सांसद् पाण्डेको नाम सिफारिसमा नपरेपछि धादिङ एमालेमा चुलियो विवाद

वाम गठबन्धनले जमकट्टेलको क्षेत्र परिवर्तन
हरिहरसिंह राठौर

धादिङ — ३२ वर्षदेखि लगातार जिल्लाको राजनीतिमा पकड जमाइरहेका वहालवाला सांसद् राजेन्द्रप्रसाद पाण्डेको नाम कुनै पनि पदमा सिफारिस नभएपछि एमाले जिल्ला कमिटीमा विवाद चुलिएको छ ।

सांसद् पाण्डेको नाम सिफारिसमा नपरेपछि धादिङ एमालेमा चुलियो विवाद

अध्यक्ष केपी ओली समूहले सांसद् पाण्डेलगायत नेता माधव नेपाल पक्षधरका कसैलाई पनि क्षेत्रीय कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभा कुनै पनि पदम सिफारिस नगरेपछि विवाद केन्द्रसम्म पुगेको छ । एमाले धादिङ जिल्ला कमिटीबाट पनि केन्द्रमा जिल्ला अध्यक्ष भूमि त्रिपाठी र प्रदेशमा नेत्र पौडेलको नाम सर्वसम्मतिले पठाएको दाबी गरिए पनि पाण्डे पक्षले कसैलाई नसोधी एकलौटी रुपमा सिफारिस गरिएको आरोप लगाएको छ ।

पाण्डेले जिल्लाको सिफारिस एकलौटी रुपमा भएको भन्दै केन्द्रीय समितीमा लिखित निवेदन दिएर प्रतिनिधिसभा सदस्यको पदमा दाबी गरेको एमाले स्रोतले बतायो । आन्तरिक विवाद सुल्झाउन ८ सदस्यीय कार्यदल बनेको बताइएको भए पनि जिल्लाका सबै नेता राजधानीतर्फ लागेका छन् ।

गत शुक्रबार रातिसम्म चलेको जिल्ला कमिटी बैठकले यसअघि क्षेत्रीय कमिटीले क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि पार्टी अध्यक्ष भूमि त्रिपाठी र प्रदेश १ (क) मा प्रदेश कमिटी सदस्य नेत्रराज पौडेलको नाम एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । जिल्ला कमिटीले पनि त्यही सिफारिस प्रदेशमा पठाउने निर्णय गरेको छ । गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. १ का ६ वटा तहमध्ये ५ वटामा एमालेले विजय हासिल गरेको थियो । ती मध्ये चार वटामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो । गठबन्धनसँग एकमात्र स्थानीय तह (बेनिघाट रोराङ गाउँपालिका)मा एमाले पछाडि परेको थियो । तीनवटा गाउँपालिकामा गठबन्धनलाई भारी मतान्तरले पराजित गरेको क्षेत्र हो । त्यस्तै प्रदेश सभाअन्तर्गत १ (क) को तीन वटै तहमा एमालेले विजय हासिल गरेको छ । दुई वटा गाउँपालिकामा गठबन्धनलाई पराजित गरेको थियो भने नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धाकाबीच जितेको थियो ।

बैठकले प्रतिनिधिसभा क्षेत्र नं.२ का लागि क्षेत्रबाट आएको सिफारिसबमोजिम पार्टी केन्द्रीय कमिटीका वैकल्पिक सदस्य खेमप्रसाद लोहनी र सांसद् गुरुप्रसाद बुर्लाकोटीको नाम सिफारिस गरेको छ । एमाले वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी र सासद् गुरुप्रसाद बुर्लाकोटी, त्यस्तै २ को प्रदेशसभाका लागि क्षेत्रबाट आएका सबै नामलाई प्रदेशमा पठाउने वा सर्टलिस्ट गरेर पठाउने जिम्मा सम्बन्धित क्षेत्रका इञ्चार्जसहित उच्चस्तरीय कार्यदललाई दिइएको पार्टी जिल्ला कमिटी सदस्य नरेश खतिवडाले जानकारी दिए । यसअघि स्थानीय तहका उम्मेदवार टुंग्याउन बनाइएको कार्यदलमा पार्टी पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर, केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, अध्यक्ष भूमि त्रिपाठी, प्रदेश कमिटी सददस्य नेत्रराज पौडेल र सांसद् गुरुप्रसाद बुर्लाकोटी रहेका थिए ।

