बेलायतको विकासबाट प्रधानन्यायाधीश पराजुली प्रभावित

नविन पोखरेल

लन्डन — पहिलोपटक बेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई यहाँको अद्भूत विकासले प्रभावित पारेको छ । दुई सातायता बेलायत रहेका उनले शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा आफ्नै सम्मानमा आयोजित कार्यक्रममा बेलायतको विकास र कानुनी शासनको खुबै प्रशंसा गरे ।

बेलायतको विकासबाट प्रधानन्यायाधीश पराजुली प्रभावित

‘म विश्वका कयौं मुलुक घुमेको छु । ब्रिटेनको अद्भूत विकास, मानव सभ्यताको चरमोत्कर्ष अवस्था, चमत्कारिक आविष्कार सबैको एउटै सारगर्भिक तत्व कानुनी शासन र विधिको सम्मान हो’, उनले भने, ‘विधि र विकास एक अर्काका परिपूरक हुन् । यी कुरा भएमात्र देश विकास हुन्छ । नेपालीले त्यही अपेक्षा गरेका छन् ।’

सेन्ट्रल लन्डनको एउटा पिलरमा ‘किङडम अफ नेपाल’ देख्दा गौरव लागेको बताउंदै उनले विश्वको विकराल स्थितिमा बेलायतलाई बचाउन नेपालीको भूमिका इतिहासमा कहिल्यै नमेटिने बताए । त्यो नेपालीका लागि गौरव गाथा रहेको उनको भनाइ थियो ।

‘हिजोभन्दा आज नेपाल भिन्न छ । सबै जतजाति सम्प्रदाय, दूरदराजमा रहेका र भूगोलबाट पिछडिएकाहरुलाई समेट्ने नयां संविधान निर्माण भएको छ’, पराजुलीले भने, ‘हाम्रो संविधान समावेशीमात्र होइन, नागरिकलाई दिइएको अधिकार र कर्तव्यको सन्दर्भमा ठूला प्रजातान्त्रिक मुलुकका तुलनामा समेत अत्यन्त उत्कृष्ट छ । अब सबै नेपालीहरु नेपालभित्रै अट्न सक्नेछन्, नेपालकै भूमिमा बसेर हांस्न सक्नेछन् र नेपालमै व्यवसाय गर्नेछन् । जीवन गुजाराका लागि विदेश आउनु पर्दैन । बरु अब कार्यान्वयन पक्ष जरुरी छ ।’

उनले प्रतिवद्धता, राजनीतिक इच्छा, राजनीतिक पार्टीबीच न्यूनतम सहमति, कार्यान्वयन, कानुनको शासन मान्ने प्रवृत्ति र भावना जरुरत रहेको पनि उल्लेख गरे । ‘कानुन उल्लंघनकर्ताको समाज बढिरह्यो भने विकराल अवस्थामा पुग्छ मुलुक’, उनले थपे, ‘नेपालीको चाहना पनि संविधानवाध, कानुनको शासन र विधि र प्रक्रियाभित्र चल्ने वातावरण सृजना होस् भन्ने छ ।’

दुई सय वर्ष देखिको नेपाल ब्रिटेन सम्बन्धबारे चर्चा गर्दै प्रधानन्यायाधीश पराजुलीले गोर्खाहरुले बेलायतलाई लगाएको गुण, नेपालीको भलाइका लागि ब्रिटेनको सहयोग र गरिएका
प्रयत्नहरु सरह्रानीय रहेको बताए । ‘हामी ब्रिटिश सभ्यताको अनुकरण गर्छाैं, ब्रिटिश कमल ल सिस्टम पढ्छौं, नजिरलाई पालना गर्छौं’, उनले थपे, ‘यहांको कानुनमा मानवअधिकार र मानिसले पाउने हक अधिकारका कुरा उल्लेख गरिएको छ । बहुसंख्यकको आवाज समेट्न सक्ने शास्त्र कमन ल सिस्टममा छ ।’

पराजुलीले यही ३ अक्टोबरमा बेलायती लर्ड चिफ जस्टिससंग भेट्ने कार्यक्रम रहेको जनाउंदै भेटमा नेपाल र ब्रिटिश सरकारबीच कानुनी क्षेत्रमा सहयोग आदानप्रदानबारे कुरा उठाउने अवगत गराए ।

प्रकाशित : आश्विन १४, २०७४ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?