१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कांग्रेसलाई एमाले–माओवादीको चेतावनी : ‘चुनाव प्रभावित हुने गतिविधि नहोस्’

एमालेकरण वा माओवादीकरण हुने भन्दा पनि दुबै दल क्रान्तिकारी बनेर एकताबद्ध भइ जान तयार भएको नेता श्रेष्ठको भनाइ
दुर्गा खनाल

काठमाडौं — चुनावी तालमेलसहित एकता प्रक्रियामा जुटेका एमाले र माओवादी केन्द्रले बामपन्थी गठबन्धनबाट नअत्तालिन र चुनाव प्रभावित हुने गतिविधि नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् । कांग्रेसले लोकतन्त्र नै खतरामा परेको र मुलुकमा अधिनायकवादी व्यवस्था ल्याउने प्रयासको रुपमा बामपन्थी गठबन्धनप्रति टिप्पणी गरेपछि दुबै दलले उसलाई जवाफ दिएका हुन् ।

कांग्रेसलाई एमाले–माओवादीको चेतावनी : ‘चुनाव प्रभावित हुने गतिविधि नहोस्’

एमाले र माओवादी केन्द्र दुबैको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा कांग्रेसले गरेको टिप्पणीमाथि समिक्षा भएका थिए । 

गठबन्धन बनाउने सहमतिपछिको अवस्थाबारे समिक्षा गर्न शनिबार एमाले स्थायी समिति र माओवादी केन्द्रको संसदीय दल एवं पोलिट व्यूरोका बैठक  बसेका थिए । 
एमाले बैठकले  कांग्रेसबाट आएको टिप्पणी उत्तेजक र अराजनीतिक खालको भएको भन्दै यही बहानामा चुनाव प्रभावित हुने खालका गतिविधि नगर्न चेतावनी दिएको छ । ‘काग्रेस अत्तालिएको जस्तो गरेर अनुचित टिप्पणी गरिरहेको छ’ बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘लोकतन्त्र नै खतरामा पर्‍यो भन्ने ढंगको टिप्पणी गर्नु आपत्तिजनक छ र यही बहानामा चुनावलाई अन्योल पार्ने खालका गतिविधि नहोस् भन्ने हाम्रो बैठकको निष्कर्ष छ ।’ विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने र त्यही बाटोमा जाने प्रयासस्वरुप एकता प्रक्रियामा अघि बढेको उल्लेख गर्दै एमालेले यसलाई अनिष्ठको संकेतको रुपमा टिप्पणी गर्नु हतास मानसिकताको उपज भएको ठहर गरेको छ ।

माओवादीको संसदीय दल र पोलिटब्यूरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेसबाट आएको टिप्पणीप्रति आपत्ति जनाउँदै गठबन्धन कसैका विरुद्ध नभएको बताए । ‘हाम्रो समिकरण कसैका विरुद्ध होइन, बैचारिक रुपमा एउटै धारमा रहेका दल मिल्दा नै मुलुकको हित हुन्छ’ अध्यक्ष दाहालले पोलिटब्यूरो बैठकमा भने,‘एमाले–माओवादी एकताले तत्काल न त साम्यवादी व्यवस्था आउने हो न अधिनायकवादी व्यवस्था नै ।’ शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाटै अघि बढ्ने उल्लेख गर्दै दाहालले यसमा कुनै भ्रम नराख्न आग्रह गरे ।

बामपन्थी गठबन्धनप्रति आलोचनात्मक टिप्पणी गरेकाले काँग्रेसबाट चुनाव प्रभावित पार्ने गतिविधि हुने हो कि भन्ने आशंका माओवादी बैठकमा नेताहरुले व्यक्त गरेका थिए । संसदीय दल र पोलिटब्यूरो दुबै बैठकमा अध्यक्ष दाहालले सरकारलाई दिएको समर्थन कायमै राख्ने जानकारी आफूले प्रधानमन्त्रीले दिएको उल्लेख गर्दै यसभन्दा अन्यथा ढंगबाट अघि नबढ्न चेतावनी दिएका थिए । 