यस पटक प्रदेश क्षेत्रीय कमिटीका इञ्चार्जहरु डा. रामकुमार अधिकारी, जानुका सिंखडा र रामप्रसाद अधिकारी समेतको नौ सदस्यीय कार्यदलले सोमबारसम्ममा अन्तिम टुंगो लगाउने छ । अध्यक्ष त्रिपाठीले अब दुई दिन काठमाडौंमा नेताहरू बसेर सबै क्षेत्रको एकल नाम पठाउने गरी कार्यदलको बैठक बस्ने बताए ।

कार्यदलले टुंग्याउन नसके क्षेत्रको सिफारिस जस्ताको तस्तै प्रदेश कमिटीमा पठाइने अध्यक्ष त्रिपाठीले जानकारी दिए । प्रदेशतर्फ क्षेत्र १ (ख) मा केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा, पार्टी जिल्ला कमिटी सचिव शिव कँडेल र जिल्ला कमिटी सदस्य एवं शिक्षक देवप्रसाद त्रिपाठीको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ को (क)मा प्रदेश कमिटी सदस्य डा. रामकुमार अधिकारी, सहकारी विभाग सदस्यद्वय खेमबहादुर पाठक र पार्वती खाँड, जिल्ला कमिटी सदस्य कृष्णबहादुर लामा, धर्मबहादुर अर्याल, पर्यटन विभाग सदस्य राजेन्द्रप्रसाद सापकोटा, यज्ञश्वर अर्यालको नाम संकलन गरी जिल्ला कमिटीमा बुझाइएको थियो । (ख) बाट सांसद् धनबहादुर घले, जिल्ला कमिटी सदस्यहरु उमेश थापा, ईन्द्रबहादुर श्रेष्ठ, बाबुकृष्ण श्रेष्ठ, गोपी पाण्डे, इन्दिरा ढुंगाना, नारायणबहादुर कार्की, युवा संघ केन्द्रीय सदस्य भरतबहादुर खत्री, फुरबहादुर तामाङ, लिलाबहादुर खड्का, गोपाल गुरुङ गरी ११ जनाको नाम संकलन गरेर जिल्ला कमिटीमा बुझाइएको थियो ।

समानुपातिकतर्फ भने संघ र प्रदेशमा गरी करिब ५० जनाको नाम आएको छ । जिल्ला कमिटीले पार्टी केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, पर्यटन विभागका सचिव चन्द्रप्रसाद रिजाल, जिल्ला कमिटी सदस्यहरु रामहरि अधिकारी, उमा सिंखडा, टापबहादुर श्रेष्ठलगायत बढीमा १८ जनालाई प्रदेश कमिटीमा सिफारिस गर्न सक्ने अनुमान गरिएको छ ।

वाम गठबन्धनले जमकट्टेलको क्षेत्र परिवर्तन
हालैको वाम एकताले २०६४ मा एमाले नेता राजेन्द्रप्रसाद पाण्डेलाई पराजित गरेका माओवादी नेता शालिकराम जमकट्टेलको निर्वाचन क्षेत्र नै परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ ।

एमालेको पकड रहेको जिल्लाको निर्वाचन क्षेत्र नं १ मा एमाले जिल्ला अध्यक्ष भूमी त्रिपाठी वा वहालवाला सांसद् राजेन्द्र पाण्डेबीच को निर्वाचनमा उत्रने भन्नेबारे विवाद भैरहँदा माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाटै सिफारिस गरिएका माओवादी नेता जमकट्टेल निर्वाचन क्षेत्र नं २ मा सर्ने भएका छन् । माओवादी केन्द्रले २ नंबरबाट सिफारिस गरिएका चर्चित खेलाडी धुव्रविक्रम मल्ललाई पार्टीले सिफारिस फिर्ता गराएको स्रोतले जनाएको छ ।

प्रकाशित : आश्विन २२, २०७४ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?