कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सामुदायिक विद्यालयमा अभाव नै अभाव

मेनुका ढुंगाना

अछाम — पञ्चदेवल विनायक नगरपालिका-३ मा रहेको पञ्चदेवल आधारभूत विद्यालयमा एक वर्ष अगाडि फेडो अछाम र साविकको विनायक गाविसको आर्थिक सहयोगमा २ लाख ५० हजार रुपैयाँमा ३ वटा पिउने पानीको धारा, २ वटा हातमुख धुने र सरसफाइ गर्ने धारा त्यसैगरी २ वटा शौचालयमा प्रयोग गर्ने गरी ७ वटा धारा निर्माण गरियो ।

सामुदायिक विद्यालयमा अभाव नै अभाव

वर्षायाममा एक घण्टा टाढाबाट पानी बोकेर निर्माण गरिएको धारामा अहिलेसम्म पानी नआउँदा खानेपानीको चरम अभाव भएको विद्यालयकी प्रधानाध्यापक द्रोपती अधिकारीले बताइन् । 

कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ४५ जना विद्यार्थी छन् ।गाउँभरीका मान्छेले खानेपानी विद्यालयमा ल्याउन सहमति जनाएर धारा निर्माण गरे पनि पानी विद्यालयसम्म ल्याउन कसैले पहल नगरेको अधिकारीले बताइन् ।

‘सबैको सहमतिमा ७ वटा धारा निर्माण गरिए , अहिले पानी ल्याउनु पर्छ भनेर कसैले वास्ता गर्दैनन्, अधिकारीले भनिन्, ‘गाउँका हुनेखानेले छोराछोरी निजि विद्यालयमा पढाउछन् ,सामुदायिक विद्यालयमा सबैले हर्ने नजर नै फरक छ ।’

यस्तै पूर्ण आधारभूत विद्यालय अछाम जिल्लाको नमुना विद्यालय अन्तर्गत पर्दछ । विनायकदेखि तोली हुँदै कालेकाडा जोड्ने सडकबाट झट्ट हेर्दा वरिपरि फूलबारी, निकै रमाइलो वातावरण बालमैत्रि धाराले निकै शोभनीय देखिने पूर्ण आभारभूत विद्यालय शैक्षिक क्षेत्रको भ्रमण केन्द्र बनेको छ । २ वटा शौचालय र २ वटा धारा बालमैत्री छन् तर धारामा भने पानी आउँदैन । विद्यालयमा धारा जडान गरिसकेपछि पानी ल्याउन पटकपटक प्रयास गर्दा पनि काम अधुरो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश रावतले बताए ।

‘बाहिर आक्रर्षक छ,  बालमैत्री शिक्षण सिकाई  र यहाँको प्रशासनिक क्रियाकलापले सबैले राम्रो भएर नमुना विद्यालय घोषणा गरियो तर खानेपानी छैन,' अध्यक्ष रावतले भने । वर्षाको समयमा नै पानीको अभाव हुने भएकाले पठनपाठन प्रभावित हुने गरेको उनको भनाइ छ । 

उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्मका ७ जना विभिन्न खालका अपांगता भएका विद्यार्थीहरुलाइ झन् समस्या भएको विद्यालयका प्रधानाध्यापक डबलबहादुर शाहीले बताए । 'अरु विद्यार्थी घरमा गएर, नजिकैको पसलमा गएर शौचालय र चर्पीको प्रयोग गर्छन् तर अपांगता भएका विद्यार्थी जान नसक्ने भएकाले समस्या छ,' शाहीले भने । विद्यालयमा शैक्षकी सामाग्रीको अभाव, व्यास्थापन पक्ष फीतलो भएका कारण पढाइ प्रभावकारी हुन नसकेको उनको ठहर छ । ‘नमुना विद्यालयमा भनेर सबै क्षेत्रका शिक्षक विद्यार्थी भ्रमण गर्न आउँछन् तर विद्यालयमा धारा बनेका छन् पानी आउँदैन,' शाहीले भने ।

उता पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानमा रहेको क्रृषीकुल माध्यामिक विद्यालयको भवन जिर्ण बन्दै गएपछि पठनपाठनमा समस्या भएको छ । १० कक्षा सम्म पढाइ हुने विद्यालयमा ३८० जना विद्यार्थी भर्ना भएका छन् तर विद्यालयमा नियमति आउने विद्यार्थीको संख्या १०० पनि छैन । २०३२ सालमा ४ कोठे भवन निर्माण भवन निर्माण भएको विद्यालय ०७३ को वर्षामा भत्किएर जिर्ण बनेको छ । विद्यालयको भवन पुन निर्माणको लागि पटक पटक जिल्ला शिक्षा कार्यालयमा विद्यालय व्यावस्थापन समितिको निर्णय लिएर माग गर्न गए पनि आफ्नो विद्यालय छनौटमा नपर्ने गरेको विद्यालयका प्रधानाध्यापक ध्रुव शाहीले बताए  । 

वर्षाको समयमा पढाइ नै रोक्नु पर्ने अवस्था आएको र यसपटकको वर्षामा १ र २ को कक्षा पूर्ण रुपमा भत्किएको शाहीले बताए । २ वटा शौचालय र २ वटा धारा भएको क्षेत्र  मध्यपहाडी राजमार्गमा पर्ने भएकाले अहिले शौचालय र धारा भत्काउँदा विद्यालय पानी र शौचालयविहीन भएको छ । ‘वर्षाको समयमा विद्यार्थी नै आउँदैनन्,' प्रधानाध्यापक शाहीले भने,‘ पढाउँदै गर्दा गत वर्ष कक्षा २ को कोठा भत्किएको हो । त्यसपछि पानी परेको दिन विद्यार्थी डरले आउँदैनन् ।’

अधिकांश विद्यालयमा शैक्षिक सत्रको अन्त्यतिर मात्र पुरा पाठ्यपुस्तक पुग्ने, राजैनितिक पहुँचको आधारमा राम्रा भन्दा हाम्रा शिक्षकहरुलाइ नियुक्त गर्ने, विद्यालयले विद्यार्थी, शिक्षा कार्यालय, शिक्षा कार्यालयले अभिभावक, अभिभावकले शिक्षकलाई दोषी देखाउने र आफ्नो बचाउ गर्ने मात्र भएकाले सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था ओरालो लाग्न थालेको सरोकारवाला बताउँछन् ।

पञ्चदेवल आधारभूत र पुर्ण आधारभूत विद्यालयमा मात्र नभइ जिल्लाका धेरै जसो विद्यालयकोअवस्था एकैनासको रहेको स्थानीयले बताएका छन् । सदरमुकाममा रहेको शोडषा माध्यामिक विद्यालय, राधा माध्यामिक विद्यालय, शिव निवास आधारभूत विद्यालय, ज्ञानद्वीप आधारभूत विद्यालय, जाल्पा आधारभूत विद्यालयदेखि दैलेखसँग सिमाना जोडिएको पूर्वी अछाममा पर्ने कालिकेश्वर मध्यामिक विद्यालय लगायतका विद्यालयमा पानीको अभाव, विषयगत शिक्षकको अभाव, शैक्षिक सामाग्रीको अभाव छ । 

प्रकाशित : आश्विन २०, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?