च्यांग्रासँगै भित्रन्छ दसैं

लालप्रसाद शर्मा

पोखरा — दसैंमा मीठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइँचो लाग्छ नै तर पोखरामा यतिले मात्रै दसैंको रौनक हुँदैन ।

च्यांग्रासँगै भित्रन्छ दसैं

पोखरा तथा आसपास क्षेत्रमा (गण्डकी, धौलागिरि) दसैंको अर्को मुख्य विशेषता वा आकर्षण हिमाली च्यांग्रा बनेको छ । अन्य सामान अघिपछि पनि किनमेल गर्न सकिने तर च्यांग्रा भने दसंैमा मात्र पाइने भएकाले उपभोक्ताको पहिलो रोजाइमा परेको हो । च्यांग्रा किनेपछि मात्रै दसंैको रौनक हुने स्थानीय बताउँछन् । ‘च्यांग्रा घरमा हुलेपछि मात्रै हामीलाई दसैं आएजस्तो हुन्छ,’ नागढुंगाका वैकुण्ठ रिजाल भन्छन्, ‘दसंै र च्यांग्रा पर्याय भएका छन् ।’

खसीबोकाको मासु जहिल्यै खाइने तर वर्षको एकपटक आउने अवसर भन्दै च्यांग्राको मासु खाने संस्कृति पछिल्लो समय बढेको छ । परिवारजन, आफन्तजन, इष्टमित्र भेला हुने, दु:ख बिर्सने, मीठो खाने, रमाइलोसमेत गरिने दसंैमा मासु मुख्य खानेकुरामा पर्छ । त्यसमा पनि यस क्षेत्रमा च्यांग्रा खाने संस्कृतिको विकास भइसकेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठ बताउँछन् । 

च्यांग्रा डोर्‍याएको, गाडी र मोटरसाइकलमा पनि लिएर हिँडेको देख्दा अरूलाई पनि लगेर दसैं मान्नैपर्‍यो भन्ने हुन्छ । ‘सधैं खाइरहेको च्यांग्राको मासु खान यसपटक पनि छुटाउन भएन,’ पोखरा पातलेछाँगाका दुर्गाप्रसाद पौडेलले भने, ‘त्यही भएर किन्न आएको ।’ उनले २५ हजार रुपैयाँ तिरेर च्यांग्रा किनेर लगे । जडीबुटी, चिसोपानी खाएको च्यांग्राको मासु स्वास्थ्यका लागि पनि राम्रो मानिने भन्दै उपभोक्ताको रोजाइमा परेको हो ।

पोखरामा दसैंका लागि मुस्ताङ, डोल्पा, बझाङ, बाजुरा तथा तिब्बतबाट पोखरा तथा आसपास क्षेत्रमा ४० हजारभन्दा बढी च्यांग्रा आउँछन् । यसबेला च्यांग्राको करोडौं रुपैयाँको कारोबार हुन्छ । यहाँ गत वर्ष करिब २५ हजार च्यांग्रा भित्रिएकामा यसपटक ५ हजार बढी आउने व्यवसायीको आँकलन छ । गत वर्षभन्दा यसपटक भेडाको मूल्य केही कमी छ भने च्यांग्राको २/३ हजार रुपैयाँ बढी छ ।

दुई दशकदेखि च्यांग्राको व्यापार गर्दै आएका डोल्पाका ओमकार रोकायले यसपटक पनि डेढ करोड रुपैयाँ खर्चेर ८ सय च्यांग्रा ल्याएका छन् । दसंैका बेला पोखरा र आसपास क्षेत्रमा च्यांग्राको व्यापार राम्रै हुने भएकाले यो व्यवसायमा लागेको उनले बताए । ‘हिमाली क्षेत्रबाट बेंसी झरेर बिक्री गर्ने उपयुक्त मौसम र ठूलो पर्वसमेत पर्ने भएकाले च्यांग्राको व्यापार राम्रो हुने भएकाले यसमा लागेको हुँ,’ उनले भने, ‘बर्सेनि माग बढदो छ ।’ व्यवसायीका अनुसार बर्सेनि पोखरामा मात्रै ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गर्छ । च्यांग्राको कारोबार तिहार पछिसम्म हुन्छ । म्याग्दीका व्यवसायी शिव भण्डारीले पनि साढे ३ सय च्यांग्रा ल्याएका छन् । ‘राम्रैसँग बिक्री हुने भएकाले २० वर्षदेखि यो व्यवसायमा लागेको छु,’ उनले भने । च्यांग्रालाई अस्थायी टहरा बनाएर राखिन्छ ।

अहिले पोखरा–बागलुङ राजमार्गको कास्की र पर्वत खण्डमा च्यांग्राका बथान आइरहेका छन् । सबै च्यांग्रा फूलपातीको अघिल्लो दिनसम्म पोखरा भित्रिन्छन् ।

पहिलेपहिले स्थानीय किसान तथा व्यापारीबाट सीधै किनेर ल्याउँदा च्यांग्राको मूल्य कम हुन्थ्यो । तर केही वर्षयता भने ‘बिचौलिया’ हावी भएकाले मूल्य बढी तिर्नुपरेको व्यापारी बताउँछन् । सबै व्यापारी बाहिरबाट जाने र भनेजति मूल्य दिँदा उपभोक्ता महँगोमा परेका छन् । पछिल्लो समय काठमाडांै, चितवन र बुटवललगायत क्षेत्रमा पनि च्यांग्रा जाने गरेका छन् । चराएर पाल्ने भएकाले च्यांग्रामा बोसो कम हुन्छ । त्यसैले ‘युरिक एसिड’ भएका बिरामी पनि यसको मासुले बिगार गर्दैन । यहाँका फ्रेस हाउसहरूमा दसंै लागेसँगै च्यांग्राकै मासु खोज्नेहरू बढी भेटिन्छन् । घरमा सग्लो काट्न नसक्नेले फ्रेस हाउसबाट १/२ किलो भए पनि किनेर खाने गर्छन् ।

कैदी–बन्दीमा उत्साह
हेटौंडा– भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दी अत्याधुनिक भवनमै बसेर दसैं मनाउन पाउने भएका छन् । जेलमा पनि सहज ढंगले सुत्न र दिन बिताउन पाएकाले उनीहरू खुसी छन् । दसैं मनाउन सरकारले प्रतिव्यक्ति ३ सय रुपैयाँ दिने निर्णयसमेत गरेकाले उनीहरू थप खुसी देखिएका हुन् । उक्त कारागारका बन्दीहरूले दसैंमा मासु र चिउरा खान सहयोगको अपेक्षा गर्दै मकवानपुर उद्योग वाणिज्य संघ, नगरपालिका, जिससलगायत विभिन्न संघसंस्था र व्यक्तिलाई निवेदन दिने गरेका थिए । मनकारी व्यक्ति तथा संस्थाले खसी तथा चिउराको बन्दोबस्त गरिदिन्थे । ‘सरकारले नै दसैं मनाउन जेलका कैदीबन्दीलाई प्रतिव्यक्ति ३ सय रुपैयाँ दिने गरेकाले सहयोगको अपेक्षा गर्नु परेन,’ कारागारका चौकीदार सन्जोग जोशीले भने, ‘ यो वर्षको दसैंमा भीमफेदी कारागारका बन्दी खुसी छन् ।’ 

दसैं मनाउन समस्या नभएर होइन । बस्न पनि सजिलो भएकाले कैदीबन्दी खुसी देखिएका हुन् । विगतका समयमा बन्दीहरू कोचाकोच गरेर बस्नुपथ्र्यो । राणाकालको घोडाको तबेलामा बन्दी कोचाकोच गरी राख्ने गरिएको थियो । महिला कैदीबन्दीका निम्ति निर्माण गरेको भवनमा ठाउँ नभएर पुरुषहरू पनि राखिएको थियो । उक्त भवनमा सुत्ने र बस्ने ठाउँ नभएर भर्‍याङमुनि कैदीबन्दी बस्ने गरेका थिए ।

३५ जना अट्ने पुरानो र जीर्ण जेलमा १ सय ५ जना बस्दै आएका थिए । यहाँका सबै कैदीबन्दीलाई नवनिर्मित भवनमा स्थानान्तरण गरिएको छ । ‘यो जेलमा सरुवा भएर आउन नेपालभरिकै कैदी बन्दी सोर्सफोर्स लगाउने गरेका छन्,’ जेलका एक अधिकृतले भने, ‘जेलभित्र र बाहिरको वातावरण राम्रो छ ।’

दसैंका अवसरमा जेलमा रहेका विभिन्न समुदायका व्यक्तिहरूले आआफनो समुदायको संस्कृतिहरू झल्कने सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गर्ने गरेका छन् । भलिबल प्रतियोगिता पनि सञ्चालन गर्ने गरेका छन् । भीमफेदी कारागारभित्रका कैन्दी बन्दीहरूले मुढा बनाएर, गलैंचा र टोपी बुनेर, लुगा सिएर राम्रै आम्दानी गर्छन् । जेलभित्रका जाँगरिला हात भएका कैदी बन्दीहरूले मासिक रूपमा ४ हजारदेखि ८ हजार रुपैयाँसम्म घर पठाउने गर्छन् । हेटौंडाबाट करिब २३ किमि टाढाको कारागारभित्र भलिबल खेल्ने मैदान, टेलिभिजन, पत्रपत्रिका र टेलिफोनको सुविधा छ । झन्डै २ हजारभन्दा बढी किताबहरू रहेको पुस्तकालय छ । शारीरिक व्यायाम गर्न विभिन्न किसिमका सामानसहितको व्यायाम थलो पनि छ । क्षेत्रीय कारगाारभीमफेदीका २ भवनमा सोमबारसम्म ७ सय १७ कैदीबन्दी छन् । तीमध्ये नाइजेरियन नागरिक १ जना छन् भने ४८ भारतीय छन् । अरू सबै नेपाली छन् ।

८ कैदी छुटे
सरकारले दसैंको अवसर क्षेत्रीय कारागार भीमफेदीका ८ कैदीको बाँकी कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई सोमबारै आफन्तको जिम्मा लगाएर घर पठाइएको जेलर मातृकाप्रसाद दाहालले बताए । उनका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी बहुविवाह मुद्दाका ३ जना परेका छन् । कर्तव्य ज्यानसम्बन्धी ३ जना, डाँका र चोरी मुद्दाका एकएक जनाको पनि कैद माफी भएको छ । असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो । उनीहरू सबै ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदी हुन् ।

टीका बनाउन चामल छैन
रुकुम– पूर्वी रुकुमको सिस्ने गाउँपालिका– ३ की रती खत्रीको घरको कुनामा जमरा टुसाउन खोज्दै छन् । तर, यी जमरा कसैले नलगाई ओइलिनेछन् । कम्मरभन्दा मुनिको भाग चल्दैन खत्रीको । न कसैको घरमा टीका थाप्न जान सक्छिन् न कोही उनीकहाँ आउँछन् । ८ वर्षयता यस्तै दसैं झेल्दै छिन् उनी । पतिको ८ वर्षअघि मृत्यु भइसकेको छ । पहिले पति–पत्नी एक–अर्कालाई टीका जमरा लगाइदिन्थे । हाल उनका १० वर्षमुनिका २ छोरी छन् । सानी छोरी घरमा छैनन् । 

प्रकाशित : आश्विन १०, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?