गौरवका आयोजना : ३० वर्षमा ५० प्रतिशत काम

जुनसुकै परिस्थितिमा पनि निर्माण सक्न विकास समितिको निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौं — ३० वर्षको अवधिमा ५० प्रतिशत मात्रै प्रगति हुने गरेको भन्दै गौरवका आयोजनाहरू जुनसुकै परिस्थितिमा पनि शीघ्र निर्माण गर्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । २१ वटामध्ये कुनै पनि आयोजनाको काम हालसम्म सकिएको छैन ।

अधिकांश आयोजनाको निर्माण सम्पन्न हुने अवधि पटक–पटक सार्ने गरिएको छ । 

यो पृष्ठभूमिमा विकास समितिले बजेट, निर्माण सामग्री, अन्तरसरकारी निकायहरूबीचको समन्वय अभावलगायत विषयमा चर्चा गर्दै जुनसुकै परिस्थितिमा पनि गौरवका आयोजनाको शीघ्र निर्माण गर्न निर्देशन दिएको हो । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको कार्यप्रगति हेर्दा ३० वर्षको अवधिमा औषतमा ५० प्रतिशत काम हुन सक्ने गतिबाट मात्र काम भएको देखिन्छ । विनियोजित पुँजीगत खर्च पनि ७० प्रतिशतभन्दा बढी हुन सकेको देखिँदैन । यस्तो भौतिक पूर्वाधारको गतिले आगामी दिनमा हाम्रो अवस्था के हुने हो पूर्वानुमान गर्न कठिन छैन । 

समुन्नत नेपाल निर्माणका लागि गौरवका आयोजनाहरूको द्रुत निर्माण गर्न गराउन अति जरुरी देखिन्छ,’ समितिको निर्देशनमा भनिएको छ, ‘तसर्थ, समितिले बारम्बार यस्ता आयोजनाहरूको शीघ्र निर्माणमा जोड दिँदै आइरहेको पनि छ । र, यस बैठकबाट पुन: जुनसुकै परिस्थितिमा पनि गौरवका आयोजनाहरू शीघ्र निर्माण गर्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत सम्बद्ध सम्पूर्ण मन्त्रालय तथा निकायलाई गम्भीरतापूर्वक निर्देश गर्दछ ।’

गौरवका आयोजनाहरूको निर्माणमा सबैभन्दा ठूलो समस्या अन्तरसरकारी समन्वयको अभाव, स्थानीय अवरोध, नीतिगत समस्या, ढुंगा गिटी बालुवाको अभाव, ठेकेदारको लापरबाहीलगायत देखिएका छन् । अधिकांश आयोजनाका समस्या समान प्रकृतिका छन् । उक्त उल्झनका कारण वर्षांै अघिबाट सुरु आयोजनाले प्राय: कुनै पनि वर्ष शतप्रतिशत प्रगति हासिल गर्न सकेका छैनन् । केही आयोजनाहरू तोकेरै विकास समितिले विषयगत निर्देशन पनि दिएको छ । काठमाडांै–निजगढ द्रुतमार्ग, ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण राजमार्गहरू, अप्टिकल फाइवर विछ्याउने कार्य, ग्रामीण दूर सञ्चार विकास कोषको प्रयोग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तोरन्नतिलगायतका महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूको निर्माण कार्यमा समेत अति सुस्तता देखिएकाले तत्काल कमजोरीहरू हटाई तीव्र गतिमा कार्य अघि बढाउन समितिले निर्देशन दिएको छ ।

उक्त कार्य अघि बढाउन सम्बन्धित निकायहरूबीच आपसी समन्वयसहित जिम्मेवारीप्रति केन्द्रित भई उत्तरदायित्व निर्वाह गर्न, साधन र स्रोतको अभाव हुन नदिन निर्देश दिएको छ । ‘साथै उत्तरदायित्व बहन नगर्ने जिम्मेवार पदाधिकारीलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत समिति प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ,’ निर्देशनमा भनिएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति हालसम्म ४ पटकसम्म सारिसकेको भन्दै ०७४ सालभित्र सम्पन्न गरी पानी वितरण गर्न पनि निर्देशन दिएको छ । ‘२०७४ असोजमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्यको हविगत पनि देखिसकिएको अवस्था हो भने अझै पनि उक्त आयोजना कहिले पूर्ण रूपमा सम्पन्न हुने हो निश्चित छैन,’ निर्देशनमा भनिएको छ, ‘तसर्थ, यथार्थपरक जानकारी मात्र सार्वजनिक गर्न र मेलम्ची खानेपानी आयोजनालाई जसरी पनि यही २०७४ सालभित्र सम्पन्न गरी पानी वितरण गर्ने व्यवस्था मिलाउन समिति खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देश गर्दछ ।’

गत वर्षको तथ्यांक हेर्दा गौरवका २१ आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजनाको संख्या १३ मात्रै छ । ५० देखि ७९ सम्म प्रगति भएका आयोजनाको संख्या ५ हो । ५० प्रतिशतभन्दा कम प्रगति र प्रगति नै प्राप्त नभएका आयोजनाको संख्या क्रमश: २ र १ छ । गत आर्थिक वर्षका लागि विनियोजित बजेट र सम्पन्न गर्नुपर्ने काम कुनै पनि आयोजनाले पूरा गर्न सकेका छैनन् । अधिकांशको समस्या सरकारी नीति नियमसँग सम्बन्धित छ । यसबारे विकाससहित संसदका विभिन्न समितिहरूले पटकपटक निर्देशन दिने गरेका छन् ।

