निर्बाध मानव तस्करी

जनकराज सापकोटा

काठमाडौं — पछिल्ला चार महिनामा मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव तस्करीको चंगुलमा परेका ८१ महिलालाई भारत र अन्य विभिन्न देशबाट उद्धार गर्‍यो । तर मानव तस्करीमा संलग्न एजेन्टको न पहिचान हुन सक्यो न कोही पक्राउ नै परे । यसको कारण एउटै थियो, उद्धार गरिएका कसैले पनि किटानी जाहेरी नगर्नु ।

मानव तस्करीको चंगुलमा परेर भारतका विभिन्न सहरमा अलपत्र पारिएका नेपाली महिलाका बारेमा दु:खपूर्ण खबर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइपुग्छ । विभिन्न सूत्र र सम्पर्कमार्फत आउने त्यस्ता सूचना प्रमाणित भएपछि ब्युरोको पहिलो काम हुन्छ, त्यस्ता महिलालाई उद्धार गरेर नेपाल ल्याउने । तर उद्धार गरिएकाहरूले कसैविरुद्ध जाहेरी दरखास्त नदिँदा प्रहरीको अनुसन्धान कुनै निष्कर्षबिना नै टुंगिन्छ ।

Citizen

२१ वैशाखमा ब्युरोले दुबई अध्यागमनद्वारा फिर्ता गरिएका ४४ महिलाको उद्धार गर्‍यो । नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुगेका उनीहरू कुवेतमा घरेलु कामदारका लागि जाने भन्दै दुबई पुगेका थिए ।

घटनापछि ब्युरोले निष्कर्ष निकाल्यो, मानव तस्करीको चंगलुमा परेर त्यति धेरै महिला अवैध बाटोबाट कुवेत पुर्‍याउन खोजिएको थियो । महिलाको उद्धार त भयो, तर नेपाल फर्केका कुनै पनि पीडितले आफूलाई त्यहाँ पुर्‍याउने एजेन्टविरुद्ध जाहेरी दरखास्त दिएनन् । एक लाखदेखि डेढ लाख रुपियाँसम्म दलाललाई बुझाएका र बीच बाटोबाटै फर्किनुपरे पनि उनीहरूले न कुनै एजेन्टको नाम पोले, न उजुरी नै दिए ।

फलत: ब्युरोले मानव तस्करीको यति ठूलो घटनामाथि अनुसन्धान अघि बढाउन सकेन । अभियुक्त पनि पक्राउ परेनन् । मानव तस्करीमा परेर समस्या खेपिरहेकालाई उद्धार गरेर ल्याउने तर अनुसन्धानको प्रक्रिया अघि नबढने घटना ब्युरोका लागि नयाँ होइन । जेठ २ मा ब्युरोले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीको क्राइम ब्रान्चको सहयोगमा भारत ओम विहारबाट २४ नेपाली महिलाको उद्धार गर्‍यो । मानव तस्करको सेटिङमा नयाँदिल्लीबाट ती महिलालाई घरेलु कामदारमा काम लगाउने गरी कुवेत लैजाने तयारी थालिएको थियो ।

नेपालबाट दिल्ली पुर्‍याएको महिनौंसम्म पनि दलालले झुलाएर राखिरहेको अवस्थामा ती महिलाको उद्धार भयो । तर यो घटनामा पनि उद्धार गरिएका कुनै पनि महिलाले दलालविरुद्ध जाहेरी दरखास्त दिएनन् । जाहेरी अभावमा ब्युरोले अनुसन्धान अगाडि बढाउन सकेन ।

कुवेतलगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्‍याइएका ५ महिलालाई ब्युरोले साउन १६ गते माइती इन्डियाको सहयोगमा उद्धार गरी नेपाल ल्यायो । यो घटनामा पनि पुरानै प्रवृत्ति दोहोरियो । उद्धार गरिएका कसैले पनि आफूलाई अवैध बाटोबाट विदेश पठाउन खोज्ने एजेन्टविरुद्ध उजुरी हालेनन् । आन्तरिक द्वन्द्वमा फसेको सिरिया नेपाली कामदारका लागि प्रतिबन्धित छ । तर मानव तस्करहरूले सिरियामा कामदारको माग पूरा गर्न नेपाली महिलालाई पुर्‍याउने सेटिङ मिलाएका थिए ।

यसैअन्तर्गत भारत हुँदै दुबईबाट सिरिया पुर्‍याउन लागिएका ११ महिलालाई ब्युरोले साउन २७ मा उद्धार गर्‍यो । तर अनौठो त के भने, नेपाल फर्केपछि दुई जना मात्रै ब्युरोको सम्पर्कमा आए । तर ती दुवैले कसैका विरुद्ध पनि किटानी जाहेरी दिएनन्, न आफू बेचिन आँटेको घटनामाथि अनुसन्धान गर्न नै ब्युरोलाई सघाए ।

साउन १६ मा भारतबाट उद्धार गरिएकामा झापा घर भएकी दुई सन्तानकी २४ वर्षीया आमा पनि थिइन् । श्रीमान्ले सधैं रक्सी पिएर कुटपिट गरेपछि वाक्क भएर उनी दलालको फेरो समातेर कुवेत जाने सपनामा भारत पुगेकी थिइन् । उद्धारपछि ती महिलाले मानव तस्करीमा संलग्न दलालविरुद्ध जाहेरी दरखास्त त दिइनन् नै, बरु आफ्नो विदेश सपनालाई ब्युरोले बिगारिदिएको भन्दै आक्रोशित भइन् । ब्युरोकी प्रवक्ता मीरा चौधरीका अनुसार वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीको चंगुलबाट उद्धार गरिएका निकै कमै मात्र महिलाले तस्करविरुद्ध जाहेरी दरखास्त दिन्छन् । चौधरीको अनुभवमा किटानी जाहेरीको अभावमा मानव तस्करीको धन्दा निर्वाध चलिरहेको छ ।

