कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्प भेट्न किन चुके महरा ?

न्युयोर्कस्थित मिसनको हेलचेक्रयाइँ

न्युयोर्क — प्रधानमन्त्री शेरबहादुर देउवा संविधान दिवस मनाएर मात्र अमेरिका आउने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति डोनाल्ड ट्रम्पको रात्रिभोजमा सहभागी हुने तय भएको थियो । महराले ट्रम्पसँग पनि संक्षिप्त छलफल गर्ने कार्यक्रम थियो । त्यहाँ कसरी प्रवेश गर्नेलगायतका सबै विषयमा ब्रिफिङसमेत भएको थियो ।

ट्रम्प भेट्न किन चुके महरा ?

प्रधानमन्त्री शेरबहादुर देउवा संविधान दिवस मनाएर मात्र अमेरिका आउने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति डोनाल्ड ट्रम्पको रात्रिभोजमा सहभागी हुने तय भएको थियो ।

महराले ट्रम्पसँग पनि संक्षिप्त छलफल गर्ने कार्यक्रम थियो । त्यहाँ कसरी प्रवेश गर्नेलगायतका सबै विषयमा ब्रिफिङसमेत भएको थियो । तर, लामो प्रयासका बाबजुद पनि उनले त्यो अवसर पाएनन् । महरा अन्य छलफल सकेपछि करिब आधा घण्टा न्युयोर्कस्थित नेपाली मिसनमा बसेर रात्रिभोजतर्फ लागेका थिए ।

परराष्ट्र अधिकारीहरूका अनुसार महरा जाने कि नजाने भन्ने बहसपछि रात्रिभोजमा प्रवेश दिइन्छ भन्ने यकिन भएपछि गएका थिए । उनी राष्ट्रप्रमुखलाई गरिएको निम्तो र पासपोर्ट साथमा बोकेर त्यसतर्फ गएका थिए । तर उनलाई करिब आधा घण्टा सेक्युरिटीको अगाडि कुराएर परराष्ट्र अधिकारीले प्रयास गर्दा पनि प्रवेश नपाउने भएपछि फर्केका थिए । भद्र स्वभावका उपप्रधानमन्त्री महराले ‘नदिएपछि अब जोड नगरौं’ भन्दै फर्केको एक अधिकारीले बताए । न्युयोर्कस्थित मिसनले समयमा कूटनीतिक पत्राचार नगर्दा यो समस्या आएको हो ।

तर, यसलाई अमेरिकी सुरक्षाको विषय बनाएर सामान्य भन्दै उपप्रधानमन्त्रीलाई थामथुम पारिएको छ । जब कि यस्तो रिसेप्सनमा टोली नेता नहुँदा परराष्ट्र सचिव तथा राष्ट्रसंघका स्थायी प्रतिनिधिसमेत सहभागी हुने प्रचलन छ ।

टोलीको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नआइपुगेकाले महरा जाँदा समस्या आएको भन्दै यो विषयलाई थामथुम पारिएको छ । उनीहरूले उल्टै अमेरिकी व्यवस्थापन नै यस्तै हो र ट्रम्प नै कार्यक्रममा
ढिलो आएको भन्दै आफ्नो बचाउ गरेका थिए । अन्य मुलुकमा भए यस्तो गम्भीर त्रुटि हुँदा न्युयोर्क मिसनका कर्मचारी कारबाहीमा पर्थे । तर, नेपालमा राजनीतिक नेतृत्वको कमजोरीले कर्मचारीको भर पर्नुपर्ने अवस्थाले जे गर्दा पनि कूटनीतिक छुट हुने गरेको छ । ‘यही भयो, न्युयोर्कमा ।

न्युयोर्कका कर्मचारीको नेतृत्व आफैं अर्को व्यवस्था नभएसम्मका लागि रहेका कारण पनि यसलाई सामान्य मान्दै आएका छन्,’ एक अधिकारीले भने, ‘हामीले त पत्राचार गरेका थियौं । तर टोलीको नेतृत्व को हो, किन उपप्रधानमन्त्रीको सहभागिता हुने भन्ने सबै विषय मिलाउने काम स्थायी प्रतिनिधिको हो ।’

