२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नेपालको संविधान विश्वमै उदाहरणीय : देउवा

बाँकी भुटानी समकक्षीलाई शरणार्थी फिर्ता लान आग्रह
राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

न्युयोर्क (अमेरिका) — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रिया, सशस्त्र द्वन्द्वको सफल अवतरण र संविधानसभाबाट जारी समावेशी संविधान विश्वमै उदाहरणीय रहेको बताएका छन् । नेपालले विभिन्न चुनौतीका बाबजुद सशस्त्र द्वन्द्वलाई वार्ताका माध्यमबाट निष्कर्षमा पुर्‍याएको घटना विश्वका लागि नै प्रेरणादायी हुने उनको भनाइ छ ।

नेपालको संविधान विश्वमै उदाहरणीय : देउवा

संविधान दिवसका अवसरमा राष्ट्रसंघस्थित नेपाली स्थायी नियोगले शुक्रबार राष्ट्रसंघ मुख्यालयमा आयोजना गरेको कार्यक्रममा देउवाले नेपालको यो विषय विभिन्न अन्तर्राष्ट्रिय फोरममा आफूले उठाएको बताए । ‘लोकतन्त्रले दिएको जनताको अधिकार अब कसैले खोस्न सक्दैन । नेपालको उपलब्धिबारे विश्व साक्षी छ,’ उनले भने । देउवाले राष्ट्रसंघीय मानव अधिकार परिषद् सदस्यमा नेपालको उम्मेदवारीप्रति सहयोग गर्न विश्व समुदायलाई औपचारिक आग्रह गरे । नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका हिसाबले विश्वमै उत्कृष्टमध्येको एक रहेको उनले बताए । ‘संविधानले जनतालाई दिएका कतिपय अधिकार विश्वका कैयन् मुलुकले दिएका छैनन्,’ उनले भने । राज्यका तीनै अंगबीच शक्ति सन्तुलन र नियन्त्रणको उत्कृष्ट व्यवस्था नेपालको संविधानको अर्को सुन्दर पक्ष रहेको उनको भनाइ थियो । उनले स्वतन्त्र न्यायपालिका नेपाली लोकतन्त्रको खम्बा भएको बताए ।

संविधान कार्यान्वयनको महत्त्वपूर्ण पक्ष स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र सफल भएको भन्दै उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन सफल पार्न सहयोग गरेकामा नेपाली जनताको प्रशंसा गरे । उनले प्रदेश र संघीय संसदको निर्वाचन पनि नेपाली जनताको उच्च सहभागिताका साथ सम्पन्न हुने विश्वास व्यक्त गरे । ‘अबको तीन महिनाभित्र बाँकी दुवै निर्वाचन सकेर मुलुक राजनीतिक स्थायित्वतर्फ अघि बढ्नेछ,’ उनले भने । नेपालले सबै प्रकारका समस्या आफ्नै ढंगले समाधान गर्दै अघि बढिरहेको उनले बताए । उनले विश्वको कुनै पनि कुनामा नेपालको शिर उच्च हुने गरी कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

बाँकी भुटानी शरणार्थी फिर्ता लैजान देउवाको आग्रह
प्रधानमन्त्री देउवाले भुटानी समकक्षी छिरिङ तोब्गेलाई बाँकी भुटानी शरणार्थी फिर्ता लैजान आग्रह गरेका छन् । राष्ट्रसंघ मुख्यालयमा भएको तोब्गेसँगको भेटवार्तामा उनले तेस्रो मुलुक पुन:स्थापना भएर बाँकी रहेका आफ्ना नागरिक फिर्ता लैजान आग्रह गरेका थिए । प्रत्युत्तरमा तोब्गेले वार्ताबाट शरणार्थी समस्या समाधान गर्न आफ्नो सरकार तयार रहेको बताए । त्यस अवसरमा दुई मुलुकबीचका आपसी हित र सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए । भुटानी शरणार्थीको विषय उच्चारण नगरे पनि सबै पुराना विषयमा छलफल भएको उनको भनाइ थियो । प्रधानमन्त्रीले तोग्बेलाई नेपाललाई मानव अधिकार परिषद्मा सघाउनसमेत आग्रह गरे ।

राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री देउवाले शुक्रबारै अमेरिका र आसपास मुलुकका राजदूतलाई सक्रिय हुन निर्देशन दिएका छन् । उनले राजदूतहरूलाई देखिने खालका काम गर्न निर्देशन दिएका छन् । ब्राजिल, क्यानडामा रहेका दूतावासले के कस्तो काम गरेका छन् भन्दै उनले ती दूतावासको प्रगति विवरण र सम्भावनाका बारेमा जिज्ञासा राखेका थिए । राजदूतहरूले कर्मचारी अपुग भएको विषय उठाएपछि प्रधानमन्त्रीले उपलब्ध स्रोत र साधनका भरमा मुलुक र जनताको हितमा काम गर्न निर्देशन दिए । उनले भने, ‘मुलुक र जनताको हितमा काम गर्नुहोस्, अवसरहरू खोज्नुहोस् । आराम गरेर नबस्नुहोला ।’
कार्यक्रममा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, सल्लाहकार डा. भट्टराई, राजदूत अर्जुन कार्की, ब्राजिलका राजदूत ताराप्रसाद पोखरेल, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, क्यानडाका राजदूत काली पोखरेल र न्युयोर्कका लागि महावाणिज्यदूत मधुकुमार मरासिनीको सहभागिता थियो । महावाणिज्यदूतलाई पनि राजदूतसरहको हैसियतमा उक्त ब्रिफिङमा सहभागी गराइएको थियो ।

प्रकाशित : आश्विन ७, २०७४ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?