राजनीतिक ध्रुविकरणले समृद्धि र समाजवादको अभियानमा टेवा पुग्ने दाहालको विश्वास

माले सांसद् महरा मा‌ओवादीमा प्रवेश
कान्तिपुर संवाददाता

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशभरि भइरहेको राजनीतिक ध्रुविकरणले आर्थिक समृद्धि र समाजवाद निर्माणको अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै दाहालले आगामी चुनावमात्रै नभइ देशको विकास, समृद्धि र समाजवादको बाटोमा अघि बढ्न सहयोग पुग्ने बताएका हुन् ।

राजनीतिक ध्रुविकरणले समृद्धि र समाजवादको अभियानमा टेवा पुग्ने दाहालको विश्वास

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशभरि भइरहेको राजनीतिक ध्रुविकरणले आर्थिक समृद्धि र समाजवाद निर्माणको अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै दाहालले आगामी चुनावमात्रै नभइ देशको विकास, समृद्धि र समाजवादको बाटोमा अघि बढ्न सहयोग पुग्ने बताएका हुन् । यसमा सेती–महाकाली क्षेत्रको भूमिका प्रबल भएर जाने उनको भनाइ छ । पहिलेको राज्यसत्ताले कर्णाली, ६ र ७ प्रदेशलाई बढी उपेक्षामा राखेको उल्लेख गर्दै उनले अब त्यस क्षेत्रको विकासलाई मूलधारमा ल्याइनु पर्नेमा जोड दिए । ‘प्रदेश ७ काठमाडौंले बढी विभेद र उपेक्षा गरेको क्षेत्र हो, हामीले संघर्ष गर्दा कर्णालीलगायत क्षेत्रलाई मूलधारमा ल्याउनुपर्छ भन्नेमा जोड दिएका थियौं’, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, ‘कर्णाली, ६ र ७ प्रदेशमा राजनीतिक जागरण त आएको छ तर विकासको आएको छैन । अब समृद्धितिर लैजानुपर्छ ।’

वामपन्थी, कम्युनिस्ट, प्रगतिशीलहरुको एउटै शक्तिशाली पार्टी बनाएर देशको नेतृत्व गर्दै जनआकांक्षाअनुसार विकास निर्माण, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशातिर देशलाई डोर्‍याउने प्रक्रिया अगाडि बढेको दाहालले उल्लेख गरे । अहिले माओवादी केन्द्र र एमालेबीच ध्रुविकरणका निम्ति पार्टी एकता संयोजन समिति बनेको र त्यसले काम अगाडि बढाइरहेको भन्दै दाहालले माओवादी केन्द्रमा देशभरिबाट नेता, कार्यकर्ता केन्द्रित भइरहेको बताए । उनले भने, ‘म तराई घुमेर हेर्दा सबै जाति, क्षेत्रका जनता माओवादी केन्द्र नै देश परिवर्तनको संवाहक रहेकोले यसैमा केन्द्रित हुनुपर्छ भन्ने देखेँ ।’

माओवादी युद्ध र आन्दोलनकै कारण नेपाल लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको र सामाजिक न्यायसहितका थुप्रै मौलिक अधिकारसहितको संविधान बनेको दाहालले दाबी गरे । उनले उक्त संविधान कार्यान्वयनका लागि स्थानीय तह हुँदै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने चरणमा रहेको बताए ।

माले सांसद् महरा मा‌ओवादीमा प्रवेश

कार्यक्रममा सीपी मैनाली नेतृत्वको नेकपा (माले)की सांसद् कलसादेवी महरा माओवादी प्रवेश गरिन् । महरालाई माओवादी अध्यक्ष दाहाललगायत नेताको उपस्थितिमा पार्टी प्रवेश गराइएको हो । उनी कन्चनपुरबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । महरासँगै कुमा शाही, कमला भट्ट, जानकी ठगुन्ना, भुपेश्वरी शाहीलगायत मालेका जिल्लास्तरीय नेता, कार्यकर्ता प्रवेश गरेका माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित : आश्विन २२, २०७४ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?