२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेपाली बालबालिका बेचिने क्रम बढ्दो : राष्ट्रसंघ

बाढीपहिरोका कारण ८० हजार बालबालिका शिक्षाबाट वञ्चित

न्युयोर्क — राष्ट्रसंघले नेपाली बालबालिका छिमेकी भारत तथा अफ्रिकी मुलुकमा बेचिने क्रम बढो रहेको जनाएको छ । यो समस्याबारे नेपाल सरकार गम्भीर नभएको र बेचबिखन रोक्न आवश्यक कदम नचालेकोमा आफ्नो ध्यानाकर्षण भएको पनि राष्ट्रसंघले जनाएको छ ।

नेपाली बालबालिका बेचिने क्रम बढ्दो : राष्ट्रसंघ

न्यूयोर्कस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय अधिकारीहरुले घर र पढाई छाड्न बाध्य भएका तथा जोखिममा रहेका बालबालिकाप्रति चनाखो रहन पनि नेपाल सरकारलाई आग्रह गरे । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण नेपालमा ८० हजारभन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वन्चित हुनुपरेको पनि राष्ट्रसंघको तथ्यांक छ ।

बेलायतका पूर्व प्रधानमन्त्री गोल्डेन ब्राउन नेतृत्वको समूहले राष्ट्रसंघ महासभामा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली टोलीलाई पनि नेपाली बालबालिकाको अवस्थाबारे जानकारी गराएको थियो । ब्राउनले नेपालको द्वन्द्वकालमा बालबालिकाको समस्या र शिक्षाको पहुँचबारे पनि धारणा राखेका थिए । त्यही समयदेखि नै नेपालका बालबालिका भारत र अन्य मुलुकमा बेचिने गरेको तथ्यांक उनले प्रस्तुत गरेका हुन् ।

‘नेपालबाट ठूलो संख्यामा बालबालिका तस्करी गरेर भारत र अन्य देशमा बेचिन्छन् । मानव तस्करहरुले संगठित रुपमा बालबालिकाको डरलाग्दो व्यापार गरिरहेका छन् । राष्ट्रसंघमात्र होइन नेपाल सरकारले पनि त्यसलाई रोक्न कदम चाल्नैपर्छ । आरम्भमा हामीले बालबालिकालाई विद्यालय फर्काउने र बेचबिखन हुने अवस्था रोक्ने नै हो ,’ उनले भने । ब्राउन विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका विशेष दूत हुन् । उनले विश्वका बालबालिका शिक्षाबाट वन्चित नहुन् भन्ने अभियान नै चलाएका छन् । विश्वमा हरेक ६ सेकेन्डमा एक बालबालिका विस्थापित भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको अवस्थाका बारेमा विवरण प्रस्तुत गरेका थिए ।

विश्वभर ७ करोड ५० लाखभन्दा बढी बालबालिका आपतकालीन अवस्थामा मानवीय सहायता पर्खिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय नेपालमा ८० हजार बालबालिका शिक्षाको पहुँचबाट वन्चित भएको अवस्थामा रहेको बताए । ब्राउनले ती नेपाली बालबालिकाको पुनस्र्थापनामा राष्ट्रसंघले सहयोग गर्ने र यसमा नेपाल सरकारको पनि ध्यान जानु आवश्यक रहेको बताए । दुई वर्षअघिको भूकम्पका कारण पहाडी भेगका नेपाली बालबालिकाले बेहोरेको समस्या नसकिंदै पुन: तराई भेगका बालबालिकाले पनि भीषण बाढीको समस्या भोग्नुपरेको र पुन: हजारौ नेपाली बालबालिका विद्यालय छाड्न बाध्य भएको उनले बताए । पत्रकार सम्मेलनमा अधिकांशले नेपालका बालबालिकाको बिक्री र दासत्वका बारेमा जिज्ञासा राखेका थिए ।

शिक्षाको अवसरबाट वन्चित बालबालिकाको हितमा काम गर्न राष्ट्रसंघले ‘शिक्षाले पर्खदैन’ भन्ने कोष नै खडा गरेर विश्वब्यापी रुपमा रकम जम्मा गरेको छ । सुरुको एक वर्षमा १५ करोड डलर (१५ अर्बभन्दा बढी) जम्मा भइसकेको उल्लेख गर्दै बेलायती पूर्व प्रधानमन्त्री ब्राउनले त्यो रकम विकराल समस्या समाधान गर्न अपुग हुने बताए । उनले थोरै रकमबाट पनि राष्ट्रसंघले बालबालिकाको समस्या समाधान गर्न काम गर्दै अघि बढ्ने बताए । ब्राउनले ब्रिफिङमा भने, ‘अब नेपालमा हाम्रो थप ध्यान जानेछ र शिक्षामा सहयोग गरिरहेका मुलुकहरुले पछिल्लो अवस्थाप्रति नेपाललाई मद्दत गर्नेछन् ।’

उनले बालबालिका शिक्षाबाट बन्चित भएसँगै उनीहरु भारतमा बेचिने विकराल अवस्थाबारेमा पनि चिन्ता ब्यक्त गरे । विश्वभर तीन करोड बालबालिका घरबार र शिक्षाबाट वन्चित भएको र शोषणको जोखिममा रहेको ब्राउनले उल्लेख गरेका थिए ।

प्रकाशित : आश्विन १०, २०७४ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?