कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लापरबाहीले मृत्यु भएको भन्दै किस्टमा तनाव

प्रशान्त माली

ललितपुर — डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बन्यो । पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ वर्षीया ललिताकुमारी चौधरीको उपचारका क्रममा शनिबार निधन भएको थियो ।

लापरबाहीले मृत्यु भएको भन्दै किस्टमा तनाव

चौधरीलाई गत साउन १७ मा किस्टमा भर्ना गरिएको थियो । सामान्य अवस्थामै भर्ना भएकी उनको पत्थरीको अप्रेसनका क्रममा समस्या देखिएको भन्दै मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप छ । भर्ना भएको एक सातापछि चौधरीको पत्थरीको अप्रेसन भएको थियो ।

मृतकका दाइ रामस्वागतले बिरामीको अवस्थामा सुधार नभएपछि अर्को अस्पतालमा ‘रिफर’ गर्न आग्रह गर्दा अस्पतालले अस्वीकार गरेको बताए । ‘अस्पतालले आफ्नो कमजोरी बाहिर ल्याउन डराउँदा बहिनीको मृत्यु भयो,’ उनले भने, ‘क्षतिपूर्तिको मात्र कुरा होइन । उपचारमा संलग्न चिकित्सकलाई कडा कारबाही हुनुपर्‍यो ।’

आफन्तका अनुसार इन्फेक्सन भएको भन्दै चौधरीको दायाँ मिर्गौला झिकिएको थियो भने बायाँ मृगौलाको अप्रेसन गरिएको थियो । सुरुको अप्रेसनपछि नै बिरामीलाई आईसीयूमा राखिएको थियो । चौधरीका दाइ रामस्वागतले बायाँ मृगौलाको अप्रेसनपछि डायलासिस पनि नगरिएको बताए । अस्पतालले भने बिरामीको रक्तचाप नघट्दासम्म डायलासिस गरिएको बताएको छ ।

यस्तै, पत्थरी निकाल्ने क्रममा पीप फोक्सोसम्म फैलिएकाले बिरामीको अवस्था नाजुक बनेको अस्पतालको भनाइ छ । उपचारमा संलग्न डा. कुशल कार्कीले चौधरीको दायाँ मृगौलामा पत्थरी देखिएको बताए । उनले परिवारलाई जानकारी गराएरै अप्रेसन गरिएको पनि बताए । तर आफन्तले भने बिरामी तयारी अवस्थामा नभईकन अस्पतालले हतारहतार अप्रेसन गरेको आरोप लगाएको छ । घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?