परराष्ट्रमन्त्री महरासँग आइटिसीका कार्यकारी निर्देशकको भेट

कान्तिपुर संवाददाता

काठमाडौं — उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले बिहीबार शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा उनीहरुबीच आर्थिक कूटनीति तथा बहुपक्षीय व्यापार प्रवर्द्धनलगायत विषयमा छलफल भएको उपप्रधानमन्त्री महराको सचिवालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवर्द्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउन आग्रह गरे ।

नेपाली घरेलु उत्पादनको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’मा आइटिसीले थप सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले सबैको ध्यान आर्थिक समृद्धिको प्राप्ति भएको स्पष्ट पारे । उपप्रधानमन्त्री महराले भने, 'नेपालको संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचनहरु चरणबद्धरुपमा अगाडि बढेका छन् । सबै निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायित्व कायम भई नेपाल द्रुत आर्थिक विकासको दिशामा अगाडि बढ्छ ।'

उक्त अवसरमा कार्यकारी निर्देशक गोन्जालेजले नेपालमा आर्थिक विकास तथा व्यापारको अपार सम्भावना भएको बताउँदै उत्पादन, ब्रान्डिङ र बजारीकरणमा ध्यान दिनुपर्ने बताए । कफी, चिया, अलैँची एवम् नेपाली कागज जस्ता नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारका लागि महत्वपूर्ण वस्तु भएको भन्दै उनले ठूलो मात्रामा उत्पादन तथा गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

आर्थिक कूटनीतिका माध्यमबाट नेपालका उत्पादनहरु विश्व बजारमा प्रवर्द्धन गर्न सकिने विचार व्यक्त गर्दै उनले परराष्ट्र मन्त्रालयले परम्परागत कूटनीतिभन्दा पनि आफ्ना नियोगमार्फत व्यापार र लगानी प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने बताए ।

रासस

प्रकाशित : आश्विन २६, २०७४ १६:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मौसमी रुघाखोकीले १७ जनाको मृत्यु

काठमाडौं — मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो ।

मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो । महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो । काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच१एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो ।

निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउँछन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उनले आग्रह गरे । विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताए । केही वर्षयता एच१एन१ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीेका बिरामी आउने गरेका छन् । डा पुनले एच१एन१ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लू’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिनुभयो । बिरामीमा निमोनिया देखिने गरेको छ ।

खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने गरेका छन् । क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए ।

रासस

प्रकाशित : आश्विन २६, २०७४ १६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT