१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गठबन्धनमा बस्ने गच्छदारको निर्णयले लोकतान्त्रिक फोरममा विवाद

पार्टी एकीकरण बेलाको सहमति कार्यान्वयन नभएकोमा नेताहरुको आक्रोश
टीकाराम तामाङ

काठमाडौं — विजयकुमार गच्छदारले पार्टीभित्र सल्लाह नै नगरी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने निर्णय लिएको भन्दै नेपाल लोकतान्त्रिक फोरममा विवाद बढेको छ । पछिल्लो समय एकता प्रक्रियामा आएका राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), थरुहट तराई पार्टी, दलित जनजाति पार्टी, नागरिक पार्टी, शान्ति पार्टी, लिबरल डेमोक्र्याटिक पार्टीका नेताहरु असन्तुष्ट बनेका हुन् ।

गठबन्धनमा बस्ने गच्छदारको निर्णयले लोकतान्त्रिक फोरममा विवाद

विजयकुमार गच्छदारले पार्टीभित्र सल्लाह नै नगरी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने निर्णय लिएको भन्दै नेपाल लोकतान्त्रिक फोरममा विवाद बढेको छ ।

पछिल्लो समय एकता प्रक्रियामा आएका राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), थरुहट तराई पार्टी, दलित जनजाति पार्टी, नागरिक पार्टी, शान्ति पार्टी, लिबरल डेमोक्र्याटिक पार्टीका नेताहरु असन्तुष्ट बनेका हुन् । पार्टी अध्यक्ष गच्छदारको कार्यशैलीप्रति असहमति जनाउँदै उनीहरुले बिहीबार डाकिएको बैठक समेत बहिष्कार गरेका थिए । असन्तुष्टमध्येका एक नेताले भने, ‘पार्टी लोकतान्त्रिक भन्ने तर नेतृत्वको व्यवहार तानाशाही देखियो, त्यसैले हामी बैठकमा गएनौं ।’

बैठक बहिष्कार गर्नेमा तत्कालीन जनमुक्ति पार्टीका नेता एवं लोकतान्त्रिक फोरमका सहअध्यक्ष शिवलाल थापा तथा, फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरी, नेता रामजनम चौधरीलगायत छन् । कांग्रेस नेतृत्वमा बन्ने लोकतान्त्रिक गठबन्धनको कार्यदल सदस्य छनौटका लागि बिहीबार अध्यक्ष गच्छदारले पार्टी शीर्ष नेताहरुको बैठक डाकेका थिए । गच्छदारले केही मन्त्री र नेताको उपस्थितिमा गठबन्धन कार्यदलमा गोपाल दहितलाई पठाएका छन् । दहित अहिलेका भूमिसुधार मन्त्री समेत हुन् ।

लोकतान्त्रिक फोरमका प्रमुख सचेत चौधरीले भने आफू अन्यत्र कार्यक्रममा परेकाले अध्यक्षले डाकेको बैठकमा नगएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीभित्र असन्तुष्टि चर्कै रहेको स्वीकार गर्दै तत्काल गम्भीर छलफल गरेर व्यवस्थापन गर्नुपर्ने बताए । सहअध्यक्ष शिवलाल थापाले भने भोलि शनिबारका लागि बोलाइएको दलको बैठकमा समेत नजाने बताए । उनले भने, ‘भोलि दलको बैठक बोलाइएको भन्ने सुन्छु, त्यसमा म जान्नँ ।’तत्काल पार्टी नेतृत्वबाट सच्चिने प्रतिबद्धता आउनुपर्ने उनको माग छ ।

एकीकरण बेलाको सहमति कार्यान्वयन नभएकोमा पनि असन्तुष्टि

असन्तुष्ट पक्षले गठबन्धनमा जोडिने अध्यक्षको निर्णयको मात्रै विरोध गरेका छैनन्, पार्टी एकीकरणको बेला भएका लिखित, अलिखित सहमति पालना नगरेको भन्दै आक्रोश पोखेका छन् । एकीकरणमा आएका पार्टी नेतालाई जिम्मेवारीविहीन बनाएको, मन्त्री छनोटमा पक्षपात गरेको, पार्टीको नाममा नेपाल लोकतान्त्रिक फोरम जोडेको जस्ता आरोप उनीहरुको छ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), दलित जनजाति पार्टीबीच गत चैत २३ गते एकीकरण भएर नेपाल लोकतान्त्रिक फोरम गठन भएको थियो ।

एकीकृत हुने बेला पार्टीको नाम नेपाल लोकतान्त्रिक पार्टी राख्ने, एकीकरणमा आएका पार्टीका अध्यक्ष सहअध्यक्ष रहने र अन्य पदाधिकारी पूर्ववत् पार्टीको मर्यादामा रहने, मन्त्री छनोटमा लोकतान्त्रिक फोरमपछि जनमुक्ति पार्टीका नेतालाई प्राथमिकता दिनेलगायतका थिए । तर, गच्छदारले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा मन्त्री बनेका जीतेन्द्रनारायण देव र गोपाल दहितलाई नै शेरबहादुर देउवा सरकारमा दोहोर्‍याएका छन् । ‘सुरुको सहमति लत्याएर मन्त्री छानियो, पछि हामीलाई प्रदेश-२ को चुनावपछि फेर्छौं भन्नुभयो, तर त्यो सहमति पालना भएन’असन्तुष्ट एक नेताले भने, ‘चुपचाप, जे मन लाग्यो त्यही गर्ने ? ।’

स्रोतका अनुसार अहिले पर्यटनमन्त्री रहेका देव र भूमिसुधार मन्त्री दहितले आफूहरुलाई मन्त्रीबाट फर्काइए एमाले, माओवादी केन्द्रमा प्रवेश गर्ने संसदीय दलको बैठकमै धम्की दिएपछि अध्यक्ष गच्छदार हच्किएका हुन् ।

प्रकाशित : आश्विन २०, २०७४ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?