मूर्ति हराउँछन् भेटिँदैनन्

लीला श्रेष्ठ

भक्तपुर — मध्यपुर थिमी नगरपालिका दिगुटोलबाट २०७२ पुस २ गते राति १७ औं शताब्दीको ऐतिहासिक दिगु भैरव मन्दिरको मूर्ति चोरी भयो । मध्यपुर थिमीको मूल देवताका रूपमा पुजिँदै आएको दिगु भैरव अर्थात् चन्द्र भैरव मन्दिरको सुनको जलप लगाएको धातुको मूर्ति चोरी भएको दुई वर्षसम्म पनि फेला पर्न सकेको छैन ।

प्रत्येक वर्ष मनाउने थिमीको मुख्य बिस्केट जात्रा सुरु गर्न दिगु भैरवको साधना नगरी बालकुमारी जात्रासमेत सञ्चालन नहुने प्रचलन अनुसार मूर्ति हराएको ४ महिनापछि नयाँ मूर्ति प्रतिस्थापन गरी जात्रा सञ्चालन गरियो । तर, हराएको मूर्ति खोजी कार्यमा कसैको ध्यान गएन ।

२०७३ वैशाख २८ गते राति भक्तपुर नगरपालिका सूर्यमढीस्थित ब्रम्हायणी मन्दिरबाट दुइटा ढलौटको मूर्ति चोरी भयो । ब्रम्हायणी मन्दिरको तीनतले गुठी भवनको दुई तलामा रहेको चार हात भएको ढलौटका दुइटा मूर्ति चोरी भएको डेढ वर्ष हुँदा पनि फेला पार्न सकेका छैनन् । मध्यपुर थिमीमा दुई वर्षयता ऐतिहासिक पाँच मूर्ति चोरी भएको स्थानीय प्रदीप श्रेष्ठले बताए । गत वर्ष मध्यपुर थिमी नगरपालिकास्थित सिद्धिकाली मन्दिर, मध्यपुर थिमी बामुने टोलको गणेश मन्दिर अगाडिको सिंहको प्रतिमा, मध्यपुर थिमीस्थित ताह द्यो अर्थात् गौरीशंकर भवानी मन्दिरको चारैतिरको मूर्ति चोरी भएको छ । ताह द्यो मन्दिरको हराएको मूर्तिको ठाउँमा सम्बन्धित निकायले प्रतिमासमेत स्थापना गर्न नसक्दै भूकम्पका कारण मन्दिर जीर्ण बन्यो । ताह द्यो मन्दिर पुनर्निर्माण कार्य भइरहेको छ भने हराएका मूर्तिको आसनमा नयाँ मूर्ति प्रतिस्थापन गर्ने स्थानीय अर्जुन श्रेष्ठले बताए ।

गत वर्ष नै मध्यपुर थिमी लोकन्थलीबाट सिद्धिगणेशको एक फिट अग्लो ढलौटको मूर्तिसहित चाँदीका सिक्का हराए । मध्यपुरथिमीका अधिकांश मन्दिरका मूर्ति चोरी भएर सकिने स्थितिमा पुगेको स्थानीयवासी बताउँछन् । ‘थिमीका ऐतिहासिक महत्त्वपूर्ण मूर्तिहरू चोरी भएका छन्,’ स्थानीय गणेशराम लाछीले भने, ‘मन्दिरको टुँडालमा रहेका काठ, माटोको मूर्तिसमेत चोरी भएका छन् ।’

सम्पदा संरक्षणमा प्रहरी प्रसाशन मौन रहेको समेत उनले बताए । हालसम्म केकति मूर्ति हरायो भन्ने तथ्यांक न पुरातत्त्व विभाग, नगरपालिकासँग छ, न त प्रहरीसँग नै छ । जिल्लाकै सानका रूपमा रहेको ऐतिहासिक, पुरातात्त्विक सम्पदा संरक्षणको अभावमा पुरातात्त्विक मूर्तिहरू हराउँदै गएको इतिहासविद् तथा सम्पदा संरक्षणकर्मीहरू बताउँछन् । ‘पुरातात्त्विक सम्पदाको संरक्षणमा बसेको पुरातत्त्व विभागले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा हराएका मूर्ति फेला पर्न सकेको छैन,’ इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘सम्पदा संरक्षणमा स्थानीयवासी, नगरपालिका, पुरातत्त्व विभाग, प्रहरीलगायतको उत्तिकै चासो हुन जरुरी छ ।’

नेपालबाट हराएका अधिकांश मूर्तिहरू युरोप, अमेरिकाको संग्रहालयमा संग्रहित रहेको सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी बताउँछन् । ‘शताब्दीऔं पुराना (मन्दिरमा पूजा गरिराखेका) मूर्तिहरू भारत, युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायतका संग्रहालयहरूमा संग्रहित छ,’ उनले भने, ‘ती संग्रहालयमा कुन शताब्दीका केको मूर्ति उल्लेख गरेर प्रदर्शनीमा राखिएका हुन्छन् ।’

सम्बन्धित निकायले हराएका मूर्तिहरूको तथ्यांक नराख्ने, खोजी कार्य नगर्नुले पनि चोरी कार्यमा संलग्नलाई प्रोत्साहन मिलेको र नेपालका पुरातात्त्विक मूर्तिहरू युरोप, अमेरिकाको संग्रहालय पुगेको इतिहासविद् श्रेष्ठ बताउँछन् । पुरातत्त्व विभागले भने हराइएका मूर्तिहरू तत्कालै नभेटिए पनि केही समयको अन्तरालमा भेटिने गरेको जनाएको छ ।

‘हराएका मूर्तिहरूको विवरण तत्कालै विभागसम्म आइपुग्दैन,’ पुरातत्त्व विभागका पुरातत्त्व उत्खनन शाखा प्रमुख रामबहादुर कुँवरले भने, ‘प्रक्रियाबमोजिम हराएका मूर्तिहरूको विवरण राख्ने गरिएको छ ।’ हराएका मूर्तिहरू विदेशी संग्रहालयमा संग्रहित भएको प्रसंगमा कुँवरले भने,‘५०/६० औं दशकताका नेपालमा कानुन नबनिसकेको अवस्थामा नेपाली मूर्तिहरू विदेश पुर्‍याएका हुन सक्छन्, त्यसपछि हराइएका मूर्तिहरू स्वदेशमै भेटिएका छन् ।’

प्रकाशित : आश्विन २२, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?