१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेसको ठहर-माओवादीले तीनबुँदे सहमति तोड्यो

कुलचन्द्र न्यौपाने

काठमाडौं — कांग्रेसले सरकार गठबन्धनमा रहेको माओवादी केन्द्रले हठात रूपमा एमालेसँग चुनावी तालमेल गरी सरकार निर्माणका बेला भएको तीन बुँदे राजनीतिक सहमति तोडेको ठहर गरेको छ ।

कांग्रेसको ठहर-माओवादीले तीनबुँदे सहमति तोड्यो

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले भनेको छ, ‘एमाले र माओवादी केन्द्रबीच भएको ६ बुँदे सहमतिले सरकारको वर्तमान गठबन्धन निर्माण गर्दा भएको ३ बुँदे सहमति तोडेको यो बैठक ठहर गर्छ ।’

सरकार निर्माणका बेला कांग्रेस, माओवादी र मधेस केन्द्रित दलबीच संविधान संशोधनसहितको तीनबुँदे सहमति भएको थियो । तर संविधान सशंोधनको मुद्दा पार नलाग्दै गठबन्धन तोडिएको भन्दै कांग्रेस माओवादी केन्द्रप्रति आक्रोशित बनेको छ । सरकार निर्माणका बेला भएको सहमति तोडिए पनि माओवादी केन्द्रलाई सरकारबाट अलग गराउने या नगराउने भन्ने विषयमा भने बैठकले केही बोलेको छैन । कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले माओवादीका मन्त्रीलाई हटाउने या मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय नउठेको बताए । कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न हुने निर्णयसमेत लिएको छ ।

कांग्रेसले एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा ध्रुवीकरणतर्फ धकेल्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने निष्कर्ष निकालेको छ । ‘संविधान कार्यान्वयन, राष्ट्रिय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई समृद्धि र विकासको मार्गमा अघि बढाउनेभन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै’ कांग्रेसको निर्णयमा छ, ‘लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावसमेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँदै आएको एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा ध्रुवीकरणतर्फ धकेलेको छ ।’

वर्तमान कम्युनिस्ट गठबन्धनले राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाएको ठहर गर्दै कांग्रेसले विधिको शासनमा आधारित पद्धतिमार्फत त्यस्तो गठबन्धनको दृढताका साथ सामना गर्ने निर्णयसमेत गरेको छ । ‘शान्ति प्रक्रियाबाट विकसित नेपालको राजनीतिक सहमति, सहकार्य र मेलमिलापको कार्यदिशाबाट दिगो शान्ति, राजनीतिक स्थिरिता र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ,’ कांग्रेसले भनेको छ, ‘विकसित परिस्थितिबाट विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेवारीका साथ अघि बढ्न प्रतिबद्ध छ ।’

कांग्रेसले कम्युनिस्ट गठबन्धनसँग जुध्न समान सोच राख्ने सबैसँग सहकार्य गर्ने निर्णयसमेत लिएको छ । कांग्रेसले भनेको छ, ‘देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिहरूका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकताअनुसार चुनावी तालमेल गरी अघि बढ्ने
निर्णय गर्दछ ।’

यसैबीच कांग्रेसले समानुपातिकतर्फबाट सांसद बनेकालाई अपवादबाहेक पुन: त्यही सुविधा नदिने गरी उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । कांग्रेसको यो निर्णयले समानुपातिक प्रतिनिधित्व गर्ने सांसदले अब प्रदेशसभा या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्नुपर्नेछ । तर, अपवादबाहेक भन्ने शब्द राखेर कांग्रेसले केहीलाई दोहोर्‍याउन सक्ने बाटो भने खुलाएको छ ।

स्थानीय तहमा प्रमुख/उपप्रमुखका उम्मेदवार भएकाले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार बन्न नपाउने भएका छन् । साथै स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध बागी हुने, बागी उम्मेदवारको प्रस्तावक र समर्थक हुनेलाई पनि उम्मेदवार नबनाइने निर्णय कांग्रेसले गरेको छ । उम्मेदवारको मापदण्डको प्रस्ताव महामन्त्री शशांक कोइरालाले बैठकमा राखेका थिए । त्यसलाई बैठकले सर्वसम्मत निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

कांग्रेसले असोज २७ भित्रै प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने निर्णय लिएको छ ।

देउवाले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवार छनोट गर्न आधिकारिक निकाय संसदीय समिति चाँडै नै बनाउने घोषणासमेत बैठकमा गरेका छन् । बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग परामर्श गरी संसदीय समिति गठनका लागि सभापति देउवालाई अधिकार दिइएको निर्णय गरेको छ ।

बैठकमा लोकतान्त्रिक गठबन्धन निर्माण गर्नेगरी चुनावी तालमेलका लागि सहमति जुटाउन गठित कार्यदलका सदस्य पूर्णबहादुर खडकाले चुनाव जित्न सक्नेलाई ६ दलको सामूहिक उम्मेदवार बनाउने गरी छलफल अघि बढेको जानकारी गराएका थिए ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले तत्काल लोकतान्त्रिक गठबन्धनलाई औपचारिकता दिएर चुनावी माहोलमा पार्टी एकढिक्काका साथ होमिनुपर्ने बताए । उनले पार्टीभित्रको आन्तरिक झैझगडा अन्त्य गरेर चुनावमा जानुपर्ने बताए । केन्द्रीय सदस्य एनपी सावद र गगन थापाले लोकतान्त्रिक गठबन्धन निर्माण किन गर्ने भन्नेबारे पार्टीले स्पष्ट दृष्टिकोण ल्याउनुपर्ने बताए ।

प्रकाशित : आश्विन २१, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?