वडा संख्यासमेत बढी भएको चन्द्रपुर नगरपालिकामा पनि निर्वाचन तयारी पूरा भएको निर्वाचन अधिकृत कमल भण्डारीले बताए । जिल्लामा १६ नगरपालिका र २ गाउँपालिकामा निर्वाचन तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तहमा १८ जना प्रमुख तथा उपप्रमुख निर्वाचित हुनेछन् । त्यस्तै, १ सय ५७ वटा वडामा वडाध्यक्ष, ६ सय २८ जना वडा सदस्य गरी जिल्लाभरमा स्थानीय तहमा ८ सय २१ जना पदाधिकारी निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लाभरमा २ सय ७७ मतदान स्थल, ४ सय ३४ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा १ लाख ७५ हजार ६४ पुरुष र १ लाख ४५ हजार ९ सय ५४ महिला गरी ३ लाख २१ हजार २८ मतदाता छन् ।

बालिका घाइते
सर्लाहीको सीमावर्ती बलरामा आइतबार बिहान सुतली बम विस्फोट भएको छ । बलरा नगरपालिका २ हथिऔलको जमुनिया टोलमा भएको घटनामा बमको छर्रा लागेर १० वर्षीया रस्मिता सहनी सामान्य घाइते भएकी छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ । बिहान ११ बजेतिर सुतली बम विस्फोट भएको इलाका प्रहरी गडहियाले जनाएको छ । बालबालिका खेल्ने क्रममा पसल अगाडि फेला परेको बेवारिस झोला उठाएर घर लान खोज्दा विस्फोट भएको स्थानीयले बताए । झोलामा ४ वटा बम रहेकामा तीन वटा सेनाले निष्क्रिय पारेको गडहियाका प्रहरी निरीक्षक रामराजा केशरीले जनाए ।
यसैगरी, पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा पनि तयारी पूरा भएको छ । सबै केन्द्रहरूमा सामग्रीसहित कर्मचारी पुगिसकेका छन् । आइतबार साँझसम्म मतदान केन्द्रहरूमा मतदाता लाम लागेर मतदानका लागि बस्ने स्थान बनाइएको छ ।

धनुषाका सबै मतदान केन्द्रमा तयारी पूरा भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । ‘कुनै पनि मतदान केन्द्रमा समस्या छैन,’ प्रहरी उपरीक्षक सिंहले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’ कर्मचारीले आइतबार साझसम्म मतदाता परिचयपत्र वितरण गरेका थिए । धनुषाका ३ सय २७ मतदान स्थलमा ५ सय १५ मतदान केन्द्रमा आइतबार साँझसम्म तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ । जनकपुर उपमहानगरपालिका, १२ नगरपालिका र ६ गाउँपालिकाबाट ९ सय २९ जनप्रतिनिधि चुनिनेछन् । परिचयपत्र लिन आएका मतदातामा निर्वाचनप्रति उत्साह देखिएको जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले बताइन् ।

काग्रेस–एमाले कार्यकर्ता झडप
धनुषाको नगराइन नगरपालिकामा शनिबार मध्यरात काग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । झडपमा नगराइन नगरपालिका ८ अकौरा टोलका ईन्द्रकुमार पासवान गम्भीर घाइते छन् । एमाले समर्थित उनको टाउको र मुखमा गम्भीर चोट छ । स्थानीय अरबिन्दकुमार पासवान पनि सामान्य घाइते छन् । दुवैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । नगराइनका कांग्रेस उम्मेदवार प्रमेश्वर यादव र उनका दुई छोरा महेन्द्र र काशीन्द्रसहित कार्यकर्ता आक्रमणमा उत्रिएको जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका घाइते रवीन्द्र पासवानले बताए । गाउमा अबेर राति पैसा बाँड्न आउँदा रोक्न खोजेपछि कार्यकर्ता बोलाएर आक्रमण गरेको पासवानले बताए ।

कांग्रेस, धनुषाका सभापति रामसरोज यादवले भने राति १२ बजे आफ्नो घर मुखियापट्टी मुसहरनियाबाट टाटासुमोमा फुलगामा गइरहेका बेला पैसा बाँड्न आएको भन्दै करिब डेढ सयको संख्यामा रहेका स्थानीयले घेरा हालेर तोडफोड प्रयास गरेको बताए । प्रहरी तत्कालै आएकाले आफूहरू सुरक्षितसाथ फर्किएको उनले बताए । थप घटनाका विषयमा जानकारी नभएको उनले बताए । प्रमेश्वरमाथिको आरोप निराधार रहेको उनको दाबी छ ।

धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले भने घटना पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।

सुनसान जनकपुर
प्रचारप्रसारले दुई साता अस्तव्यस्त जनकपुर मौन अवधि सुरु भएपछि सुनसान छ । कामविशेषले सदरमुकाम जनकपुर रहेकाहरू गाउँ फर्किएकाले बजारको चहलपहल घटेको छ । दुई दशकपछि हुन लागेको निर्वाचनमा मतदाता उत्साही देखिएका छन् ।

महोत्तरीमा पनि सबै तयारी पूरा भएको जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जिल्लाका १० नगर र ५ गाउँपालिकामा कर्मचारी व्यवस्थापनसहित सबै तयारी पूरा भएको बताए । उनका अनुसार कर्मचारी सम्बन्धित केन्द्रमा पुगिसकेका छन्, मतपत्र, मतदाता नामावली, मतपेटिका, सुरक्षा छापलगायत सामग्री पनि पुगिसकेको छ । ‘सबैजसो मतदान केन्द्रमा शुक्रबार थालिएको मतदाता परिचयपत्र वितरण अन्तिम चरणमा पुगेको छ,’ पोखरेलले भने, ‘बुथ निर्माण आइतबार सकिन्छ ।’

जिल्ला निर्वाचन अधिकृत पिंकी रायका अनुसार जिल्लाभर मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य गरी २ हजार ५ सय कर्मचारी परिचालन गरिएको छ । ४ सय १५ मतदान केन्द्र छन् । त्यसमध्ये जिल्लाका प्रमुख ३ नगरपालिका बर्दिवासमा ४८, जलेश्वरमा ४३ र गौशालामा ४१ मतदान केन्द्र छन् । यी तीन नगरपालिकामा ९६ हजार ५९ मतदाता छन् । यो संख्या जिल्लाको कुल मतदाताको एक तिहाइ हो ।
जिल्लामा ७ सय २० पदका लागि हुने निर्वचनमा ४ हजारभन्दा बढी प्रतिस्पर्धामा छन् । सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

तेस्रोलिंगी मतदाता एक जना
जिल्लाका १५ स्थानीय तहमा ३ लाख ८ हजार ४ सय ४ मतदाता छन् । यो संख्यामा एक जना तेस्रोलिंगी पनि छन् जो पहिलोपटक मतदानमा सहभागी हुँदैछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बर्दिवास ८ का ३१ वर्षीय बुद्धबहादुर आले जिल्लामा एक मात्र तेस्रोलिंगी मतदाता हुन् । जलेश्वरस्थित नीलहीरा समाजका कार्यक्रम संयोजक रामवरण यादव भने महोत्तरीमा ५ हजारभन्दा बढी तेस्रोलिंगी रहेको बताउँछन् । जिल्ला निर्वाचन कार्यालयका कारण आफूहरूको पहिचान गुमेको उनको गुनासो छ । मतदाता नामावली संकलनका बेला आफूहरूले ‘तेस्रोलिंगी’ लेखाए पनि नामावलीमा लिंगको ठाउँमा ‘पुरुष’ वा ‘महिला’ भनेर आएपछि निर्वाचन कार्यालय पुगेर सच्याइदिन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए । ‘यो त हाम्रो परिचय नै होइन,’ यादवले भने, ‘संविधानमा उल्लिखित समानताको हकको निर्वाचन कार्यालयले उल्लंघन गर्‍यो ।’ संविधानमा लिंगका आधारमा कुनै विभेद हुने छैन भनी उल्लेख भए पनि दलका मान्छेले समेत आफूहरूलाई उपेक्षा गरेको उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा टिकटका लागि दलहरूलाई आग्रह गर्दा पनि आफूहरू ‘तेस्रोलिंगी’ भएकै कारण नपाएको उनले बताए ।

सिरहामा पनि निर्वाचनको तयारी पूरा भएको छ । जिल्लाका ८ नगरसहित १७ स्थानीय तहका लागि मतदान हुँदै छ । ३ लाख ३२ हजार ८ सय ९४ मतदाता मतदानमा सहभागी हुँदैछन् । संवेदनशील मानिएका केन्द्रहरूमा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ र प्रहरी उपरीक्षक शेखर कोइरालालगायतको टोलीले आइतबार अवलोकन गरेको छ । सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ३१ केन्द्र कायम छन् ।

प्रकाशित : आश्विन २, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?