कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सिट बाँडफाँडमा बार्गेनिङ

प्रतिनिधि/प्रदेशसभा निर्वाचन
अर्जुन राजवंशी

दमक — आगामी निर्वाचनका लागि प्रमुख दलले झापा निर्वाचन क्षेत्र नं. ३ लाई ‘बार्गेनिङ’ क्षेत्र बनाएका छन् । वाम गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच उक्त क्षेत्र मान्य नहुने भन्दै बार्गेनिङ चलिरहेको छ ।

 सिट बाँडफाँडमा बार्गेनिङ

चुनावी तालमेलअन्तर्गत जिल्लामा एमालेले क्षेत्र नं. ३ माओवादी केन्द्रलाई दिन चाहिरहेको छ । तर, माओवादीले उक्त क्षेत्र स्विकारेको छैन । 

लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी भने ३ नं. क्षेत्र आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । उक्त क्षेत्र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पकड क्षेत्र मानिन्छ । उनले उक्त क्षेत्रबाट ६ वटा चुनाव लडिसकेका छन् । तीमध्ये दुईवटामा पराजित भएका सिटौलाले बाँकी चार चुनाव जितेका थिए । यसपटक पनि उनको नाम मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि सर्वसम्मत भइसकेको छ । गठबन्धनभित्रकै राप्रपाले पनि उक्त क्षेत्र आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । पार्टी महामन्त्री राजेन्द्र लिङदेनको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको छ । 

उक्त क्षेत्रमा एउटा नगरपालिका र तीन गाउँपालिका समेटिएका छन् । भद्रपुर नगरपालिकामा एमालेको नेतृत्व छ भने कचनकवल र हल्दिबारी गाउँपालिका राप्रपाले जितेको छ । बाह्रदशी गाउँपालिकामा कांग्रेसको नेतृत्व छ । कांग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको उक्त क्षेत्रमा दोस्रो संविधानसभा चुनावमा राप्रपाको उपस्थिति बलियो हुन पुग्यो । राप्रपाका लिङदेन एमाले उम्मेदवारलाई पछि पार्दै सिटौलाका निकटतम प्रतिस्पर्धी बने । 

यो क्षेत्रबाट प्रतिनिधिसभा चुनावका लागि एमालेका पुराना नेता पुष्पराज पोखरेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रले नेत्री धर्मशीला चापागाईंको नाम सिफारिस गरेको छ । तालमेलअन्तर्गत जिल्लामा माओवादीले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभातर्फ ४ वटा क्षेत्र माग गरेको छ । तर, एमाले उसलाई केन्द्रतर्फ एक र प्रदेशतर्फ दुईवटा क्षेत्र दिने योजनामा छ । 

केन्द्रतर्फ क्षेत्र नं. ३ मा माओवादी उम्मेदवारलाई सघाउन आफूहरू तयार रहेको एमालेका एक नेताले बताए । तर, माओवादीले आफूहरूको जनमत कमजोर रहेकाले उक्त क्षेत्र मान्य नहुने अडान राख्दै आएको छ । उसले क्षेत्र नं. २ र ४ मा सघाउन माग गरेको छ । तुलनात्मक रूपमा कांग्रेस र राप्रपाभन्दा कमजोर रहेको एमालेले उक्त क्षेत्रबाहेक अन्यत्र दिन नसकिने अडान राख्दै आएको छ । ‘माओवादीलाई ३ नम्बरमै मनाउने हाम्रो प्रयास अन्तिम समयसम्म रहन्छ । मान्दै मानेन भने २ नम्बरमा कुरा मिल्न सक्ला ?,’ एक नेताले भने ।

कांग्रेस नेता सिटौलाले आफ्नो पुरानो क्षेत्रबाटै चुनाव लड्ने बताए । उनले राप्रपाले ३ नं. क्षेत्र मागे पनि आफूले छाड्न नसक्ने स्पष्ट पारेका छन् । जिल्ला सभापति उद्धव थापाले राप्रपासँग सहमतिपछि ३ नं. क्षेत्र सिटौलाले लिङदेनलाई छाडेको भनी भ्रामक समाचार आएको भन्दै आपत्ति जनाए । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र रहेकोमा एमालेले ३ नम्बरबाहेक सबै जित्ने दाबी गरिरहेको छ । कांग्रेसको ५ नम्बरबाहेक अन्य सबै क्षेत्रमा जित हासिल गर्ने दाबी छ । राप्रपाको ३ नम्बरबाहेक अन्य क्षेत्रमा बलियो आधार देखिँदैन । 

टिकटका लागि राजधानी
डोल्पाबाट पार्टी केन्द्रमा नाम सिफारिस भएपछि नेता–कार्यकर्ता आफ्नो पक्षमा उम्मेदवारी पार्न भनसुनका लागि राजधानी गएका छन् । प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत नाम आए पनि एमाले, कांग्रेस र माओवादी केन्द्रले प्रदेश सभामा थुप्रै नाम सिफारिस गरेका छन् । 

 एमाले जिल्ला अध्यक्ष दत्तबहादुर रोकाया, वैकल्पिक केन्द्रीय सदस्य हंसबहादुर शाही, प्रदेश कमिटी सदस्य बद्मी बोहरा, जिल्ला कमिटी सचिव नन्दसिंह बुढा, सचिवालय सदस्य छक्कबहादुर धराला र जिल्ला कमिटी सदस्य लंकबहादुर शाही प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको टिकट लिन दौडधुपमा छन् । माओवादी केन्द्रका जिल्ला अध्यक्ष मालबहादुर रोकाया, नैनप्रसाद पहाडी, वीरबहादुर शाहीलगायत नेता पनि राजधानीमै छन् । कांग्रेस जिल्ला सभापति अंगदकुमार बुढा, पूर्वसभासद दूधकुमारी हमाल, पूर्वसभापति टंकप्रसाद उपाध्याय, कर्णबहादुर रोकाया, बेगमसिंह ठकुरीलगायत नेता भनसुनका लागि केन्द्र पुगिसकेका छन् । 

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?