कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ गणना कात्तिकदेखि

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल र भारतका बाघ पाइने संरक्षित क्षेत्रहरूमा आगामी कात्तिकमा एउटै प्रविधिबाट बाघ गणना गरिने भएको छ । आइतबार र सोमबार काठमाडौंमा भएको नेपाल–भारत अन्तर सीमास्तरीय बैठकले दुवै देशका तराई भूपरिधि कार्यक्रम लागू भएका संरक्षित क्षेत्रमा बाघको संख्या अद्यावधिक गर्न गणना गर्ने निर्णय गरेको हो ।

बाघ गणना कात्तिकदेखि

वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा. महेश्वर ढकालले गणनाको सात महिनापछि (जुलाई २०१८ मा) दुई देशका बाघको प्रतिवेदन संयुक्त प्रकाशित गरिने बताए । सन् २०१८ को डिसेम्बरसम्म दुवै देशले बाघको तस्बिरसहितको डाटाबेससमेत तयार गर्नेछन् ।

नेपालको वाग्मतीदेखि भारतको यमुना नदीसम्मको तराई भू–परिधि कार्यक्रम (ताल) लागू भएको ४५ हजार वर्गकिलोमिटर क्षेत्रभित्रका १५ संरक्षित क्षेत्रमध्ये १२ वटामा बाघको बासस्थान रहेको पाइएको छ । यसअघि सन् २०१३ मा पनि नेपाल र भारतका संरक्षित क्षेत्रमा एउटै प्रविधिबाट एकैपटक बाघको गणना गरिएको थियो । नेपाल र भारतका बाघको ओहोरदोहोर दुवैतिर हुने गरेको पाइएपछि गणनालाई वैज्ञानिक बनाउन क्यामेरा ट्रयापिङ प्रविधिबाट एकै पटक गणना गर्न थालिएको हो । उक्त गणना प्रभावकारी ठहर भएपछि यो पटक पनि दुवै देशले त्यही प्रविधिलाई निरन्तरता दिएका हुन् ।

‘ताल’ अन्तर्गत पर्ने नेपाल र भारतका १२ संरक्षित क्षेत्रमा इन्डिभिजुअलमा २ सय ३९ र ‘ताल’ क्षेत्रभित्र जम्मा ३ सय ७१ बाघ पाइएको थियो । २ सय ३९ बाघमा ८९ भाले बाघ १ सय ४४ बघिनी तथा ६ को लिंग नखुलेको संयुक्त प्रतिवेदनमा उल्लेख छ । नेपालतिरका संरक्षित क्षेत्रमा १ सय ९८ वयस्क बाघ छन् । सहसचिव ढकालका अनुसार अघिल्लो गणनाको क्यामेरा ट्रयापिङले ५ वटा बाघ नेपाल र भारततिर ओहोरदोहोर गर्ने गरेको देखाएको छ । भारततिरको वाल्मीकि वाइल्डलाइफ रिजर्भ र चितवन निकुञ्ज, बर्दिया निकुञ्ज र दुधवा तथा शुक्लाफाँटा निकुञ्जबाट बाघ दुवैतिर ओहोरदोहोर गर्ने गरेको पाइएको समेत प्रतिवेदनमा छ ।

काठमाडौंमा भएको अन्तरसीमा बैठकले सीमा वारपार क्षेत्रमा रहेका डल्फिन र घडियाल गोहीको संयुक्त सर्भे गर्नेसमेत निर्णय गरेको ढकालले बताए । ‘त्यसका लागि निकुञ्ज विभाग र वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियाले समन्वय गर्नेछन्,’ उनले भने । बैठकले नेपाल र भारत दुवैतिरका संरक्षित क्षेत्रमा जैविक विविधताको प्रभावकारी संरक्षणमा प्रतिबद्ध हुनेसमेत प्रण गरेको छ । दुवै मुलुकले सीमा वारपारका क्षेत्रमा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीको क्षमता अभिवृद्धिलाई निरन्तरता दिनेछन् भने चितवन–वाल्मीकि–पर्सा क्षेत्रमा आउजाउ गर्ने गैंडाको ‘मेटा पपुलेसन’ स्थापना गर्न सम्भाव्यता खोजी गर्नेछन् ।

नेपाल र भारतबीच वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि अन्तरसीमा बैठक हुने गरेको छ । बैठकमा नेपाल र भारतका आठ/आठ गरी १६ उच्चस्तरीय सरकारी अधिकारी सहभागी थिए । ‘बैठकमा विगतदेखिका प्रयास, उपलब्धि र चुनौतीबारे छलफल भयो,’ मन्त्रालयका प्रवक्ता धनञ्जय पौडलले भने । बैठकको उद्घाटनका क्रममा वनमन्त्री विक्रम पाण्डेले वन्यजन्तुको आवागमनलाई राजनीतिक सीमाले नरोक्ने भएकाले भूपरिधीय, जैविक मार्ग र कनेक्टिभिटीको अवधारणाअनुसार संरक्षण तथा व्यवस्थापन जरुरी भएको बताएका थिए ।

प्रकाशित : आश्विन ११, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?