२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

काे थियो गौचनको हत्यारा ?

सुल्झेन रहस्य
जनकराज सापकोटा

काठमाडौं — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको एक दिन बितिसक्दा पनि प्रहरीले अपराधीबारे कुनै सुइँको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केका गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

काे थियो गौचनको हत्यारा ?

गोली हानेलगत्तै दुई युवा मोटरसाइकल चढी बेपत्ता भएका थिए । 

प्रहरीले गौचनको हत्यामा सार्प सुटरको प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ । छाती र पेटमा लगातार तीन गोली प्रहार भएलगत्तै अचेत भएका गौचनको अस्पताल नपुग्दै मृत्यु भएको थियो । 

असुली धन्दामा सक्रिय गुन्डा समूहबाट चन्दा नदिएको निहुँमा हत्या गरेको हुन सक्ने अनुमान गरिए पनि हत्याको विन्दुसम्म पुग्नुअघि समूहले गौचनलाई कसरी सताएको थियो भन्नेबारे प्रहरीले पत्तो पाएको छैन । गुलाबी रंगको टिसर्ट र हेल्मेट लगाएका अधबैंसे युवाले हत्या गरेको भन्ने सूचनाबाहेक अपराधीबारे कुनै जानकारी छैन । प्रहरीले गौचनको मोबाइल संवाद र एसएमएस डिटेल केलाएर घटनामा कसको संलग्नता थियो भनेर पत्ता लगाउने प्रयास थालेको छ । 

हत्यामा भारतमा बसेर व्यवसायीसँग चन्दा असुली गरिरहेको मनोज पुन समूहको संलग्नताको आशंका गरिए पनि यसको पनि कुनै भरपर्दो आधार फेला परिसकेको छैन । गत वर्ष व्यवसायी एवं युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेपछि पुनको समूह चर्चामा आएको थियो । उनको समूहमा काठमाडौंको बाफल क्षेत्रमा प्रभाव जमाएका भनिएका समीरमान बस्नेत, तिब्बती शरणार्थीका रूपमा भारतको धर्मशालामा बस्ने लोप्साङ लामा छन् ।

गौचनको हत्यालगत्तै लोप्साङले केही प्रहरी अधिकारीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएको स्रोतले जनायो । यही समूहले सोमबार अन्य केही निर्माण व्यवसायीलाई पनि इन्टरनेट कलमार्फत धम्की दिएको सूचना प्रहरीमा पुगेको छ । गत चैतमा गौरीघाटको एक फिटनेस क्लबमा रहेका गुन्डा दावा लामामाथि गोली हानेको घटनामा पनि लोप्साङले जिम्मेवारी लिएका थिए । लामा र गौचन दुवैमाथि उस्तै प्रकृतिले गोली हानिएकाले पनि प्रहरीले पुनको समूहको संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान गरेको हो ।

प्रहरीले अझैसम्म पनि गौचनको हत्यामा प्रयोग भएका तीनवटा गोलीका खोकालाई परीक्षणका लागि पठाएको छैन । बानेश्वर वृत्तका डीएसपी रवीन्द्र पौडेलले गोलीका खोका बुधबारमात्रै प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइने बताए । परीक्षणपछि गोली कुन बन्दुकबाट हानिएको थियो र कति क्यालिबरको थियो भन्ने पत्ता लाग्नेछ ।

गौचनको हत्या भएकै साँझ प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले छुट्टाछुट्टै अनुसन्धान समिति गठन गरेका थिए । प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली बनाएको थियो । महानगरीय प्रहरीले पनि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नेतृत्वमा ५ सदस्यीय नै छानबिन समिति गठन गरेको थियो । तर त्यसको भोलिपल्टै प्रधान कार्यालयले उक्त घटनामाथि अनुसन्धान गर्न भन्दै डीआईजी गणेश केसीको नेतृत्वमा अर्को विशेष टोली गठन गरेको छ ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले अनुसन्धान गर्ने टोलीमा काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी कार्यालयका अनुसन्धान अधिकारी पनि सामेल रहेको बताए । प्रवक्ता न्यौपानेले भने, ‘घटनाको गम्भीरताका आधारमा विशेष टोली गठन गर्नुपरेको हो । टोलीले सबै शक्ति र सामथ्र्य प्रयोग गरेर अनुसन्धान गर्नेछ ।’ डीआईजी केसी नेतृत्वको टोलीमा ब्युरोका एसएसपी बस्नेत, महाशाखाका एसएसपी लोहनी, तीन डीएसपी र एक इन्सपेक्टर छन् । डीआईजी केसीले अनुसन्धान सुरु भइसकेको र प्रारम्भिक सूचनाहरू हात पारिसकेको जनाए । उनले भने, ‘अनुसन्धानलाई तीव्रता दिइएको छ, छिट्टै केही नतिजा हात पर्नेछ ।’

प्रकाशित : आश्विन २५, २०७४ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?