कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

धरहरा पुनर्निर्माणबाट टेलिकमले किन हात झिक्यो ?

दामोदर न्यौपाने

काठमाडौं — भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो ।

धरहरा पुनर्निर्माणबाट टेलिकमले किन हात झिक्यो ?

कम्पनीको लाभ, लागत, पुरातत्त्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यवसाय सञ्चालन गर्न प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्वारा स्वीकृत नभएको समेत कारण देखाएर टेलिकमले हात झिकेको प्राधिकरणले जनाएको छ । 

धरहराबाट हात झिके पनि उपत्यकाका सम्पदा पुनर्निर्माणका लागि टेलिकमले सहयोग गर्ने वचन दिएको प्राधिकरणले जनाएको छ । टेलिकमले काठमाडौं, ललितपुर, भक्तपुर दरबार क्षेत्रमा क्षतिग्रस्त सम्पदा, धरहरा, स्वयम्भूनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय पुनर्निर्माण कार्यका लागि आगामी तीन वर्षभित्र एक अर्ब सहयोग गर्ने प्रतिबद्धता भने कायम रहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । 

यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरी जवाफ दिने बताएको थियो । दुई साताभन्दा बढी समय बितिसक्दासमेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेस गर्न निर्देशन दिएको थियो ।

टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरी धरहरा पुनर्निर्माणबारे थप निर्णय गरिने प्रवक्ता भुसालले बताए । पुसमा भएको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई धरहरा पुनर्निर्माण गर्न दिने निर्णय गरेको थियो । धरहराको पुनर्निर्माणको लागि ‘ड्रइङ डिजाइन,’ र ‘कस्ट स्टिमेट’ तयार भएको पुरातत्त्व विभागले जनाएको छ । विभागका अनुसार धरहरा पुनर्निर्माणको जिम्मा टेलिकमलाई दिन पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयबीच सम्झौतापत्रसमेत भइरहेको थियो । 

धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरिसकेको छ । पहिला धरहरा भएको ५ रोपनी जग्गामा मात्रै पुनर्निर्माण गर्दा राम्रो नहुने भन्दै पुरातत्त्व विभागले सरकारसँग जग्गा माग्दै आएको थियो । यसको निर्माण लागत सुरुमा तीन अर्ब लाग्ने अनुमान गरिएको थियो । तर यसको लागत बढेर झन्डै आठ अर्ब रुपैयाँ लाग्ने अनुमान भएपछि टेलिकम पुनर्निर्माण गर्नबाट हच्केको पुरातत्त्व स्रोतले जनाएको छ । 

गोश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धरहरा बनाउन दिने निर्णय तत्कालीन प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ । टक्सार विभाग र गोश्वारा हुलाकलाई अन्त जग्गा उपलब्ध गराइदिने सर्तमा यो जग्गा दिन राजी भएको थिए । जग्गा पाएपछि पुरातत्त्व विभागले पूरै क्षेत्रफलमा संरचना बनाउने गरी विस्तृत डिजाइन गरेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । धरहरा पुरानै स्वरूपको तर सुविधाजनक हुनेगरी यसको स्टिमेट भएको थियो । यसलाई प्राचीन स्वरूप मास्न लागेको भन्दै स्थानीयबासीले समेत विरोध गरेका थिए । 

भुइँचालोले भत्काएको धरहरालाई चाहिँ जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन भएको हो । गोश्वारा हुलाक कार्यालयको आकाशे पुलबाटै धरहराको क्षेत्र सुरु हुनेछ । धरहराको विस्तृत डिजाइन गरेका इन्जिनियर विष्णु पन्थीले भने, ‘प्रवेशद्वारबाट सुन्धारा गार्डेन सुरु हुनेछ । गोश्वारा हुलाक कार्यालयदेखि कर्मचारी सञ्चय कोष भवन छेउसम्मको क्षेत्रलाई सुन्धरा गार्डेनमा राखिनेछ ।’ धरहरा पुनर्निर्माणको लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्टयान्ट प्रालि र एसोसिएटस् जेभीलाई पुरातत्त्वले जिम्मेवारी दिएको थियो । संस्कृति मन्त्रालयले धरहराको विस्तृत डिजाइन गर्न पुरातत्त्व विभागलाई कार्यादेश दिएको थियो । दुई महिनाभित्र काम सक्ने गरी गत असार २६ गते उनीहरूलाई कामको जिम्मेवारी दिइएको थियो । तर काम सक्न भने झन्डै एक वर्ष लगाएको थियो । 

