१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वाम एकता अभियानको घोषणा

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल
बालकृष्ण बस्नेत

काठमाडौं — अन्तत: प्रमुख वाम राजनीतिक शक्तिहरू एक ठाउँमा उभिन राजी भएका छन् । एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरूले करिब ५ महिनादेखि थालेको एकता र सहकार्यको अभियानले ठोस आकार लिएको छ ।

वाम एकता अभियानको घोषणा

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले नयाँ शक्ति नेपालसहितलाई लिएर एउटै कम्युनिस्ट पार्टी निर्माणको अभियान मंगलबार घोषणा गरेका हुन् । तत्काललाई यी ३ दलले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष चुनावमा तालमेल गर्ने भएका छन् ।

राजधानीको राष्ट्रिय सभागृहमा भएको घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा बोल्दै शीर्ष नेताहरूले यो अभियान कसैका विरुद्धमा नभई नेपाली जनता र राष्ट्रका पक्षमा हुने साझा अभिव्यक्ति दिए । ‘हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी बीचमा एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं,’ सहमतिपत्रमा भनिएको छ ।  

सहमतिपत्र सार्वजनिक कार्यक्रममा तीनै दलका प्रमुख र अन्य वरिष्ठ नेता प्रसन्न मुद्रामा थिए । सञ्चारकर्मी, तीनै दल आबद्ध नेता/कार्यकर्ता र शुभेच्छुकबीच प्रमुख ३ नेताले एकता अभियानलाई कसैले रोक्न नसक्ने दृढता व्यक्त गरे । एमाले अध्यक्ष ओलीले यो अभियानले हरेक नेपालीको चेहरामा मुस्कान ल्याउने बताए । ‘यो कसैका विरुद्ध छैन, नेपाल राष्ट्र र नेपालीको पक्षमा छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अभियानले हरेक नेपालीको चेहरामा मुस्कान ल्याउनेछ । जनता खुसी हुनेछन् ।’ 

पार्टी एकता अभियान कतैबाट पनि प्रभावित नहुने उल्लेख गर्दै ओलीले भने, ‘पार्टी एकता नेपाली जनताको चाहना हो । यसमा कसैले पनि अर्घेल्याई गर्न‘ हुँदैन । हामी छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्छौं । मैत्रीपूर्ण सम्बन्ध हुनेछ । राष्ट्रसंघको बडापत्रमा उल्लिखितभन्दा एक शब्द पनि तल जाँदैनौं ।’ ओलीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र समृद्धिका लागि एकता अभियानलाई पूर्णता दिनैपर्ने बताए । ओली बोलिरहँदा मञ्चमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल मुस्कुराइरहेका थिए ।  अन्य नेताहरूको मुस्कानसमेतलाई इंगित गर्दै ओलीले भने, ‘अगाडि बस्नुभएका नेताहरूको बडिल्यांग्वेजले नै प्रस्ट पार्छ । अब यो अभियान रोकिँदैन ।’ यो अभियान अन्त्य नभई सुरुवात भएको उनले बताए । स–साना कम्युनिस्ट पार्टीलाई समेत समाहित हुन आग्रह गर्दै ओलीले भने, ‘आ–आफ्नै दाउरा बालेर बस्न छाडिदिनुस् । यो अनेक पार्टीहरू किन चाहियो ? आउनुस् मिलौं ।’

