कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डा. केसीको स्वास्थ्य खस्कँदो

छाती दुखाइ बढ्यो, मुटुको चाल बिग्रन सक्ने त्रास
१३ पटक गरी मंगलबारसम्म १५२ दिन अनशन बसिसकेका छन् डा. केसी
अतुल मिश्र

काठमाडौं — डा. गोविन्द केसीको छाती दुखाइसँगै स्वास्थ्य अवस्था खस्कन थालेपछि मंगलबार अनशनस्थलमा मनिटरलगायत थप चिकित्सकीय उपकरण लगाइएको छ । अघिल्ला अनशनको दाँजोमा यस पटक केसीको स्वास्थ्य अवस्था तीव्र गतिले खस्कँदै गएको चिकित्सकहरूले बताएका छन् ।

डा. केसीको स्वास्थ्य खस्कँदो

‘परिस्थितिको संवेदनशीलताअनुसार मंगलबारदेखि मनिटरका माध्यमले उनको स्वास्थ्यस्थिति प्रत्यक्ष रूपमा अवलोकन गर्न थालिएको छ,’ डा. केसीको स्वास्थ्य निगरानीमा सरिक प्रा.डा. दिव्यासिंह शाहले कान्तिपुरसँग भनिन्, ‘मनिटरले प्रत्यक्ष रूपमा डा. केसीको मुटुको चाल र गतिविधि, रगतमा अक्सिजनको मात्रा, श्वासप्रश्वास गतिलगायत जानकारी दिइरहेको छ ।’ विगतका अनशनहरूको दाँजोमा यस पटक स्वास्थ्यस्थिति छिटोछिटो गिर्दो क्रममा देखिएको उनले जानकारी दिइन् । शाहका अनुसार कम समयमै धेरै पटक अनशन बसेका कारण स्वास्थ्यस्थिति छिटो खस्कन थालेको हुन सक्छ ।

डा. केसीले मंगलबार छाती दुखेको बताएपछि उनको स्वास्थ्य निगरानीमा रहेका चिकित्सकहरूमा चिन्ता छाएको छ । ‘छाती दुखाइको लक्षणले मुटुको चाल बिग्रन सक्ने आंशका बढेको छ,’ डा. शाहले भनिन्, ‘हामीलाई यही समस्याले सबभन्दा बढी चिन्तित तुल्याएको छ ।’

सातौं अनशनका क्रममा डा. केसीमा मुटुको समस्या (भेन्ट्रिकुलर ट्रैकिकार्डिया) देखिएको थियो । लामो समयसम्म त्यस्तो समस्या देखिए मुटुले काम गर्न छाड्ने (कार्डियाक एरेस्ट) समस्या निम्तिन सक्ने चिन्ता उनीहरूको छ । आठौं अनशनमा समेत उनमा मुटुको असामान्य चाल (इरेगुलर बिट) को समस्या देखिएको थियो । त्यतिबेला पनि भेन्ट्रिकुलर ट्रैकिकार्डिया हुने चिन्ता चिकित्सकहरूमा थियो । 

मिर्गौला आदिको स्वास्थ्यबारे अनुमान गर्न सकिए पनि मुटुबारे केही भन्न नसकिने उल्लेख गर्दै डा. शाह भन्छिन्, ‘धेरै पटकका लामो अनशनले गर्दा स्वास्थ्य जटिलता बढदै जानुका साथै पहिला नदेखिएका समस्यासमेत थपिन थालेको छ ।’ डा. केसीको शरीरमा अक्सिजन, इलेक्ट्रोलाइट, सेतो रक्तकणिका, क्याल्सियम फस्फोरस आदिको कमी हुने समस्यासमेत देखिएको छ । रक्तचाप कम हुन थालेपछि उनलाई स्लाइन पानी दिन थालिएको छ । 

डा. केसी १३ पटक गरी मंगलबारसम्ममा एक सय ५२ दिन अनशन बसिसकेका छन् । उनको ११ औं अनशन सबभन्दा बढी २३ दिनसम्म चलेको थियो । 

प्रकाशित : आश्विन २४, २०७४ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?