१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एमाले–माओवादी–नयाँ शक्तिको उम्मेदवार चयन र घोषणापत्र बनाउन दुई कार्यदल

कान्तिपुर संवाददाता

काठमाडौं — चुनावी तालमेल र पार्टी एकीकरणको समझदारी गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन र चुनावी घोषणापत्र बनाउन संयुक्त कार्यदलहरू गठन गरेका छन् ।

एमाले–माओवादी–नयाँ शक्तिको उम्मेदवार चयन र घोषणापत्र बनाउन दुई कार्यदल

तीन दलको पार्टी एकता संयोजन समितिको बुधबारको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ र प्रदेशसभाका प्रत्यक्षतर्फका ३ सय ३० उम्मेदवार चयन गर्न एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ७ सदस्यीय उम्मेदवार चयन समिति गठन गरेको हो । सहमतिअनुसार समितिलाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको छ । समितिमा एमालेका नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ छन् । 

संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन अर्को कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटालाई राखिएको छ ।

तीन दलको पार्टी एकता संयोजन समितिले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार चयन भने आआफ्नै दलका तर्फबाट गर्ने निर्णय गरेको छ । दलहरूले आगामी असोज २९ मा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातवटा प्रदेशसभामा २ सय २० सिट छन् । 

प्रकाशित : आश्विन १८, २०७४ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?