‘हामी सरकार ढाल्न चाहदैनौं, हामीले दिएको समर्थन जारी छ, यही सरकारले चुनाव गराउनुपर्छ’ अध्यक्ष दाहालले भने,‘यसभन्दा अन्यथा ढंगबाट जानु हुँदैन ।’ काग्रेस बृत्तभित्र माओवादीले विपक्षी दलसँग गठबन्धन गरेपछि उसका मन्त्रीहरुलाई हटाएर आफू अनुकूल मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बहस पनि चलिरहेको छ । यही बहसलाई लक्षित गर्दै एमाले स्थायी समिति बैठकले पनि सरकार परिवर्तन गर्ने, चुनावलाई अप्ठेरो पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ । निर्वाचन प्रक्रिया अघि बढीसकेको सन्दर्भमा  मन्त्रिहरु हटाउने, नयाँ मन्त्री नियुक्ति गर्ने लगायतका काम हुन नसक्ने भन्दै एमालेले निर्वाचनको आधारभूत मुल्यमान्यताको ख्याल गर्न कांग्रेसलाई भनेको छ ।

दुबै दलका बैठकले गत साता भएको सहमति अनुमोदन गर्दै त्यस अनुसारको प्रक्रिया विथोल्ने र कमजोर पार्ने गतिविधि नगर्न आफना कार्यकर्तापंक्तिलाई सजग बनाउने निर्णय गरेका छन् । 

माओवादी पोलिटब्यूरो बैठकमा राजनीतिक प्रशिक्षण समेत दिँदै अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महाराले एउटै कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यमा पुग्ने ऐतिहासिक प्रयास भएको भन्दै यसलाई अन्यथा नलिन आग्रह गरे । ‘हाम्रा आफ्नै मान्यता छन् यसमा अडिएर एकता हुदैन, एमाले र माओवादी दुबैले बहसको प्रक्रियाद्वारा क्रान्तिलाई विकशित गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं’ अध्यक्ष दाहालले भने,‘वैचारिक, राजनीतिक कार्यदिशामा एकरुपता कायम गरेर नयाँ पार्टी निर्माण गर्ने हाम्रो संकल्प हो ।’ उनले चुनावी तालमेलको प्रस्ताव लिएर आएको एमालेलाई पार्टी एकताकै प्रस्ताव आफूले राखेको जानकारी दिए । ६०/४० प्रतिशतको भागबन्डा सहित तालमेलको कुरा गर्न खोजेको एमालेलाई एकताकै सम्भावनाबारे कुरा गरेपछि एकता प्रक्रिया अघि बढ्ने बाटो तयार भएको दाहालले उल्लेख गरे । 

नेता नारायणकाजी श्रेष्ठले चुनावी तालमेल मात्र नभइ एकताकै कुरा भएकाले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे । एमालेकरण वा माओवादीकरण हुने भन्दा पनि दुबै दल क्रान्तिकारी बनेर एकताबद्ध भइ जान तयार भएको श्रेष्ठले उल्लेख गरे । माओवादी एमालेमा विलय हुन लागेको र एमालेले माओवादी रुप लिएको भन्ने दुबै खालका टिप्पणी गलत रहेको श्रेष्ठको भनाइ थियो । अर्का नेता रामबहादुर थापाले कसैले नसोचेको र नचिताएको निर्णय कम्युनिष्ट पार्टीहरुले गरेको उल्लेख गर्दै यसलाई सफल बनाउनुपर्ने बताए । माओवादीले क्रान्तिका उपलब्धि जोगाउने र आफनो कार्यभार पुरा गर्न निकै ठूलो जोखिम मोलेर यस्तो निर्णय गरेको उनको भनाई थियो । नेता महराले एकता गर्नुअघि बैचारिक रुपमा मिलाउनुपर्ने कुरा धेरै रहेकाले यसमा व्यापक छलफल हुनुपर्ने उल्लेख गरे । 

माओवादी बैठकमा केही नेताहरुले पार्टीको भविष्यसँग जोडिएको यॉति ठूलो निर्णय गर्दा पनि थाहा नभएको गुनासो गरेका थिए । त्यो असन्तुष्टिलाई अध्यक्ष दाहालले सम्बोधन गर्ने प्रयास गरे । छिटो निर्णयमा पुग्नुपर्ने अवस्थाका कारण पार्टीभित्र छलफल गरेर निर्णय गर्न नसकिएको दाहालले स्पष्टीकरण दिए । उनले यो निर्णय सही भएकाले यसलाई धेरै आशंका नगर्न र केही प्रक्रियागत कमजोरी भए त्यसलाई सच्चाएर अघि बढ्न सकिने बताए । गोपाल किरातीलगायत नेताहरुले वामपन्थी गठबन्धन र एकताको निर्णयप्रति आपत्ति जनाइरहेका छन् । किरातीजस्तै तल्लो तहका केही नेताहरुले पनि असन्तुष्टि जनाएपछि दाहालले राजनीतिक प्रशिक्षणका क्रममा स्पष्ट पार्ने प्रयास गरेका हुन् । 

प्रकाशित : आश्विन २१, २०७४ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?