कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरात समुदायमा बढ्दै दसैं रौनक

गणेश राई

काठमाडौं — वीरशोभा राईको शिरदेखि गलासम्म गहना झपक्क थियो । श्रीमान् ७५ वर्षीय जगतबहादुर राईले निधारमा रातो टीका लगाइदिए । कपालमा सप्रेको दुबोको मुठो सिउरिदिए । अनि दक्षिणासहित आशीर्वाद दिए ।

किरात समुदायमा बढ्दै दसैं रौनक


भोजपुर दिल्पाका जगतबहादुर बेलायती गोर्खा सैनिक थिए । अवकाशपछि उनी काठमाडौंमा बस्दै आएका छन् । ‘दसैं नमनाएको कुनै वर्ष छैन,’ उनले भने, ‘पल्टनमा त टीका लगाइयो, घरमा किन नलगाउनु ?’ उनले हङकङमा बस्ने छोरी तीर्था, ज्वाइँ रामकृष्णलगायत छोराहरूलाई स्काइपबाट टीका लगाइदिए । सात समुद्रपारिका सन्तानहरू ‘सेवा ढोग’ भन्दै भिडियोमै रमाए ।

कतिपय किरात समुदायले केही वर्षदेखि दसैं बहिष्कार गर्दै आएको छ । कतिपयले भने यसलाई मेलमिलापको पर्वका रूपमा लिँदै मनाउँदै आएका छन् । बहिष्कार गर्ने केही भने पुन: टीका लगाउन थालेका छन् । राई समुदायमा निधारमा सेतो टीका, शिरमा बाबरी फूल र तीतेपाती लगाइदिने चलन छ । ‘हामी पनि पहिला त्यसै गथ्र्यौं,’ जगतबहादुरले भने, ‘वरिपरिका अरूले जसो गर्छन्, त्यसै गर्दा मात्र चाडको रौनक हुँदोरहेछ । त्यही भएर जमरा राख्न थाल्यौं । अबिर किनेर अक्षता रंग्याउन थाल्यौं ।’ लिम्बुवान समुदायमा दसैं बहिष्कारको आन्दोलन चलेको तीन दशक भइसक्यो । यसपटकको दसैंमा लिम्बु गाउँमा मौलो राखेरै राँगाको बलि चढाइएको फोटो सामाजिक सञ्जालमा छाएपछि बहसले नयाँ मोड लिएको छ ।

त्यसरी चाड मनाइएको थलो पाँचथरको फाल्गुनन्द गाउँपालिका १ (साबिक नवमीडाँडा गाविस) मा हो । कांग्रेस नेता भीष्मराज आङदेम्बेले राँगा किनेर उपलब्ध गराएपछि समाज र प्रहरी चौकीका कर्मचारीसहितले फूलपाती मनाउने चलनको निरन्तरता दिएका हुन् । आङदेम्बे परिवार परम्परादेखि सुभांगी खानदानका हुन् । उहिले सुभांगी रहँदा दसैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हान्नुपथ्र्यो । यसपटक पाँचथरमा त्यसो भने गरिएन ।

‘समाजका बुद्धिजीवीमाझ जतिसुकै विरोधको स्वर उठे पनि गाउँघरमा परम्परा हटेको छैन,’ पाँचथर गाउँ पुगेका युवा समाजशास्त्री दिलविक्रम आङदेम्बेले भने, ‘हामी राजधानीमा बसेर पहिचानको कुरा गर्छौं । तर गाउँघर मोफसलका समाजलाई नियाल्न सक्दैनौं ।’ दसैं बहिष्कार गर्नु समाजको विरोध गर्नु र भड्काउनु जस्तै हुने भावना कायमै रहेको उनको अनुभूति छ ।

नेपालको पूर्वी भेगका किराती समुदायमा करिब तीन दशकदेखि ‘दसैं बहिष्कार’ को आन्दोलन चलेको थियो । अचेल अधिकांश किराती गाउँघरमा मौलो गाडेर दसैं मनाउने, टीका लगाउने गरेका छन् । मौलो गाडे पनि गाउँका ठालुको घरमा दाम र कोसेली पुर्‍याउने चलन भने हटेको छ । अहिले पुन: सेतो टीका लगाउने चलन बढेको छ । ‘बौद्धिकहरू हाम्रो चाडपर्व होइन नमनाऔं भन्छन्,’ एक किराती पत्रकार भन्छन्, ‘पहिचानको आन्दोलनमा संलग्नहरू दसैंलाई अझै अस्वीकार गर्छन् । सेतो टीका र कतिले रातै लगाएका छन् । लिम्बुवान भन्नेहरूबीचै समस्या छ ।’

