कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम

भीष्मराज ओझा/रासस

मस्कट (ओमन) — प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौताले दुवै मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको बताएका छन् ।

ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमनको औपचारिक भ्रमणका क्रममा मस्टकस्थित ग्राण्ड ह्यात होटलमा यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने —“यो सम्झौताले दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो शुरुवात भएको छ ।”

सम्मेलनमा परराष्ट्र सचिव शंकरदास वैरागीले सम्झौतापछि नेपालको लगानीका सम्भावनाका क्षेत्रमा ओमनको लगानी भित्र्याउन सहज हुने बताउँदै ओमनमा कार्यरत नेपाली कामदारका समस्या समाधानमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकालले सम्झौताले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै आपसी हितका लागि दुवै मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

दुवै मुलुकका परराष्ट्रमन्त्री तथा अन्य उच्च अधिकारीको उपस्थितिमा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले सम्झौतापत्रमा हस्ताक्षर गरेक थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमण तथा दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेकोे अवसरमा सो सम्झौता भएको हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै यहाँ आइपुगेकोे हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको थियो ।

प्रधानमन्त्री देउवाको तीनदिने भ्रमणको अन्तिम दिन हिजो यहाँस्थित नेपाली दूतावासले विशेष रात्रिभोजको आयोजना गरेको थियो । भोजमा प्रधानमन्त्री देउवा, नेपाली प्रतिनिधिमण्डलका सदस्य, ओमन सरकारका उच्च अधिकारी, यहाँस्थित विदेशी नियोगका उच्च अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित : आश्विन १२, २०७४ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?