माओवादी केन्द्र र संयुक्तबीच एकता

कान्तिपुर संवाददाता

काठमाडौं — माओवादी केन्द्र र नेकपा (संयुक्त) बीच बुधबार एकता भएको छ । पार्टी एकताको संयुक्त वक्तव्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्तका अध्यक्ष गणेश साहले हस्ताक्षर गरेका छन् ।

 माओवादी केन्द्र र संयुक्तबीच एकता

एकता कार्यक्रममा दाहालले कम्युनिस्टहरूको बृहत् एकता र ध्रुवीकरणमार्फत मुलुकमा समाजवादी क्रान्ति सम्पन्न गर्ने बताए । ‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि निकै खुसीको कुरा हो । कम्युनिस्टहरूको एकता र ध्रुवीकरणमार्फत नेपालमा समाजवादी क्रान्ति र सर्वहारा वर्गलाई नयाँ सन्देश दिनेछौं,’ दाहालले भने । अध्यक्ष दाहालले निरन्तरतामा क्रमभंगलाई आफूले आत्मसात् गरेको बताए ।

‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरिकाले सोचेन, एउटा नयाँ सोच र क्रमभंगका रूपमा हामी अहिलेको ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘कतिपय कम्युनिस्ट नेता र अग्रजहरू मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनुभएको छ, हामीले त्यसो गरेनौं ।’ कार्यक्रममा संयुक्तका अध्यक्ष साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको पार्टी क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिस्ट आन्दोलनमा नयाँ गति पैदा हुने धारणा राखे । एकतासँगै संयुक्तका ३ सांसद पनि माओवादी केन्द्रमा जोडिएका छन् ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?