गौरवका बाहेक एकीकृत सहरी विकास आयोजनाहरू तथा काठमाडांैलगायत सहरी बस्ती व्यवस्थापनबारेमा स्पष्ट कार्ययोजना तथा मापदण्ड बनाई शीघ्र कार्यान्वयन गर्न/गराउन पनि निर्देशन दिएको छ । ‘काठमाडांै बस्ती व्यवस्थापनका लागि विकास गरिने भनिएका ४ वटा स्याटेलाइट सिटीहरूको आधारभूत कार्य जग्गा प्राप्ति, नक्सांकन तथा उपलब्ध गराउनुपर्ने सेवासुविधाहरू सहितको आयोजना विकास सम्झौता (पीडीए) तथा आयोजना बृहत् प्रतिवेदन (डीपीआर) १ वर्षभित्र अनिवार्य रूपमा तयार गरि कार्यान्वयनमा लैजान समिति सहरी विकास मन्त्रालयलाई निर्देश गर्दछ,’ निर्देशनमा भनिएको छ ।

संघीय संरचनामा राष्ट्रिय योजना आयोगबारे स्पष्ट हुन प्रधानमन्त्री कार्यालय र योजना आयोगलाई निर्देशन दिएको छ । ‘दाता केन्द्रित विकासको सोचबाट नेपाल लामो समयदेखि ग्रसित बन्दै आइरहेको पाइन्छ । हाम्रो विकासको आवश्यकता तेस्रो पक्षले पहिचान गरिदिने र सोहीअनुसार योजना बन्ने गरेबाट नेपालको पूर्वाधार विकासको वास्तविक मार्गचित्र, यथार्थ चिन्तन र मानक स्तरको अभाव रहेको पाइन्छ,’ समितिको निर्देशनमा भनिएको छ, ‘योजनाबद्ध विकासको ६ दशक बितिसकेको अवस्थामा गर्व गर्नुपर्ने गरी कुनै पनि भौतिक पूर्वाधारको विकास निर्माण नभएको र महत्त्वपूर्ण आर्थिक परिघटना पनि भएको नदेखिएकाले राष्ट्रिय योजना आयोगको प्रभावकारिता एवं उपादेयताको औचित्यतामाथि प्रश्न उठ्ने गरेको छ । 

संघीय प्रणालीमा राष्ट्रिय योजना आयोगको संरचना कस्तो हुने ?, यसको विद्यमान संरचनामा परिवर्तन गर्ने तथा कार्यक्षेत्र एवं क्षेत्राधिकारमा सुधार र परिमार्जन गर्ने सम्बन्धमा यथाशीघ्र निष्कर्षमा पुग्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आयोगलाई निर्देश गर्दछ ।’

प्रकाशित : आश्विन २६, २०७४ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्

सिजनको पहिलो प्रतियोगितामै शिवराम च्याम्पियन

घनश्याम गोल्डेन जुब्ली गल्फ
कान्तिपुर संवाददाता

काठमाडौं — शीर्ष वरीयताका प्रो शिवराम श्रेष्ठले कुल १२ अन्डर २ सय ६० स्कोर गर्दै रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा विहीबार घनश्याम प्रोफेसन गोल्डेन जुब्ली गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

 
अन्तिमचरणमा ३ ओभर ७१ को फितलो प्रदर्शन गरेपनि शिवरामले दाई जयरामलाई सात स्ट्रोकले पन्छाउँदै घरेलु कोर्समा ट्रफि चुमेका हुन् । सूर्य नेपाल गल्फ टुर २०१७–१८ को पहिलो प्रतियोगितामा शिवरामले सुरुका तीन दिन लगातार ५ अन्डर ६३ को कार्ड बनाएर जितको आधार तय गरेका थिए । उनले आठ स्ट्रोकको अग्रता लिदै अन्तिम दिनको खेल सुरु गर्दै करिअरको ३७ औं उपाधि जितेका हुन् ।
 
मर्मत–संभारपछि आरएनजीसीमा सुरुका तीन चरणमा नेपाली व्यावसायिक गल्फरहरूले राम्रै स्कोर निकालेका थिए । अन्तिम चरणमा भने सञ्जय लामा (६७) र कृष्णमान राजवाहक (६७) ले मात्र स्कोर अन्डरमा राखेका थिए । दुई ओभर ७० खेलेका जयराम समग्रमा ५ अन्डर २ सय ६७ सहित उपविजेता भए ।
 
यो नै उनको नौ वर्षे प्रो–करिअरको सबभन्दा राम्रो नतिजा हो । पहिलो दिन ६१ स्ट्रोक खेल्दै शीर्षस्थानमा रहेका भुवन नगरकोटीले त्यस लयलाई निरन्तरता दिन सकेनन् र चार अन्डर २ सय ६८ मा ७२ होलको प्रतियोगिता टुंग्याउँदै तेस्रो स्थान हात पारे ।
 
सञ्जय (१ अन्डर २ सय ७१) चौथो र दिनेश प्रजापति (इभन पार २ सय ७२) पाँचौं स्थानमा रहे । कुल ५ लाख ५ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा शिवरामले ८५ हजार, जयरामले ५८ हजार, भुवनले ४५ हजार, सञ्जयले ४० हजार र दिनेशले ३५ हजार हात पारे ।
 
एमेच्योरतर्फ पृथ्वी मल्लले ‘काउन्ट–ब्याक’मा मिथुन राईलाई पन्छाउँदै ट्राफि कब्जा गरे । उनीहरूले समान २२ ओभर २ सय ९२ स्कोर गरेका थिए । पछिल्ला नौ होलमा पृथ्वीले ३ अन्डर ३१ र मिथुनले ५ ओभर ४१ खेलेका थिए । सहभागी एकमात्र महिला गल्फर प्रतिमा शेर्पाले ३९ ओभर २ सय ९९ खेलेकी थिइन् ।

प्रकाशित : आश्विन २६, २०७४ २१:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्