कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ढुकेर गोली हानिएको थियो निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनमाथि

अध्यक्षको हत्या
जनकराज सापकोटा

काठमाडौं — सोमबार दिउँसो बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । करिब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले इँट्टा प्रहार गर्‍यो ।

ढुकेर गोली हानिएको थियो निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनमाथि

गाडीको अगाडिको सिसामा प्वाल पर्‍यो । चालकले गाडीको गति कम गरेका मात्र के थिए, अन्दाजी ३०/३५ वर्षका युवाले रिभल्वरबाट गोली हानिहाले । गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा गौचनलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याइयो । अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरहरूले गौचनको मृत्यु भइसकेको घोषणा गरे । 

सिभिल अस्पतालका निमित्त निर्देशक विमल थापाले अस्पताल ल्याउँदा गौचनको मृत्यु भइसकेको बताए । थापाका अनुसार उनको मुटु, कलेजो र पेटमा एक/एकवटा गोली लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार गोली प्रहार गरेलगत्तै हातमा पेस्तोल नचाउँदै ती युवा केही अघि बढे र तयारी अवस्थामा राखिएको मोटरसाइकल चढेर कात्यायनी चोकतर्फबाट भागे । घटनालगत्तै प्रहरीले गुलाबी रंगको टिसर्ट र सोही रंगको हेलमेट लगाएका मुख्य सुटरको खोजी तीव्र पारेको थियो । काठमाडौंबाट बाहिरिने सबै मुख्य नाकामा प्रहरीले बर्दीसहितका र सादा पोसाकका प्रहरी परिचालन गरेर खानतलासी र मोटरसाइकलको चेकजाँच गरेको थियो । 

सिभिल अस्पतालमा शोकविह्वल आफन्त । तस्बिर : अंगद ढकाल

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अपराधीहरू लामो समयदेखि गौचन घरबाहिर निस्कने समय कुरेर बसेका थिए । घुमाउरो र सानो मोडमा गाडीको गति सुस्त हुने र त्यही बेला गोली प्रहार गर्न सकिने योजना उनीहरूले कार्यान्वयन गरेको देखियो । सोमबार साँझसम्म पनि प्रहरीले मोटरसाइकलको नम्बर र कस्तो मोटरसाइकल प्रयोग भएको थियो भन्ने पत्ता लगाउन सकेको छैन । 

प्रहरीले गोली कुनै आपराधिक समूहले चन्दाको निहुँमा हानेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दका अनुसार आपराधिक समूहका व्यक्तिले पैसाको बार्गेनिङ गरेको र नपाएपछि हत्या गरेको हुन सक्ने बताए । घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै उनले कारण यकिन भइनसकेको बताए ।

एआईजी चन्दले गुन्डा नाइके ‘रमेश बाहुन’ भनिने सुजन पौडेलको समूहका केही सदस्यले चन्दाकै निहुँमा केही दिनअघि गौचनलाई थप्पड हानेको सूचना आएको बताए । उनले भने, ‘सोही समूहको संलग्नता हो या होइन अनुसन्धान हुँदै छ ।’ रमेश बाहुन अवैध रोडाढुंगाको कारोबार, ठेक्कापट्टा र अवैध असुली धन्दामा लामो समयदेखि सक्रिय छन् ।

प्रहरीले हत्याका पछाडि अर्का गुन्डा मनोज पुन समूहको हात हुन सक्ने अनुमान गर्दै अनुसन्धानलाई त्यतातिर पनि सोझ्याएको छ । एक उच्च प्रहरी अधिकारीले कान्तिपुरसँग ‘मनोज पुनले नै आफ्ना सदस्य परिचालन गराएको हुन सक्ने’ भन्दै उनका समूहका सदस्यहरूको खोजी भइरहेको बताए । मनोज पुन गत वर्ष युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेपछि चर्चामा आएका थिए । स्रोतका अनुसार पुनको समूहका एक सदस्य मानिएका तिब्बती शरणार्थीका रूपमा भारतको धर्मशालामा बस्ने लोप्साङ लामाले एक प्रहरी अधिकारीलाई अपरिचित नम्बरबाट फोन गरी घटनाको जिम्मेवारी आफूले लिएको बताएका छन् । लोप्साङ तिनै व्यक्ति हुन् जसले चैत अन्तिम साता गौरीघाटको एक फिटनेस क्लबमा रहेका दाबा लामामाथि गोली प्रहारको घटनालगत्तै तत्कालीन प्रहरी परिसर काठमाडौंका प्रमुख छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए । 

गणेश लामा समूहबाट ठेक्कापट्टा र अवैध असुलीको धन्दामा संलग्न लामा पछिल्लो समय आफ्नै समूह बनाएर अवैध असुलीको धन्दामा सामेल छन् । एक प्रहरी अधिकारीका अनुसार अधिकांश समय भारत बस्ने लामाले त्यतिबेलाजस्तै अहिले पनि फोन गरेर घटना आफूले गराएको दाबी गरेका छन्, तर त्यसैका आधारमा घटनाको निष्कर्ष निकाल्नु गलत हुनेछ । सोमबार साँझसम्म पनि प्रहरीले घटनाको यकिन कारण र त्यसमा संलग्नहरूको पहिचान गरिसकेको छैन । प्रहरीका अनुसन्धान अधिकारीले घटनास्थल वरपर कतै सीसीटीभीको कभरेज थियो कि भनेर खोजी गरेको थियो । एक अनुसन्धान अधिकारीले उक्त क्षेत्रमा कतै सीसीटीभी नभएका कारण अभियुक्तहरूको पहिचानमा समस्या भएको बताए । 

राजधानीमा मध्यदिनमै गौचनमाथि गोली प्रहारको घटनाले २०६९ जेठ १८ मा न्यायाधीश रणबहादुर बमको हत्या घटनालाई सम्झाएको छ । प्रहरी अधिकारीका अनुसार राजधानीमा बम हत्याको घटनापछि उस्तै प्रकृतिको हत्या घटना भएको थिएन । सोमबारको घटनापछि प्रहरी अधिकारीलाई गम्भीर बनाइदिएको छ । गौचनलाई जस्तै कारमा चढेर सर्वोच्च अदालत आउँदै गर्दा मोटरसाइकलमा सवार बन्दुकधारीले कार रोकेर बममाथि गोली चलाएका थिए । उक्त हत्याको मुख्य अभियुक्तको पहिचान गर्ने क्रममा प्रहरीले २ लाखभन्दा धेरै एसएमएस र हजारौं फोन कलको डिटेल चेकजाँच गरेको थियो । उक्त घटनामा प्रहरीले ७ दशमलव ६५ एमएमका गोलीका खोका भेटेको थियो भने घटनामा अभियुक्तहरूले ४ वटा पेस्तोल लगेको निष्कर्ष निकालेको थियो । अनुसन्धानपछि प्रहरीले चारमध्ये दुई पेस्तोलबाट मात्रै फायर भएको बताएको थियो । हत्याको दुई वर्ष सात महिनापछि प्रहरीले घटनाका मुख्य अभियुक्त सञ्जय इस्माइली मगरलाई साउदी अरबबाट पक्रेर नेपाल ल्याएको थियो ।

प्रकाशित : आश्विन २४, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?