उद्धार गरिएका धेरैजसो महिला आफन्त वा चिनेजानेकै मान्छेकै भरमा दलालको सम्र्पकमा पुगेका देखिन्छन् । विदेशी भूमिमा अलपत्र परेर उद्धार गरिएपछि पनि उनीहरू कुनै न कुनै देश जसरी भए पनि पुगिछाड्ने अठोटमा देखिन्छन् । प्रवक्ता चौधरीको अनुभवमा, घरायसी हिंसा वा आर्थिक संकटबाट गुज्रेका महिलाहरू दलालले देखाउने सपनामा यसरी बेरिएका हुन्छन् कि उनीहरू दलालविरुद्ध उजुरी गर्ने हिम्मत नै गर्दैनन् । चौधरीले भनिन्, ‘पीडितको उजुरी अभावमा वा पीडितहरू नै सम्पर्कविहीन भइदिँदा मानव तस्करमाथि कारबाही चलाउन समस्या भइरहेको छ ।’

प्रकाशित : आश्विन ९, २०७४ ०७:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

शान्ति सेनामा नेपालीको कोटा बढाउन आग्रह

प्रधानमन्त्री–राष्ट्रसंघ महासचिव भेटवार्ता
चन्द्रशेखर अधिकारी, दिनेशजंग शाह

न्युयोर्क — प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सेनामा नेपालीको कोटा बढाइदिन राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्तामा प्रधानमन्त्रीले शान्ति मिसनमा संख्याका आधारमा माथिल्लो तहमा सहभागिता बढाइदिनसमेत आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले नेपालको आग्रहलाई आफूले ध्यान दिएर हेर्ने जानकारी दिएका छन् । उनले नेपालले विश्व शान्तिका लागि सेना र अन्य सुरक्षा अधिकारी पठाएर गरेको योगदानको निकै प्रशंसा गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए ।

प्रधानमन्त्रीको उक्त आग्रहको सुनुवाइ हुने सम्भावना रहेको न्युयोर्कस्थित नेपाली नियोगका अधिकारीहरूले दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोग गर्नसमेत महासचिवलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा महासचिव गुटेरेसले यसलाई सकारात्मक रूपमा आफूले छलफल अघि बढाउने आश्वासन दिएका थिए ।

नेपालले विश्व शान्तिमा पुर्‍याएको योगदानस्वरूप नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट शान्ति मिसनमा माथिल्लो तह पाउनुपर्नेमा नेपाली सुरक्षाकर्मी अरूको कमान्डमा रहनुपरिरहेको छ । यस विषयलाई नेपाली सेनाले शान्ति मिसनमा आवाज उठाउँदै आएको थियो । विश्वका विभिन्न शान्ति मिसनमा ५ हजारभन्दा बढी नेपाली सुरक्षाकर्मी कार्यरत छन् ।

नेपाली सेनाले शान्ति सेनामा आफ्नो कुल संख्याको १० प्रतिशतसम्म पठाउने निधो गरेको छ । राष्ट्रसंघबाट भने त्यति संख्यामा माग भइरहेको छैन । अमेरिकाले केही बजेट कटौती गरेका कारण शान्ति मिसनमा सेनाको संख्या घट्न सक्ने अधिकारीहरूको आकलन छ । राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्क रहेका प्रधानमन्त्री देउवा र गुटेरेसबीच आइतबार भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा विकास प्रक्रियाका बारेमा छलफल भएको थियो । भूकम्प र बाढीको प्रकोपको पीडा र सहयोगबारे पनि छलफल भएको थियो । गुटेरेसले नेपालको लोकतन्त्र संस्थागत हुने चरणमा प्रवेश भइसकेकामा खुसी व्यक्तगरेका थिए ।

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री र नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघ महासचिवले अन्य दुई चुनावको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । गुटेरेसले नेपालको लोकतन्त्रको संस्थागत विकास प्रक्रिया अनुकरणीय रहेको भन्दै खुसी व्यक्त गरेको सल्लाहकार भट्टराईले बताए ।

प्रधानमन्त्री देउवाले दलहरूबीचको सहकार्यले स्थानीय तहको चुनाव सम्पन्न भएको र त्यसमा नेपाली जनताको उत्साहपूर्वक सहभागिता रहेको उल्लेख गर्दै समयमै प्रदेश र संघको निर्वाचन हुने जानकारी दिए । नेपालमा समावेशी लोकतन्त्रअन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित भएको बताउँदै देउवाले नेपाल उदार लोकतन्त्रमा अग्रसर भइसकेको बताए । प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेको उल्लेख गर्दै केही बाँकी कामसमेत विस्तारै सम्पन्नहुने बताए ।

गुटेरेसले नेपालमा हालै गएको बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गरे । देउवा ओमानतर्फ लागेका छन् । उनी ओमानमा दुई दिन बसेर स्वदेश फर्कनेछन् । त्यहाँ प्रधानमन्त्रीले खाडीमा रहेका राजदूतहरूलाई निर्देशन दिने र नेपाली कामदारको प्रत्यक्ष समस्या सुन्ने कार्यक्रम रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् । श्रमिक रहेका सबै पश्चिम एसियाली मुलुकमा खटिएका नेपालका राजदूत त्यहाँ आउनेछन् ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT