साँसद राजपाको उम्मेदवारीमा सिफारिस कांग्रेसबाट

अमन कोइराला

सर्लाही — नेतृत्वसंग असन्तुष्ट भई राष्ट्रिय जनता पार्टीको महासचिव पद त्यागेका सांसद जंगीलाल रायलाई सर्लाहीको क्षेत्र नं. २ बाट नेपाली कांग्रेसले प्रतिनिधि सभामा उमेदवार सिफारिस गरेको छ ।

साँसद राजपाको उम्मेदवारीमा सिफारिस कांग्रेसबाट

संविधान सभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट चुनाव जितेका राय स्थानीय चुनावमा राजपाको टिकट वितरणपछि असन्तुष्ट बनेका थिए । स्थानीय चुनावमा उनकै गाउँ भएको तहमा उनले भनेको ब्यक्तिलाई कांग्रेसले टिकट नदिएपछि उनी एमालेसंग नजिकिएका थिए ।

राजपाका पूर्व जिल्ला संयोजक विनयकुमार कर्ण रायको घर भएको कविलासी नगरालिकाबाट एमालेको उमेदवार बनेका थिए । रायले उनलाई सघाए पनि चुनाव जित्न नसकेपछि फेरी कांग्रेसको सम्पर्कमा पुगेका हुन् ।
२ नम्बरबाट रायको एकमात्र नाम सिफारिस भएपनि आधिकारीक रुपमा सार्वजनिक गरिएको छैन । उनी अझैपनि राजपाकै सांसद भएकाले सिफारिसलाई गोप्य राखिएको हो । कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका कुनैपनि क्षेत्रबाट सिफारिस भएका उमेदवारको नाम सार्वजनिक गरेको छैन ।

त्यसैगरि माओवादी केन्द्रले क्षेत्र नं. ४ बाट पूर्व सांसद शिवपुजन रायलाई एकमात्र उमेदवार सिफारिस गरेको छ । उनी २०६४ सालको चुनावमा फोरमबाट संविधान सभामा निर्वाचित भएका थिए । स्थानीय चुनाव अघि उनी माओवादी प्रवेश गरेका हुन् । माओबादी केन्द्रबाट नेपाल लोकतान्त्रिक फोरमका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायपनि क्षेत्र नं. ३ बाट सिफारिसमा परेका छन् । उनको क्षेत्रमा भने माओवादीको अर्का नेताको पनि बलियो दावी छ ।

एमाले र माओबादी केन्द्रले क्षेत्र नं. २ मा कुनै उमेदवार सिफारिस गरेको छैन् । स्थानीय चुनावमा दुबै दलको खासै मत नआएकाले राजपाका असन्तुष्ट नेतालाई उमेदवार बनाउन कसैलाई सिफारिस नगरिएको बताइएको छ ।

कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार रायले प्रतिनिधि र प्रदेश सभाका सबै स्थानमा उमेदवार सिफारिस गरिएपनि नाम गोप्य राखिएको बताए । ‘लोकतान्त्रिक गठबन्धनका कुरा समेत भइरहेकोले अहिले नै उमेदवार सिफारिस सार्वजनिक गरिएको छैन,’ उनले भने, ‘तर, सबै ठाउँमा हामीले सिफारिस गरेर केन्द्रमा पठाइसकेका छौं ।’

प्रकाशित : आश्विन २६, २०७४ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?