निरन्तर पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्धै

माधव अर्याल

पाल्पा — एक साताअघि देखि नै नियमित सवारी साधन सञ्चालनमा आउन नसकेको सिद्धार्थ राजमार्गमा तीन दिनदेखि सवारी साधन आहोरदोहोर गर्न नसक्दा यात्रुले शुक्रबार पनि सास्ती बेहोर्नु परेको छ ।

निरन्तर पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्धै

धुले पहिरो निरन्तर नरोकिएकाले प्रहरीले यातायातका साधन सञ्चालन गर्न रोक लगाउदा यात्रुले ८ किलोमिटर सम्म पैदल यात्रा गरेर गन्तव्यतर्फ हिडेका छन् । पहिरोमासमेत जोखिम मोलेर पैदल वारपार गरिरहेका छन् ।

प्रहरीले वैकल्पिक मार्गका रुपमा नुवाकोटबाट बुटवल जान लगाएपनि सडकमा पहिरोका कारण यात्रुहरु बीचबाटोमा अलपत्र परेका छन् । छहराबाट अर्घाखाँची गएर बुटवल जाने सवारीसाधनसमेत ह्वात्तै बढेको छ ।
राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहित पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

दोभान प्रहरी चौकीदेखि ५ सय मिटर अगाडि राजमार्ग बन्द हुनेगरी ठूलो र धुले पहिरो निरन्तर खसेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाएपनि जतिसुकै बेला सवारी साधन र यात्रुलाई ढुंगाले लाग्न सक्ने भएकाले सवारी साधनलाई सञ्चालन गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : आश्विन २०, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?