त्यसो त किरात राई समाजमा सुँगुर, राँगा काटेर घरैपिच्छे चाड मनाउने गर्छन् । प्राय: सेतो टीका लगाउने गर्छन् । ‘दसंैको दासताबाट अझै मुक्त हुन चाहँदैन हाम्रो समुदाय,’ कलाकार यासेली योङहाङले फेसबुकमा विभिन्न तस्बिर साभार गरेर भनेका छन्, ‘यो हाम्रो साजिक मुक्तिका लागि सयौं वर्षपछि पर्ने प्रस्ट संकेत हो ।’ उनले पोस्ट गरेका तस्बिरमा सेतो टीकाधारी बाबुले खुट्टा उचालेको र छोरालाई ढोग्न लगाएका छन् । कतिका निधारमा दहीचामलको सेतो टीका देखिन्छ भने कतिले रातो टीका लगाएका छन् । कतिले जमरा नै लगाएका छन् भने कतै कानमा फूल सिउरिएका छन् । त्यसैगरी मोरङबाट राई सम्राटले आफ्नो फेसबुक वालमा गैरहिन्दु धर्मावलम्बीहरूले पनि पहिल्यैदेखि मान्दै आएको चाडका रूपमा दसैंलाई जोडेका छन् । ‘तर यस चाडलाई नमनाउने र बहिष्कार गर्ने पक्षले पनि दसैं मनाए,’ भनेका छन्, ‘राम्रै तरिकाले आलोचनाको आशिषले सामाजिक सञ्जाल भराएको देखियो ।’ ऐतिहासिक तथा धार्मिक मान्यताहरूका प्रसंग जोडेर तथानाम सुनाउनु वा आलोचना गर्नुचाहिँ उत्तम नहुने उनको ठहर छ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजजस्ता संस्था दसैं मनाउने/नमनाउनेबारे मौन छन् । राजनीतिक वृत्तमा भने बहिष्कार गर्दैआएका छन् । कतिले भने सामाजिक सद्भावका निम्ति मनाउन थालेको दाबी गरेका छन् । सरकारले किराती जातिको उँधौली र उँभौली चाडलाई राष्ट्रिय पर्वको मान्यता दिइसकेकाले उग्र विरोधमा उत्रिन नहुने भन्नेहरू पनि छन् ।

किरात इतिहास तथा संस्कृतिका एक अध्येता मञ्जुल याक्थुम्बा दसैं चाड किरातीको नभएको उल्लेख गर्छन् । ‘शाहकाल अगाडि दसैं भन्ने शब्द विलकुल अपरिचित थियो,’ भन्छन्, ‘आर्य जातिले भारतबाट प्रवेश गर्दा आफूसँगै भित्र्याइएको दसैं चाड किरात, लिम्बुवान प्रदेशमा बलात् थोपरिएको हो ।’

मानवशास्त्री डम्बर चेम्जोङ आदिवासी जनजातिहरूमा कतै हिन्दु राज्यकालीन राजा तथा राणाहरूको हैकम र हुकुमका कारण र कतै छिमेकीहरूको सिको गर्नाले दसैं मनाउने परम्पराको थालनी भएको उल्लेख गर्छन् । ‘उदाहरणत: लिम्बुवानमा स्थानीय तहका सत्ताधारी लिम्बू सुब्बाले बलि चढाएर दसैं मान्नैपर्ने हुकुम राजा रणबहादुर शाहको पालामा भएको थियो,’ उनले भने ।

मुन्धुमविद् प्राज्ञ बैरागी काइँलाका अनुसार दसैं जातिगत रूपमा लिम्बूको होइन । ‘संस्थागत रूपमा अमाल–अमाली र सुब्बाहरूको थियो । त्यतिबेला नेपाल सरकारको स्थानीय प्रतिनिधिको हैसियतले दसैंको नीति नियम पालना गरी मनाउनु उनीहरूको बाध्यता थियो,’ काइँलाको कथन छ, ‘लिम्बूहरूको अमाल प्रथा उडेपछि सुभांगी पनि समाप्त भयो । सुभांगीको समाप्तिपछि लिम्बूले मौलोमा मार हान्ने क्रम त्याग्दै गए ।’ सरकारले एकतर्फी रूपमा किपट उन्मूलन गरेर त्यससँग सम्बद्ध सुविधा तोडिदिएपछि दसैं मान्ने र मार हान्ने चलनको अन्त्य भएको ठान्छन् उनी ।

कतिपयले भने दसैंलाई सद्भाव र मेलमिलापको पर्वका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन् । ‘लिम्बूवान मुद्दा उठाउनेहरूले दसैं मनाउनुपर्छ किनकि लिम्बुवान क्षेत्रको सुभांगी प्रथा र दसैं एक अर्काका परिपूरक हुन्,’ सामाजिक सञ्जालमा एकजनाले लेखका छन्, ‘लिम्बुवानमा भएको किपट र सुभांगी प्रथाले लिम्बुहरूलाई विशेष अधिकार दिएर सम्मान गरेको थियो । अहिलेको स्वायत्त लिम्बुवान राज्यको मागको पृष्ठभूमि त्यही स्वायत्त राज्य र विशेषाधिकारसँग गएर जोडिन्छ ।’

कोरियामा रहेकी पत्रकार बाला राईले ‘सम्झनामा दसैं’ आलेखमा लेखेकी छन्, ‘चाडबाडका बेला एक्लै हुनुको पीडा पनि त होला आमालाई । दसैं/तिहारमा सबैका छोराछोरी घर फर्किन्छन् । आफ्नो त एउटी छोरी पनि सात समुद्र पारि छे, चाडपर्वमा आउली भन्ने आस नै नगरे हुन्छ । हरेक चाडपर्व खल्लो लाग्दो हो । नुनिलो आँसुको घुट्को पिउँदै भए पनि चाडपर्वका नाममा पकाइएका मासु र भात जबरजस्ती निल्दी हुन् ।’

प्रकाशित : आश्विन १७, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?