कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश र प्रतिनिधि सभा निर्वाचन : मतपत्रको डिजाइन अन्तिम चरणमा

दुइटा मतपत्र हुने
राजेश मिश्र

काठमाडौं — निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको डिजाइन अन्तिम चरणमा पुर्‍याएको छ । समयको चाप रहेकाले आयोग समानुपातिक प्रणालीतर्फको मतपत्र तत्कालै छाप्ने तयारीमा छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन : मतपत्रको डिजाइन अन्तिम चरणमा

कस्तो मतपत्र बनाउने भन्ने विषयमा चरणबद्ध छलफल गरेपछि दुइटा मतपत्रमार्फत दुवै निर्वाचन गराउने निष्कर्षमा आयोग पुगेको हो । दुवै निर्वाचन एकै दिन सँगै गर्ने घोषणा भई चुनावी कार्यतालिका आइसकेको छ । संविधानअनुसार दुवै सभामा समानुपातिक र प्रत्यक्षबाट सदस्य चुनिने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ ।

आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतपत्रको डिजाइनलाई अन्तिम रूप दिन लागेको छ । तर, पहिलो प्राथमिकतामा भने समानुपातिक प्रणालीतर्फको मतपत्र छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दलको टुंगो लागिसकेकाले त्यसको मतपत्र डिजाइनमा समस्या नरहेको बताए । ‘२/३ दिनभित्र मतपत्र कस्तो हुनेबारे टुंगो लागिसक्छ, छलफलको अन्तिम चरणमा छौं,’ उनले भने, ‘आयोगले निर्णय गरेपछि दसैंभित्रै मतपत्र छाप्न पठाइसकिनेछ ।’ मतपत्र भने सरकार मातहतको जनक शिक्षा सामग्री केन्द्रमा छापिनेछ ।

प्रत्यक्षतर्फ भने उम्मेदवारी दर्तापछि मात्रै मतपत्र छापिनेछ । मंसिर १० मा हुने पहिलो चरणका लागि कात्तिक ५ र मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता तोकिएको छ ।
स्रोतका अनुसार समानुपातिकतर्फको मतपत्र हल्का रातो बनाउने तथा एउटै मतपत्रभित्र मतपत्र १ प्रतिनिधिसभा र मतपत्र २ प्रदेशसभाका लागि छुट्याउने निष्कर्षमा आयोग पुगेको छ । ‘चरणबद्ध छलफल भएका छन् । विज्ञहरूको राय पनि लिइएको छ,’ स्रोतले भन्यो, ‘विभन्न विकल्पमाथिको छलफलपछि एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका सदस्य चुन्न चिह्न राखिने निष्कर्षमा पुगिएको छ ।’
यसअघि एउटै मतपत्रभित्र मतपत्र १ र २ दायाँ–बायाँ गरी राख्ने वा प्रत्यक्षतर्फ खसेको मतलाई नै राजनीतिक दलले पाएको मत मान्ने वा चार छुट्टाछुट्टै मतपत्र बनाउनेजस्ता विकल्पमा पनि छलफल भएको थियो । तर, चारवटा मतपत्रले समग्र निर्वाचन व्यवस्थापनलाई झन्झटिलो बनाउने भएपछि त्यसमा आयोगभित्र सहमति थिएन ।

आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले मतदातालाई कसरी सजिलो हुन्छ भन्ने ध्यानमा राखेर आयोग मतपत्रको डिजाइनमा जुटेको बताए । ‘प्राथमिकता नै मतदातामैत्री मतपत्र कसरी बनाउनेमा छ,’ उनले भने, ‘पूर्वआयुक्त, विज्ञ र राजनीतिक दलसँग त्यसबारेको छलफलपछि एउटा निष्कर्षमा पुग्ने तयारी छ ।’

मतपत्रमा संसदभित्र रहेका र अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ बढी मत ल्याएका दलहरूको चिह्न क्रमश: माथि र त्यसपछि निर्वाचनमा भाग लिने उद्देश्यले हालै आयोगमा दर्ता गराएका दलको दर्ता क्रमअनुसारको चिह्न राखिनेछ । प्रत्यक्षतर्फ भने त्यसपछि स्वतन्त्र उम्मेदवारको चिह्न रहने गरी मतपत्रको डिजाइन भएको स्रोतले बतायो ।

‘१/२ दिनमा नयाँखालको सोच विकास भएन भने समानुपातिक र प्रत्यक्षतर्फ एउटा/एउटा मतपत्र तथा त्यसैमा तलमाथि प्रतिनिधिसभा र प्रदेशसभाका लागि चिह्न रहने टुंगो लागिसकेको छ,’ स्रोतले भन्यो, ‘समानुपातिकतर्फको हल्का रातो र प्रत्यक्षतर्फको हल्का हरियो रङको मतपत्र हुनेछ ।’ निर्वाचन कानुनले मतपत्र आयोगले तोकेअनुसारको हुने भनेकाले आयोगलाई मतपत्र डिजाइन गर्न थप सहज भएको छ । एक मतदाताले दुइटा मतपत्र हातमा पाउनेछन् जसमा ४ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ र दुइटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको गरी ३ करोड ५० लाखजति संख्यामा मतपत्र छपाउने आयोगको तयारी छ । असोज १७ देखि समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गरी कात्तिक ४ भित्र छपाइसक्ने आयोगको लक्ष्य छ । कात्तिक ५ मा उम्मेदवारी दर्ता भएपछि पहिलो चरणका लागि प्रत्यक्षतर्फको मतपत्र छापिनेछ ।

प्रकाशित : आश्विन ५, २०७४ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?