यसपटक ट्रम्पको रात्रिभोजमा नेपालीको उपस्थिति भएन नि भन्ने जिज्ञासामा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले कान्तिपुरसँग भने, ‘यो विषयमा म पछि कुरा गर्छु । खास केही भएको होइन । यो विषय सामान्य हो । प्रेस वक्तव्यमा भूलबस भेटको कुरा परेको हो ।’ पहिलो प्रेस वक्तव्यमा भेट भयो भनेर आएको थियो । दोस्रो प्रेस नोटमा भेट भएको पंक्ति निकालेर पुन: पठाइएको थियो ।

अमेरिकाको भ्रमणमा टोली आउँदा अमेरिकास्थित राजदूतलाई बेखबर राख्ने, भर्खर खोलिएको महावाणिज्य दूतावासका प्रमुखलाई राजदूतभन्दा माथिल्लो हैसियत दिने प्रयास परराष्ट्र अधिकारीहरूले गरे, जसले गर्दा यस्ता त्रुटि सामान्य बन्दै गएका छन् । यो विषयलाई लिएर लामो बहस भइरहेको र यसको निचोडमा राजनीतिक नेतृत्व पुग्न सकेका छैनन् । ‘यसमा कुरा भइरहेका् छ, कुनै न कुनै निर्णय हुन्छ,’ एक अधिकारीले भने । केही कर्मचारीको जालोमा रहेको कूटनीति सञ्चालन र जथाभावीलाई रोक्ने प्रयास हुने प्रधानमन्त्री निकट एक अधिकारीले बताउँदै भने, ‘कूटनीति पनि सिन्डिकेटमा चलेको रहेछ । यो नेतृत्वले बुझिसकेको छ ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा राष्ट्रसंघ महाशाखा प्रमुख भरतराज पौड्यालले पनि खास के भएको भन्नेमा आफू जानकार नरहेको बताए । उनले यसबारे न्युयोर्क मिसनका साथीहरूसँग सोध्न आग्रह गरे । यस विषयमा प्रधानमन्त्रीसमेत जानकार रहेका र उनले आएलगत्तै ट्रम्पसँग भेट भयो भन्दै उपप्रधानमन्त्रीलाई सोधेका तर भेट नजुरेको जवाफ पाएका थिए ।

अनावश्यक छलफलमा समेत उपप्रधानमन्त्रीलाई सामेल गराएको भन्दै उनले अधिकारीहरूलाई कार्यतालिकाबारे पुनर्विचार गर्नसमेत भनेको उनी निकट अधिकारीले बताए ।

भारत र चीनका अधिकारीसँग छुट्टै भेट नहुने
बुधबार बिहान न्युयोर्क आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका खासै व्यस्त छैन । उनलाई भारत र चीनका दुवै विदेशमन्त्रीले भेट्ने समय मागेनन् । कृष्णबहादुर महरासँग भने भारतीय विदेशमन्त्रीको भेट सार्कको विदेशमन्त्री स्तरीय बैठकमा हुनेछ । तर छुट्टै छलफल भने तय भएको छैन । प्राय: विदेशमन्त्रीले नेपाली प्रधानमन्त्रीसँग भेटवार्ता गर्थे ।

तर, त्यो भेटघाट पनि जुरेन । देउवा बुधबार न्युयोर्क आएदेखि नै अमेरिकामा रहेका नेपालीलाई भेट दिन नै बढी व्यस्त रहे । जनसम्पर्क समितिका प्रतिनिधि, पुराना मित्रहरूसँगको भेटमा उनको बुधबार सकिएको छ । बिहीबार भने उनले दक्षिण एसियाली नेताहरू भेट्ने छन् । उनको कार्यतालिका बिहीबार व्यस्त नै छ । शुक्रबार भने खासै व्यस्त तालिका छैन ।

७२ औं महासभामा भाग लिन २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आएका देउवाले महासभाका दौरानमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी लगायतसँग द्विपक्षीय भेटवार्ता बिहीबार अबेरसम्म गर्ने र शनिबार महासभामा सम्बोधन गरेर स्वेदश फर्कनेछन् । सम्बोधनपछि देउवाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

कोलम्बिया विश्वविद्यालयमा आफ्नो धारणा राख्ने छन् ।

प्रकाशित : आश्विन ६, २०७४ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?