कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण सडकको बेहाल

माधव अर्याल

पाल्पा — गोठादीका अमरबहादुर सारू चार घण्टा हिंडेर सिद्धार्थ राजमार्गको झुम्सा बजार आए । थकित मुद्रामा उनी बुटवल जाने बस भेट्न आएका हुन् । पिठ्यँुमा गह्रांै भारी बोकेका उनलाई बुटवल हाटबजार पुगेर सामान बिक्री गरी पुन: घर फर्कने चिन्ता छ । उ

 ग्रामीण सडकको बेहाल

गोठादीका अमरबहादुर सारू चार घण्टा हिंडेर सिद्धार्थ राजमार्गको झुम्सा बजार आए । थकित मुद्रामा उनी बुटवल जाने बस भेट्न आएका हुन् । पिठ्युँमा गह्रौं भारी बोकेका उनलाई बुटवल हाटबजार पुगेर सामान बिक्री गरी पुन: घर फर्कने चिन्ता छ । उनले भने, ‘अहिले चार घण्टा हिंडियो फेरि बेलुकी अर्को चार घण्टा हिंड्नुपर्छ ।’ उनी मात्र होइन, तिनाउ, ३ ज्यामिरेका यमबहादुर परियारलाई पनि तीन घण्टा पैदल हिंडेर झुम्सा पुग्नुपर्ने बाध्यता छ । यस्तो दैनिकी माथागढी ५ को गोठादी र तिनाउ ३ का ज्यामिरे, बेरुवा, हात्तीकोटलगायतका बासिन्दाको तीन महिना भइसक्यो ।

यो उदाहरण मात्रै हो । जिल्लाका अधिकांश स्थानमा चाडपर्वमा ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । कचलका विभिन्न भागबाट बुटवल बजार गर्न जानेहरूको समस्या उस्तै छ । दोभान बजारमा भेटिएकी तिनाउ १ कचलकी यानकुमारी आलेले भनिन्, ‘तीन महिना भइसक्यो सातामा दुई दिन बुटवल बजार जाने हो । चार–चार घण्टा पैदल हिंड्नुपर्छ ।’ असारमा वर्षासँगै सडक भत्काउने, खाल्डाखुल्डी हुने र पहिरो जाने भए पनि मर्मत नहुँदा अझै पनि सयौं जनता पैदल हिंड्न बाध्य छन् ।

दोभान र कचल खोलाका कारण असार १४ को निर्वाचन अघिदेखि नै सवारी साधन त्यस भेगमा चल्न सकेका छैनन् । २० किमि सडकमा पूरै ठप्प छ । झुम्साबाट दोभानकै ज्यामिरे, गोठादीको दमार, जगातसम्म पुग्ने बाटोमा पहिरो पन्छाउन सकिएको छैन । गत वर्ष सडक चौडा गराएकाले यहाँ ठूलो पहिरो खसेको छ । तिनाउ ३ का वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयका अनुसार ३० लाख बजेट विनियोजन भएको छ । दसैंअघि नै डोजर लगाउने भने पनि अब तिहारपछि पक्कै काम सुरु हुने उनले बताए । सडकमा ठूला रूखसहितको पहिरो खसेको छ । ‘साना सवारी साधन मात्र होइन, ठूला चल्ने आधार नै देखिएन,’ ज्यामिरेका धनबहादुर
थापाले भने ।

उनका अनुसार बाटैभरि विभिन्न स्थानमा ठूला पहिरा खसेका छन् । गाउँपालिकाको सहयोगबिना उपभोक्ताले हटाउन नसक्ने अवस्थाका पहिरो रहेको उनले बताए । गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले तिहारपछि कचल जाने साथै ज्यामिरे, गोठादी सडक पहिरो हटाउने काम हुने बताए । वन कार्यालयले ढलेका रूखको लगत निकालेपछि मात्र बाटो सफाइ गर्न सकिन्छ । इलाका वन कार्यालय दोभानका प्रमुख चन्द्रबहादुर भाटका अनुसार तिहारअघि नै ढलेका रूखको लागत लिएर काम गर्न सहज बनाइनेछ । स्थानीय बासिन्दाले सडक राम्रो होलाभन्दा झन् दु:ख पाएको गुनासो गरे । जिल्लाको ग्रामीण भेगका अधिकांश सडकमा सवारी साधन गुड्न सकेका छैनन् । ओटासिल गरेकाबाहेक कमै सडकमा सवारी साधन गुडेका छन् । दसैंसम्म वर्षा भइरहेकाले पनि ग्रामीण सडकमा सवारी साधन गुड्न सकेनन् ।

जथाभावी खनेको ग्रामीण सडक वर्षा लागेपछि गाडी गुड्न नसक्ने अवस्थामा छन् । विगतमा वडा, गाविस, जिविस, निर्वाचन कोषको रकमले खनेका सडक वर्षायाममा पहिरोले ध्वस्त हुन्छ । ग्रेड नमिल्ने, साँघुरो, जथाभावी खनिएका सडकमा महिनादेखि सवारी साधन चल्न सक्दैनन् ।

प्रकाशित : आश्विन २६, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?