कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि चितवनमा ‘हेभिवेट’कै चर्चा

विमल खतिवडा

चितवन — प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा जिल्लामा राजनीतिक चहलपहल बढेको छ । कार्यकर्ता र मतदातामाझ टिकटका आकांक्षी, चुनावी प्रतिस्पर्धा र वाम गठबन्धनको प्रभावबारे कौतूहल देखिन्छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल आफैं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने पक्का भएपछि चौतारा, चिया पसल र सार्वजनिक कार्यक्रमहरूमा उनकै चर्चा छ ।

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि चितवनमा ‘हेभिवेट’कै चर्चा

यसअघिको निर्वाचनमा रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लडेका दाहाल पहिलो पटक गृहजिल्लाबाट प्रतिस्पर्धा गर्दै छन् । जनता रिझाउन उनी पटकपटक जिल्ला धाइरहेका छन् । माओवादीले क्षेत्र नम्बर ३ बाट दाहाल, २ बाट रामबहादुर थापाको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । ३ क्षेत्रमध्ये १ नम्बरमा भने कसैको नाम सिफारिस नगरिएको जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले बताए । ‘एमालेसँग तालमेल भएपछि सहमतिअनुसार १ नम्बर क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरिएको छैन,’ उनले भने, ‘प्रदेशसभाका लागि अहिलेसम्म कसैको नाम सिफारिस गरिएको छैन, तालमेल भएकाले केन्द्रबाट ठाउँ निक्र्योल भएर आउनासाथ नाम तोक्न तयार छौं ।’ 

कांग्रेसले समानुपातिक र प्रत्यक्षसहित २ सय ७४ जनाको नाम सिफारिस गरेर केन्द्र पठाएको छ । ‘क्षेत्र र नगरले जति सिफारिस गरेर जिल्लामा पठाए त्यति नै केन्द्रमा पठाएका छौं,’पार्टी जिल्ला सचिव उत्तम जोशीले भने, ‘सिफारिसमा परेका स्थानीय तहमा भाग लिएकाहरूको नाम भने हटाएका छौं ।’ उनका अनुसार क्षेत्र नम्बर १ मा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको छ । २ मा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, राजेश्वर खनाल, जगन्नाथ पौडेल, केशव कँडेल, गौरी श्रेष्ठको नाम केन्द्रमा पठाइएको छ । ३ मा सांसद रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, अञ्जनी श्रेष्ठ, पृथ्वीमान गुरुङमध्ये एक जनाले टिकट पाउनेछन् ।
 
एमालेले क्षेत्र नम्बर १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मति जुटाएको छ । त्यस्तै २ बाट सांसद एवं जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको नाम सिफारिस भएको छ । ३ नम्बर क्षेत्रमा भने घनश्याम भट्टराई, शंकर थपलिया, शारदा कुमाल, विना तिमल्सिनाको नाम सिफारिस भएको एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खडकाले बताए । ‘माओवादीसँग तालमेल गर्ने सहमति भएको हो, सिट बाँडफाँडको टुंगो लागेको छैन,’ उनले भने, ‘भागबन्डा अनुसार २ क्षेत्र एमाले र १ क्षेत्र माओवादीले पाउनेछ ।’उनका अनुसार १ र २ एमालेलाई र ३ नम्बर क्षेत्र अध्यक्ष दाहाललाई छाडिनेछ । खडकाले समानुपातिक, प्रदेश र प्रतिनिधिसभासहित करिब ९० जनाको नाम सिफारिस गरी केन्द्रमा पठाइएको बताए । 

त्यस्तै क्षेत्र नम्बर ३ बाटै राप्रपा (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । ०६४ सालको संविधानसभा सदस्यमा क्षेत्र नम्बर २ बाट निर्वाचित रामबहादुर थापा फेरि गृहजिल्लामा चुनाव लड्ने तयारीमा छन् । चुनाव जितेर गएपछि फर्किएर नआएको आरोप लाग्दै आएका थापाको नाम जिल्लाबाट सिफारिस भएर केन्द्र पठाइएको छ । क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नपा र रत्नननगर नपा पर्छन् । २ मा कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरका १० वटा वडा पर्छन् । त्यस्तै क्षेत्र नम्बर ३ मा माडी नगरपालिका र महानगरका १९ वडा समेटिएका छन् । 

प्रकाशित : आश्विन २६, २०७४ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?