३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘दलगत कूटनीतिबाट माथि उठ्नुपर्छ’

राजदूतहरूको सुझाव
चन्द्रशेखर अधिकारी

काठमाडौं — भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूतहरूले भूराजनीतिको जटिलतामा रहेको नेपालले परराष्ट्र सम्बन्धमा एकै स्वर र समान धारणा बनाउनुपर्ने बताएका छन् । तीन भिन्दाभिन्दै दलबाट सिफारिस भएका राजदूतहरूले दलगत कूटनीतिबाट माथि उठ्नुपर्ने सुझाव पनि दिए ।

 ‘दलगत कूटनीतिबाट माथि उठ्नुपर्छ’

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा उनीहरूले दलपिच्छेको नभई मुलुकको हितमा अडेर कूटनीति सञ्चालन गर्नुपर्ने बताए । 

भारतका लागि राजदूत दीपकुमार उपाध्याय कांग्रेस, चीनका लागि राजदूत लीलामणि पौडेल माओवादी र अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्की एमाले सिफारिसका हुन् । यी तीन मुलुकले नै अबको विश्व कूटनीति र आर्थिक समृद्धिलाई नेतृत्व दिने स्थिति आइसकेकाले नेपालले सबैसित एकमतले सहकार्य गर्नुपर्नेमा उनीहरूको जोड थियो । कतिपय स्थितिमा एक अर्का राजदूतबीच सहकार्य गरेर काम गर्नुपर्नेसमेत उनीहरूले बताए । ‘नेपालले भारत, चीन र अमेरिकामध्ये कुनै एक वा अर्कालाई अन्डरमाइन गर्न मिल्दैन,’ उनीहरूले भने, ‘त्यसमा सचेत भएर अघि बढ्नुपर्छ ।’ 

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बदलिँदो विश्व परिस्थितिअनुरूप नेपालको परराष्ट्र नीतिमा सुधारको थालनीका लागि भन्दै पहिलो चरणमा यी तीन राजदूतलाई बोलाएको हो । राजदूत उपाध्यायले भने, ‘परराष्ट्र मन्त्रालय वैदेशिक मामिला सञ्चालन र कार्यान्वयनको केन्द्र हो, यसलाई बाइपास गरेर अगाडि बढ्न हँुदैन । मन्त्रालयको संरचना पनि त्यहीअनुरूप हुनुपर्छ ।’

राजदूत पौडेलले चीनको आर्थिक विकासबारे उल्लेख गर्दै भने, ‘हामीले बेल्ट एन्ड रोड इनिसिएटिभ्सबाट फाइदा लिन सक्नुपर्छ, चीनसँगको सम्बन्ध र सहकार्यले छिट्टै आर्थिक विकास गर्न सक्छांै, त्यसमा ढिलाइ गर्न हँुदैन । सहयोग गर्न चाहन्छन् भने हामी खुम्चिएर बस्न हुँदैन ।’ 

राजदूत कार्कीले अमेरिका, चीन र भारतले नै अबको विश्वको राजनीतिमा भूमिका खेल्ने भएकाले यसमा ध्यान पुर्‍याउन सक्नुपर्ने बताए । दूतावासहरूमा आलोपालो नभई कूटनीतिक दक्षताका आधारमा पोस्टिङ गर्नुपर्ने र त्यसैअनुरूपको क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । तीनै राजदूतले आफ्नो मिसनका कर्मचारीको मूल्यांकन गर्न नपाउने विषयलाई गुनासोका रूपमा राखेका थिए । 

समितिमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयमा सुधार प्रयास भइरहेको उल्लेख गर्दै ७ दशकदेखि चलिआएको परम्पराबाट माथि उठ्न आवश्यक रहेको बताए । कूटनीतिमा समान धारणा र शक्ति सन्तुलनमै अघि बढ्नुपर्ने बताए र यसका लागि आफूले कार्ययोजना नै ल्याएर काम गरिरहेको उनले जनाए । 

कार्यक्रममा हालै संयुक्त राष्ट्रसंघको महासभाका बेला न्युयोर्कमा भएको कूटनीतिक ल्याप्सबारे पनि जानकारी लिइएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री महरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रात्रिभोजमा जान नपाएको र अमेरिकी राजदूत डेलिगेसनमा नपरेको विषयबारे सोधिएको थियो । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वपरराष्ट्रमन्त्रीहरू डा. रामशरण महत, सुजाता कोइराला र महेन्द्र पाण्डेको उपस्थिति थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईलाई सन्देशसहित पठाएका थिए । 

प्रकाशित : आश्विन २०, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?