किन फर्कदैछन राजदूत उपाध्याय ?

कमलदेव भट्टराई

काठमाडौं — भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय आफ्नो चार वर्षे कार्यकाल सकिनुपूर्व नै फर्कने भएका छन् । आगामी संसदीय निर्वाचनमा कपिलवस्तुबाट चुनाव लड्ने योजना अनुसार उनी फर्कने मनस्थितीमा पुगेका हुन् ।

किन फर्कदैछन राजदूत उपाध्याय ?

उपाध्याय गत वर्षको असोज महिनामा दोस्रोपटक भारतका लागि राजदुत नियुक्त भएका थिए ।  दशै लगत्तै काठमाडौ आएर प्रधानमन्त्री एवं पार्टी सभापति शेरवहादुर देउवासँग छलफल गरेर उनले राजीनामा दिने बताएका छन् ।

संसदीय चुनाव भएको खण्डमा फर्केर चुनाव लड्ने मानसिकता उनले धेरै पहिले बनाएका थिए । सुरुमा उनले यो विचार पार्टी सभापति देउवासँग राखेका थिए । त्यतिबेला देउवाको जवाफ थियो– राम्रो गरिराख्नु भएको छ, किन फर्कनु ? निरन्तरता दिनु नि । तर पछि उपाध्यायले आफूलाई स्थानीय नेता तथा कार्यकर्ताले चुनाव लड्न आग्रह गरेको बताएपछि देउवाले उनलाई ग्रिन सिग्लन दिइसकेका छन् । तर कतिपयले चाहि परिवारका अन्य सदस्यलाई राजनीतिमा अगाडी बढाएर उपाध्यायलाई राजदुतमा नै निरन्तरता दिन सुझाव दिइरहेका छन् । अनि उनका परिवारका सदस्यहरुको सुझाव चाही चुनाव लडनुपर्छ भन्ने नै रहेको देखिन्छ ।

अघिल्लोपटक तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकार ढाल्न लागि परेको आरोपमा उपाध्यायलाई फिर्ता बोलाइएको थियो । त्यसले पनि उपाध्याय दोस्रोपटक राजदूत भएर भारत जान चाहान्थे तर पूरा कार्यकाल नै बस्ने मनस्थितिमा भने थिएनन् । 

ओली सरकार ढलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उपाध्यायलाई पुन राजदुत नियुक्त गर्ने प्रक्रिया अगाडी बढेको थियो । दाहालसँग उपाध्यायको राम्रो सम्बन्ध रहेको छ । दाहाल प्रधानमन्त्री हुँदा उपाध्यायले केही विषयमा कसरी अगाडी बढ्ने भने सुझाव माग्थे । तर दाहालको प्रतिक्रिया हुने गर्दथ्यो,‘तपाईले सबै बुझनु भएको छ मैले के भनिराख्नु पर्छ  र ।  

दोस्रो संविधान सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं १ बाट चुनाव लडेका उपाध्यायले चुनाव हारेका थिए । चुनाव हारेपनि तत्कालिन पार्टी सभापति शुशील कोइरालाको नेतृत्त्वमा एमालको समर्थनमा सरकार बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । 

उपाध्यायलाई बेलाबेलामा ‘भारतपरस्त’ भएको आरोप लागेपनि उनले दुई देशको बीचमा रहेका समस्याहरुलाई राजनीतिक तहमा पुर्‍याउन निकै पहल गरेको देखिन्छ । विशेषत: दुईपक्षीय सम्बन्धमा नेपालले जति पनि समस्याहरु भोगिरहेका छन ति समस्याहरु साउथ व्लकको प्रशासनिक तहसम्म मात्र पुग्ने र समाधान नहुने अवस्था रहिआएकोमा उपाध्यायले त्यसलाई चिर्नको लागि पहल गरिरहेको देखिन्छ । यद्यपि कतिपय विषयहरु निरन्तर पहलको बाबजुद पनि समाधान हुन सकेका छैनन् ।

राजनीतिक तहमा सिधा पहुँच भएका उपाध्यायले ति समस्याहरुको बारेमा भारतको प्रधानमन्त्री कार्यालय तथा सम्बन्धी मन्त्रीहरुसँग सिधा कुरा राख्ने गरेका छन् । जसले गर्दा नेपालले भोगेका समस्याहरुको बारेमा भारतका केन्द्रिय मन्त्रीहरुसम्म पुगेको छ । नेपालले भोगिरहेका समस्याहरुको बारेमा उपाध्यायले सिधै राजनीतिक तहमा कुरा गर्दा भारतको प्रशासनिक तहले बेला बेलामा घुमाउरो पाराले असन्तुष्टी समेत व्यक्त गर्ने गरेको छ । 

प्रकाशित : आश्विन ९, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?