नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम हटाइए

सुरज कुँवर

काठमाडौं — हवाई माफिया र बिचौलियाको दबावमा पर्यटन मन्त्री जितेन्द्र नारायण देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई पदबाट हटाएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम हटाइए

महानिर्देशक गौतमले सोमबार दोस्रो पटक पर्यटन सचिव महेश्वर न्यौपानेद्वारा सोधिएको २४ घन्टे स्पष्टीकरणको लिखित जवाफ पठाएका थिए । जवाफ पाए लगतै महानिर्देशक गौतमलाई महानिर्देशकबाट हटाइएको छ ।

‘मन्त्रीज्यूलाई राजनीतिक दबाब थियो, स्पष्टीकरण भन्दा पनि गौतमलाई चाँडो हटाउनु पर्ने भएकाले हिजै (सोमबार) निणर्य भएको थियो,’ मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘स्पष्टीकरण बहाना मात्रै हो, जतिसक्दो चाँडो उनलाई बर्खास्त गर्नुपर्ने दबाब मन्त्रीभन्दा पनि माथिल्लो तहबाटै आएको बुझिन्छ ।’ देवले सोमबारै स्पष्टीकरण अध्ययन नै नगरी हटाउने निणर्य गरेको बैठकमा सहभागी एक अधिकारीले बताए ।

विजय कुमार गच्छादारको लोकतान्त्रिक फोरमबाट मन्त्री चुनिएका देवलाई यसबारे बारम्बार सम्पर्क गर्दा पनि टेलिफोनमा उपलब्ध भएनन् ।

तीन वर्षदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले लगाएको गम्भिर सुरक्षा चासो (एसएससी) सूचीबाट नेपाललाई हटाएका महानिर्देशक गौतमलाई हटाउन देव भदौं २७ गते दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको प्रचार–प्रसार छाडेर केही घन्टाका लागि सप्तरीबाट काठमाडौं आएका थिए । काठमाडौंको एक होटलमा महानिर्देशकलाई हटाउन स्पष्टीकरण सोध्ने निणर्य गर्दै उनी हेलिकप्टर चार्टर गरी त्यसैं दिन राजबिराज फर्केका थिए ।

काठमाडौं विमानस्थल बिस्तारको ठेक्का लिने तर कामै नगर्ने स्पेनिश कम्पनी सानजोसेसँग ठेक्का तोड्ने महानिर्देशक गौतमलाई मंगलबार पर्यटन मन्त्रालयबाट जिम्मेवारीबाट हटाइएको र मन्त्रालयमा तानिएको पत्र पठाइएको छ ।

त्यहाँको प्रशासन महाशाखाका उपसचिव प्रकास शर्माले पठाएको पत्रमा गौतमलाई तीन सदस्यीय कार्यदलको संयोजक तोकिएको लेखिएको छ । तर, त्यसमा अन्य दुई सदस्य को छन ? कार्यअवधि कति हो ? लगायतका विषयमा प्रष्ट्याइएको छैन । प्राय: यस्ता कार्यदलमा मन्त्रालयकै सहसचिवलाई जिम्मेवारी दिने पर्यटन मन्त्रालयले २७ महिनाअघि मन्त्रीपरिषद्वारा चार वर्षका लागि महानिर्देशक नियुक्त गौतमलाई चलाखीपूर्ण तरिकाले मन्त्रालयमा हाजिर गराउन लागिएको हो । यो पत्र मंगलबार प्राधिकरणमा पुगेपनि महानिर्देशक गौतम सोमबारै २४ घन्टे स्पष्टीकरणको जवाफ लेखि विदामा गइसकेका छन् । प्राधिकरणका केही पूर्व महानिर्देशक तथा सचिवहरुले यो प्रकरणलाई आर्थिक चलखेल समेत भनेका छन् ।

‘हवाई क्षेत्रको अनुगमन तथा सेवा प्रदान गर्ने प्राधिकरणको हटसिट नेपालका केही एयरलाइन्स संचालकहरुको कन्ट्रोलमा रहन्छ,’ एक पूर्व सचिवले भने, ‘विगतमा पनि महानिर्देशकहरुलाई पुरा कार्यकाल काम गर्न दिइएको इतिहास नै छैन । जस्ले उनीहरुको आर्थिक लाभमा सघाउन मद्दत गर्छ उसैलाई यो हटसिट दिइन्छ ।’

एमालेको कोटाबाट महानिर्देशकको जिम्मेवारी पाएका गौतम विवादरहित र उड्डयन क्षेत्रको ज्ञान भएका महानिर्देशकका रुपमा मानिन्छन् । उनलाई हटाउन यसअघि काँग्रेसबाट पर्यटनमन्त्री बनेका जीवन बहादुर शाहीलाई पनि राजनीतिक दबाब परेको थियो । तर, उनले गौतमलाई हटाउने दबाव स्वीकारेका थिएनन् । त्यसताका काँग्रेस नेतृ स्वर्गीय शैलजा आचार्यसँग नाता जोडेर आएका मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई महानिर्देशक बनाउन काँग्रेसवृत्तबाटै दबाव आएको थियो । यसपटक गौतमलाई हटाई सहसचिव आचार्यलाई महानिर्देशकमा ल्याउने तयारी मन्त्री देवको थियो । तर, सरकारद्वारा नै कालोसूचीमा राखिएको स्पेनिस कम्पनीलाई करिब ७ अर्ब फाइदा पुग्ने गरी आचार्यले निमित्त सचिव भएको मौकामा गौतमलाई पहिलो स्पष्टीकरणपत्र लेखेको अभियोग लागेको छ । यसमा मन्त्रीले उनलाई नै उल्टै स्पष्टीकरण सोधेका छन् । यस घटनाले अब आचार्य महानिर्देशकमा आउने सम्भावना न्यून देखिएको छ ।

प्रकाशित : आश्विन १०, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?