१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

निर्वाचन क्षेत्र बाँडफाडका लागि ६ दलले थाले गृहकार्य

दलमा सहमति जुटेपछि शीर्ष बैठक बसेर औपचारिक घोषणा हुने
कुलचन्द्र न्यौपाने

काठमाडौं — गठबन्धन बनाउन सैद्धान्तिक सहमति जनाएका कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड गर्ने बिषयमा गृहकार्य अघि बढेको हो ।

निर्वाचन क्षेत्र बाँडफाडका लागि ६ दलले थाले गृहकार्य

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन तयार भएका ६ दलले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र बाँडफाँड गर्न बिहीबार गृहकार्य थालेका छन् ।

बुधबार बसेको ६ दलको शीर्ष तहको बैठकले चुनावी तालमेलका लागि सिट फाँडफाँडमा सहमति जुटाउन कार्यदल गठन गरेको थियो । कार्यदलमा रहेका सदस्य राजधानीमा जुट्न ढिलाई भएका कारण बिहीबार बिहानैदेखि बस्ने भनिएको बैठक राति ८ बजेबाट मात्रै सुरु भएको थियो । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, पूर्णबहादुर खडा र मिनेन्द्र रिजाल छन् भने राजपाबाट सर्वेन्द्रनाथ शुक्ल, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपाबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम पाण्डे र फोरम लोकतान्त्रिकबाट गोपाल दहित छन् । कार्यदल सदस्यसमेत रहेका कांग्रेस नेता निधिले कार्यदलमा रहने सदस्यको नाम आउन र राजधानीमा जुट्न ढिलाई भएका बैठक बस्ने ढिलाई भएको बताए । अर्का सदस्य खडकाले पहिलो बैठकमा सैद्धान्तिक बिषयमा मात्रै छलफल भएको बताए । ‘पहिलो बैठक भएकाले सैद्धान्तिक बिषयमा मात्रै छलफल भएको छ,’ उनले भने, ‘जतिसक्दो चाडै सहमति जुटाउन खोज्दैछौ ।’

बृहत लोकतान्त्रिक गठबन्धन निर्माणसँगै अन्तर पार्टी एकता कायम गरी उम्मेदवार चयन गर्ने बिषयमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार पनि बैठक बसेको थियो । बैठकमा प्रतिनिधिसभा, प्रेदश सभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रिय र जनप्रियलाई उम्मेदवार बनाउन सबैजसोले जोड दिएका छन् । स्थानीय तहका चुनावमा उम्मेदवार चयन गर्दा गल्ती गरेकै कारण पार्टी दोस्रो स्थानमा पुगेको विश्लेषण समेत नेताहरुले गरेका थिए । गल्ती दोर्‍याउन नहुनेमा जोड दिदै अधिकांश नेताहरुले उम्मेदवार चयन अघि उम्मेदवारको मापदण्ड र विधि तय गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसले स्थानीय तहमा उम्मेदवार भएकाले प्रदेश सभा, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने बिषयमा पनि शुक्रबार निर्णय लिने भएको छ ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार छनोट गर्दा अपनाउनु पर्ने मापदण्ड र विधि तय गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बोलाईएको बताए । बैठकले उम्मेदवार छनोटको स्पष्ट मापदण्ड र कार्यविधि तय गर्ने जनाउदै बापपन्थी ध्रुविकरणका बिरुद्ध कसरी अघि बढ्ने भन्ने बिषयमा समेत छलफल हुने उनले बताए । ‘लोकतान्त्रिक गठबन्धन बनाउने बिषय चुनावी तालमेलसँग जोडिएको छ,’ पौडेलले भने, ‘कहाँ कुन पार्टीको पोजिसन कस्तो छ भन्ने आधारमा तालमेल गर्नेगरी कार्यदलले गृहकार्य सुरु गरेको छ ।’

लोकतान्त्रिक गठबन्धनमा जोडिन आएका मध्ये राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिको मुख्य जनाधार रहेको क्षेत्र मधेस हो । यद्यपि संघीय समाजवादी फोरमको संगठन भने देशभर नै छ । कांग्रेसले मधेसका निर्वाचन क्षेत्रमा नै चुनावी तालमेललाई प्राथमिकता दिएको छ । स्रोतका अनुसार प्रदेश नम्बरमा कांग्रेसले ५० प्रतिशत आफूले राखेर पचास प्रतिशत गठबन्धनमा सामेल अन्य ५ दलबीच बाँडफाँड गर्नेगरी छलफल अघि बढाएको छ । तर, राजपा, फोरमले पचास प्रतिशत कांग्रेसलाई दिन तयार भईसकेका छैनन् । ‘२ नम्वर प्रदेशमै कांग्रेसले ५० प्रतिशतको हिस्सा खोजेकाले समस्या भईरहेको छ,’ राजपाका एक नेताले कान्तिपुरसंग भने, ‘तैपनि सहमतिको प्रयास जारी छ ।’ ६ दल सम्मिलित कार्यदलले सुरुमा प्रदेश नम्वर २ र त्यसपछि १, ५ र ७ नम्वर प्रदेशमा तालमेल गर्नेगरी छलफल अघि बढाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले कुन जिल्ला कुन पार्टीको प्रभाव कस्तो छ त्यसको आधारमा सिट बाँडफाँड गर्नेगरी तालमेल हुने बताए । ‘मुख्य आधार भनेकै जिल्ला, क्षेत्रमा कुन राजनीतिक दलको स्ट्रेन्थ कस्तो छ त्यसको आधारमा बाँडफाँड हुने हो’ महतले भने, ‘कार्यदलले त्यसैलाई आधार मानेर छलफल चलाएको छ ।’ मधेस बाहेकका अन्य जिल्लामा पनि प्रभाव क्षेत्र हेरेर तालमेल हुने बताए ।

प्रकाशित : आश्विन १९, २०७४ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?