३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गुन्डा नाइकेका रुपमा चिनिएका मनाङे पनि उम्मेदवारमा सिफारिस

आश गुरुङ

लमजुङ — गुन्डा नाइकेका रूपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नारफु गाउँपालिका सम्मिलित क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्नेछन् । माथिल्लो मनाङस्थित मनाङ गाउँका स्थायी बासिन्दा उनी प्राय: काठमाडौं बस्छन् ।

स्थानीय तहको चुनावदेखि भने उनी बाक्लै रूपमा मनाङ आउजाउ गर्दै स्थानीयको घरदैलो गरिरहेका छन् । यसअघि राप्रपामा रहेका उनी स्थानीय तह चुनावमा राप्रपाकै प्रचारमा मनाङमा खटिएका थिए । राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका उनी उक्त पार्टीको जिल्ला कार्य समितिका सबै पदाधिकारीसहित साताअघि मात्रै एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अगावै प्रहरी परिसर काठमाडौंले उपत्यकाको शान्ति सुरक्षा बलियो बनाउने भन्दै केही गुन्डा नाइके पक्राउ गरेको थियो । त्यसमा मनाङे पनि थिए । चुनावको वातावरण बिथोल्न सक्ने भन्दै पक्राउ गरेपछि सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको थियो । स्थानीय तहको चुनाव सकिएको ५ महिना नबित्दै उनै उम्मेदवार सिफारिस भएका हुन् ।
प्रहरीले मनाङे र उनको समूहलाई काठमाडौंमा पटकपटक अनुसन्धानको दायरामा खिच्थ्यो । काठमाडौं प्रहरी परिसर प्रमुख भएका बेला रमेश खरेलले पनि मनाङेलाई अवैध असुली र गुन्डागर्दी आरोपमा पक्राउ गरेका थिए । गत पुसमा दलबलसहित राप्रपा प्रवेश गरेका मनाङे पछिल्ला दिनमा एमालेनिकट

देखिएका थिए । राप्रपा प्रवेश गर्नुअघि भने उनी नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा थिए ।

आपराधिक गतिविधि सञ्चालन गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा समेत मनाङेले सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका थिए । उनीमाथि झन्डै १५ करोड अकुत सम्पत्ति आर्जन गरेको आरोप थियो । २०७३ असार दोस्रो साता सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतका कर्मचारीलाई धम्की दिएको आरोपमा पनि उनी पक्राउ परेका थिए । भदौमा उनलाई अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । बारम्बार पक्राउ पर्दै छुटदै आएका मनाङे एमालेमा प्रवेश गरेर राजनीतिमा फेरि सक्रिय हुन खोजेका छन् ।

एमाले जिल्ला सचिव लोकेन्द्र घलेले जिल्ला कमिटीले उनलाई प्रदेशको क्षेत्र २ का लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको बताए । प्रदेशको क्षेत्र १ बाट एमालेले धोर्जे ढल्डुल गुरुङलाई सिफारिस गरेको छ । कांग्रेसका पुराना नेता मानिने उनी एक महिनाअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । पार्टीले मनाङमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पोल्देन छोपाङ गुरुङलाई सिफारिस गरेको छ ।

एमाले मनाङले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि युटेन गुरुङलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ नै प्रदेशको क्षेत्र १ बाट मंगलबहादुर गुरुङ, मनबहादुर गुरुङ, नन्दबहादुर गुरुङ र रत्नाकुमारी गुरुङ तथा प्रदेशको क्षेत्र २ बाट पासाङ विष्ट, याङडुुङ गुरुङ, मंगलबहादुर गुरुङ र नरेन्द्र घलेलाई सिफारिस गरिएको छ ।

मनाङमा करिब ६ हजार मतदाता छन् । ४ वटा स्थानीय तह रहेको मनाङमा नेस्याङ र नारफु गाउँपालिका प्रदेशतर्फको क्षेत्र २ मा पर्छ । प्रदेशको क्षेत्र १ मा चामे र नासोङ गाउँपालिका पर्छ । स्थानीय तहको निर्वाचनमा एमालेले कांग्रेस सांसद टेकबहादुरको गृह गाउँपालिका नेस्याङ र सदरमुकाम रहेको चामे गाउँपालिकाको प्रमुख जितेको थियो । मनाङमा संविधानसभा निर्वाचन २०७० मा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका थिए ।

कानुन के भन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४

१३. उम्मेदवारको अयोग्यता : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ–

(घ) भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको

राजनीतिक दलसम्बन्धी ऐन–२०७३

१४. दलको सदस्यता : (१) विधानबमोजिम अधिकार प्राप्त पदाधिकारीले दलको सदस्यता वितरण गर्न सक्नेछ

(२) उपदफा (१) बमोजिम सदस्यता वितरण गर्दा देहायको योग्यता पुगेको नेपाली नागरिकलाई वितरण गर्नुपर्नेछ–

(ख) भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको

प्रकाशित : आश्विन २६, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?