दिदी–भाइ दुवैलाई छालाको क्यान्सर

रकम अभावले उपचारमा समस्या
घनश्याम गौतम

गुल्मी — तीनमध्ये दुई सन्तान छालाका क्यान्सरपीडित भएपछि मालिका गाउँपालिका–६ अर्जैका डिलाराम अर्यालको परिवार पीडामा छन् ।

दिदी–भाइ दुवैलाई छालाको क्यान्सर

१५ वर्षका छोरा नरेश र २१ वर्षकी छोरी तुलसालाई छालाको क्यान्सर छ । नरेश पढाईमा  अब्बल छन् । तर, दिदीले आँखाको समस्याले पढाइ छाडिन् । सानो र सुखी परिवार डिलारामको सपना थियो । तर, दुवै छोराछोरीमा निकै खर्चिलो रोग देखिएपछि उपचारमा आर्थिक अभाव सुरु भयो । भारतमा सामान्य रोजगारी गर्ने डिलारामलाई अहिले पनि दिनहुँ दुवै छोराछोरीको रोगको समस्याले छटपटाउने गरेको छ ।
 
‘के गर्नु जन्मेको ६ महिनामै छोरीको गालामा कालो दाग देखियो,’ उनले भने, ‘पहिला देखिँदा चासो गरिएन, शरीर भरी बढेपछि उपचार गर्नै सकिएन् ।’ छोराछोरी दुवैलाई एकै समयमा छालामा समस्या देखिएको उनले बताए । ६ महिनाको हुँदा देखिएको कालो दाग अहिले दुवैको शरीरभरी नै फैलिएको छ । त्यसमा मासु समेत पलाउने गरेको छ । त्यसले तुलसालाई आँखा र नरेशमा कानको समस्या समेत देखिन थालेको छ । 

‘आँखा देख्नै छोडेपछि ६ कक्षा पढेर म स्कुल जानै छोडें,’ तुलसाले भनिन्, ‘बाबासँग धेरै पैसा नहुँदा हामी दुवैको उपचार हुन सकेन ।’ रोग निको हुने आशा भएपनि पैसा नहुँदा सधैको रोगी भएर बस्नु परेको उनको गुनासो छ । नरेश भने चन्दा खोजेको पैसाले अहिले पनि काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराउँदै छन् । खर्च अभाव भएकै कारण दिदी तुलसाको उपचार रोकिएको छ ।

अर्जै माविका शिक्षक शिवलाल भट्टराईका अनुसार कक्षा ८ मा पढ्ने नरेश मेधावी विद्यार्थी हुन् । ‘नरेश उपचारका लागि वर्षमा ७ महिना अस्पतालमा बिताउँछ,’ उनले भने, ‘तैपनि तीन महिना पढेकै भरमा कक्षामा उत्कृष्ट हुन्छ ।’  खर्च सहयोग पाएर छालाको क्यान्सर रोग निको हुन सके नरेश लगनशील र अध्ययनशील भएको उनले बताए । छालाको क्यान्सर भएकाले दुवैलाई डाक्टरले बाहिरी घाममा नदेखिन सुझाव दिने गरेका छन् । तर, परिवारको अवस्थाले त्यो सम्भव नहुँदा पनि रोग झन बढ्दोछ । नरेश दैनिक २ घण्टाको पैदल हिंडेर विद्यालय पुग्नुपर्छ ।
 
परिवारका अनुसार दुवै जनाको उपचारका लागि अहिलेसम्म झण्डै १५ लाख रुपैंयाँ खर्च भइसक्यो । गाउँमा सामान्य घर र तीन महिना मात्र खान पुग्ने पाखो बारी बेच्न पनि डिलाराम तयार छन् । ‘सधै मागेर कति उपचार गर्नु,’ डिलाराम भन्छन्, ‘छोराछोरीको रोग निको हुने भए भएको सबै सम्पत्ति बिक्री गर्थें ।’ तर, तुलसाको भने छुट्टै गुनासो छ । ‘मृत्यु निश्चित छ तर, पनि सुधार भन्दा धेरै समस्या मात्र आउन थाले,’ उनले भनिन् । 

दुवै छोराछोरीलाई दैनिक महंगो औषधि खुवाउनु पर्ने भएकाले पनि डिलाराम सधैको तनावमा छन् । छोराछोरी भएकाले जस्तो भएपनि माया लाग्छ । कसरी हुन्छ, मृत्यु पर सार्न सकिन्छ कि भन्ने आशाले उपचार गराउँदै गरेको उनले बताए । ‘दैनिक खुवाउने औषधिका लागि खर्च जुटेपनि ठुलो सहयोग हुन्थ्यो ।’ एकपटक परीक्षण र औषधी खरिद गर्दा डेढ लाखसम्म खर्च हुने गरेको उनले बताए ।
 
वडाध्यक्ष शोभाखर गिरीले पीडित र परिवारसँग धेरै समयदेखि परिचित नै भएपनि उपचारमा कुनै सहयोग गर्न नसकेको गुनासो गरे । ‘अर्याल परिवारको पीडाले मलाई पनि पोल्छ,’ उनले भने, ‘तर, यस्तो उपचार राज्यले नै जिम्मा लियो भने मात्र सम्भव छ र लिनुपर्छ ।’ सरकारले सुरु गरेको स्वास्थ्य बिमा यो परिवारसम्म सजिलै आउने वातावरण गराउन आफूले भुमिका खेल्ने उनले बताए । 


गुल्मीको मालिका गाउँपालिका–६ अर्जै उदिनाका छालाको क्यान्सरपीडित दिदी तुलसा र भाई नरेश । तस्बिर : घनश्याम गौतम/कान्तिपुर ।

प्रकाशित : आश्विन २२, २०७४ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?