यसपटकको तालमेलसँगै नयाँ शक्ति पार्टीले सूर्य चिह्न लिएर चुनावमा जाने भएको छ । माओवादी केन्द्रले भने प्राविधिक र कानुनी जटिलताका कारण सूर्य चिह्न लिन नसकेको कार्यक्रममा ओलीले बताए । ‘एकीकृत सबै शक्तिलाई सूर्य चिह्नमै समाहित गर्ने प्रयास भइरहन्छ,’ उनले भने । घोषणासभामा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘निरन्तरतामा क्रमभंगता प्रकृतिको नियम हो । आज फेरि त्यो दोहोरिएको छ ।’ शान्ति प्रक्रियामा आएपछि पनि एमालेले माओवादीसँग एकता प्रक्रिया अघि बढाएको, त्यतिबेला एकतासम्बन्धी दस्तावेज तयारसमेत भई असफल भएको पनि उनले बताए । उनले पार्टी एकीकरण वामपन्थी शक्तिहरूसँग भए पनि चुनावी तालमेल भने लोकतान्त्रिक र मधेसवादी समूहहरूसँग समेत हुने जानकारी दिए । ‘एकता अभियान मुलुकको समृद्धिका लागि हो । यसले समाजवादको नयाँ मोडल तयार गर्नेछ । विश्वलाई नयाँ सन्देश दिनेछ,’ दाहालले भने । भट्टराईले कम्युनिस्ट पार्टीबीच एकताले देशलाई केही वर्षभित्रै समृद्धिमा उभ्याउने बताए । ‘दुई तिहाइ बहुमत ल्याई प्रत्यक्ष निर्वाचित कार्यकारी चुन्ने जनताको चाहना हो । त्यसका लागि एकता अभियानले सघाउनेछ,’ उनले भने ।

चुनावपछि एकता 
तीन दलबीच प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात् विधिवत् पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नीति–कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधिहरू सम्मिलित दस्तावेज मस्यौदा समिति गठन हुने भएको छ । चुनावसम्म अन्य दल समाहित भए तिनका प्रतिनिधिसमेत समितिमा हुनेछन् । स–साना कम्युनिस्ट घटक यो अभियानमा सरिक हुने विश्वास नेताहरूले गरेका छन् । 

सहकार्यका लागि अपिल
तीन दलले अन्य शक्तिहरूलाई पनि सहकार्य तथा तालमेलका लागि अपिल गरेका छन् ।  ‘चुनावी तालमेल हामीबीच मात्र होइन । क्षेत्रअनुसार हामी अन्य शक्तिहरूसँग पनि गर्न सक्छौं,’ माओवादी केन्द्र अध्यक्ष दाहालले भने । सहमतिपत्रमा सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई सहकार्य र तालमेलका लागि आह्वान गर्ने उल्लेख छ ।

एमाले ६०, माओवादी ४०

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनमा एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी तालमेल हुने भएको छ । नयाँ शक्ति र अन्य पार्टीलाई सिट मिलाइसकेपछि बाँकी सिटमा त्यस्तो बाँडफाँड हुन लागेको हो । ‘अन्य दललाई पनि 
समेटेपछि बाँकी रहेको सिटमा ६० र ४० प्रतिशत हो,’ कार्यक्रममा ओली र दाहाल दुवैले भने । 

एकताका लागि समिति
एउटै कम्युनिस्ट पार्टी बनाउन ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ । त्यसमा एमालेबाट ४, माओवादी केन्द्रबाट ३ र नयाँ शक्तिबाट १ जना नेता रहनेछन् । उक्त समितिमा एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष प्रमुख नेताहरू रहनेछन् । समितिका निर्णय सहमतिका आधारमा गरिनेछन् । समतिले एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्नेछ । 

आलोचना नगर्ने 
तीनै पार्टीका नेताबीच एकअर्काप्रति नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति भएको छ । पार्टी एकीकरणको वैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आ–आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिए पनि आलोचना गर्न नपाइने सहमति पत्रमै उल्लेख छ । एमाले र माओवादी केन्द्रका नेताबीच बेला–बेलामा एकअर्काप्रति आलोचना र गालीगलौजसमेत हुँदै आएको थियो । 

साझा घोषणापत्र 
तालमेलमा सहभागी दलहरूले दुवै चुनावका लागि साझा घोषणापत्र बनाउने भएका 
छन् । त्यसका लागि तीनै पार्टीका प्रतिनिधि रहेको प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति बनाइनेछ । प्रदेश तहमा समेत संयुक्त घोषणापत्र बनाउन सकिने उल्लेख गर्दै एकता 
अभियानमा सरिक एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘यी काम तत्कालै सुरु हुनेछन् ।’ 

प्रकाशित : आश्विन १८, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?