परामर्शदाता इन्जिनियर पन्थीले तयार गरेको डिजाइनमा गार्डेनको छेउमा तीनतले पार्किङ स्थल बन्नेछ । सुन्धारालाई धरहरा क्षेत्रभित्रै राखिनेछ । सुन्धारालाई पुनर्निर्माण गरेर भर्‍याङ बनाइनेछ । खुला यो भर्‍याङ तीन सय जनासम्म हिँड्न सक्ने क्षमताको हुनेछ । यहाँ फोटो खिच्ने ठाउँ हुनेछ । यहाँ पानीको फोहोरा राखिनेछ । यो फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिन लगायतका सामान संग्रहालयमा राख्न सकिनेछन् । संग्रहालय दुई तलाको हुनेछ । यसबाहेक गिफ्ट सप, सानो थिएटर लगायतका पूर्वाधारसमेत बनाइने डिजाइनमा उल्लेख छ । यसलाई अपांगमैत्री पनि बनाइनेछ । अपांगतालाई ध्यान दिएर दुइटा लिफ्टको व्यवस्थासमेत गरिने छ ।

अहिलेको जमिनको सतहभन्दा तलमाथि नगईकन धरहरा बनाइनेछ । यसको उचाइ २ सय ४५ फिट हुनेछ । पहिलाको धरहराको उचाइ पनि यति नै हो । नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले बनाएका हुन् धरहरा । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार भीमसेन थापाले धरहरा बनाएर पहिलोपल्ट पाश्च्यात्य शैलीको संरचना नेपाल भित्र्याएका थिए । थापाले आफ्नो निवास बागदरबार छेउमै विसं. १८८१ सालमा धरहरा बनाएका थिए । 

भीमसेन थापाले यो धरहरा बनाएपछि रानी त्रिपुरा सुन्दरीले १८८२ मा अर्काे धरहरा बनाउन लगाइन् । बज्राचार्यका अनुसार १९९० सालको भुइँचालोले यी दुईमध्ये भीमसेन थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा ढल्यो । ९० सालमा भुइँचालो आउनुअघि नै चटयाङ परेर धरहराको क्षति भइसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलामा झारेर पुनर्निर्माण गरेका थिए । 

धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गाह्रो थियो । यसको डिजाइन मुगल कालिगढले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्बज बनाई सुनको जलप लगाइएको धातुको गजुर थियो । यसको निर्माणमा मुस्लिम धर्मको प्रभाव परेको बज्राचार्य बताउँछन् । ‘के हिन्दु, के मुस्लिम, के इसाई,’ पन्थी भन्छन्, ‘अब धरहरा सबैको भइसक्यो । यो राष्ट्रिय सम्पत्ति हो ।’ 

दैवीप्रकोपलाई ध्यान दिएर अब भन्ने धरहरासम्म उद्धार साम्रग्री पुग्न सक्ने व्यवस्था हुनेछ । ‘अब पुनर्निर्माण हँुदा पहिलाको संरचनाको बारेमा विस्तृत अध्ययन हुन जरुरी हुन्छ,’ दाहाल भन्छन्, ‘अब बन्ने धरहराको पनि वैज्ञानिक संरचनागत अध्ययन अनुसन्धान गरिएन भने भविष्यमा फेरि प्रकोपमा पर्न सक्छ भन्ने तथ्यलाई यसको पुनर्निर्माण गर्दा ध्यान दिनुपर्छ ।’

प्रकाशित : आश्विन १०, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?