कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तस्करीको सुन लुकाएपछि हत्या

जनकराज सापकोटा

काठमाडौं — सुन लुकाएको आरोपमा तस्करीमा संलग्न भरियाको हत्या गरिएको खुलासा भएको छ । झन्डै दुई साताअघि नागार्जुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो ।

तस्करीको सुन लुकाएपछि हत्या

रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का 
गगन लामाको शव १६ असोजमा फेला परेको थियो । उनको दाहिनेपट्टि ढाडमा छुरी प्रहार गरिएको थियो ।

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याइएको १८ केजी अवैध सुन ओसारपसार प्रकरणसँग जोडिएको प्रहरीको भनाइ छ । गत असार २ मा चाइनिज नागरिक वोई र तेन्जिङले रसुवा गोसाइँकुण्ड गाउँपालिका १ का लाक्पा ग्याल्जेन तामाङलाई १८ केजी सुन काठमाडौं पुर्‍याउने जिम्मा दिएका थिए । ग्याल्जेनले आफूले पाएको जिम्मेवारी फुपूको छोरा कीर्ति भन्ने छिरिङ तामाङ, लिङजो भन्ने पासाङ तामाङ र गगन लामालाई सुम्पेका थिए ।

सुन लिएर काठमाडौं आएका तीनैजना असार ५ देखि सम्पर्कबाहिर रहे । सुनधनीले आफूले पठाएको सुन काठमाडौंमा बुझ्ने जिम्मा पाएका व्यक्तिको हातमा नपरेको थाहा पाएपछि तीनै जनाको खोजी जारी राखे । ६ असारमा कीर्ति भन्ने छिरिङ लाक्पा सम्पर्कमा आए । छिरिङले सबै १८ केजी सुन नै गगनले बोकेर हिँडेको बताएपछि सुनको खोजीमा ठूलो समूह नै परिचालन भयो । ६ गते साँझ सम्पर्कमा आएका गगनले उक्त सुनमध्ये २ केजी सुनधनी चिनियाँ नागरिकलाई नै फिर्ता गरेको र बाँकी सुन काठमाडौंमै रहेको बताए । काठमाडौंमा रहेको सुन लिन भनेर सोही साँझ ग्याल्जेन र गगनसहितका पाँचजना काठमाडौं हिँडे । तर त्रिशूली नआउँदै गगन बीच बाटोबाटै भागेपछि अन्य चारजना त्यहीँ बास बसे । सुन पुर्‍याउने जिम्मा पूरा नगरेको भन्दै चिनियाँ नागरिकले ग्याल्जेनलाई त्रिशूलीबाटै समातेर केरुङतिर पुर्‍याए ।

सुन काठमाडौं पुर्‍याउने जिम्मा लिएको समूहले ६ गतेपछि पनि निरन्तर गगनको खोजी जारी राख्यो । गगन कहाँ छन् भन्नेबारे उनीसँग नजिकको सम्बन्ध राख्ने रसुवा डाँडागाउँकी सविना तामाङसँग भएको पत्तो लाग्यो । छिरिङ र लिङजोले सविनामार्फत गगन काठमाडौं रहेको पत्तो लगाए । उनीहरूकै योजनाअनुसार सविनाले १४ असारमा गगनलाई फोन गरी आफू रसुवाबाट काठमाडौं आउन लागेको र बसपार्कमा लिन आउनु भनेर फोन गरिन् । गगन सविनालाई लिन वनस्थली पुगे । त्यतिबेलासम्म सविनाको साथमा लिङजो, छिरिङ र उनका साथीहरू डेभिड भन्ने आङबाबु तामाङ, प्रकाश शाक्यसमेत थिए । 

प्रहरीका अनुसार यही समूहले फोल्डिङ छुरामार्फत गगनलाई दुईपटक प्रहार गरेको देखिन्छ । पक्राउ परेकाको बयानका अनुसार छुरा लागेपछि गगन चिहानडाँडा हुँदै ढुंगाखानीतर्फ भागे । अनुसन्धानमा संग्लन एक प्रहरीले भने, ‘भाग्दाभाग्दै अत्यधिक रक्तश्रावका कारण गगनको मृत्यु भएको देखिन्छ ।’

हत्या अभियोगमा रसुवा घर भएका लाक्पा तामाङ, रसुवा गोसाइँकुण्डका लाक्पा ग्याल्जेन, कीर्ति भन्ने छिरिङ लामा, सविन थोकर र सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका ९ का प्रकाश शाक्य पक्राउ परेका छन् । लामाको मृत्युपछि प्रहरीले उनले लुकाएको भनेको ६ केजी सुनको खोजी जारी राखेको छ ।

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले संगठित तस्करीमार्फत भइरहेको अन्तरदेशीय सुन ओसारपसारमा कसरी नेपालीहरू भरियाका रूपमा काम गरिरहेका छन् भन्ने तथ्य यो घटनाले बाहिर ल्याएको बताए । ‘सुन तस्करीका क्रममा हत्यासम्मका जघन्य घटना हुने पुष्टि भएको छ,’ उनले भने । 

सुन लुट्ने योजना 
सोमबार दिउँसो नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या घटनाले छायामा परेको एक घटनाको सम्बन्धसमेत अन्तरदेशीय सुन तस्करीसँग रहेको खुलेको छ । गौचनको हत्या हुनु केही समयअघि महाशाखाले म्हैपीबाट एक थान रिभल्वर र गोलीसहित काभ्रेको रोसी नगरपालिका घर भएका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई पक्राउ गरेको थियो । बयानमा तीनै जनाले रसुवाको केरुङ नाका हुँदै तस्करी भइरहेको सुन लुट्ने र मनग्य आम्दानी गर्ने योजना बनाएको बताएका छन् ।

अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले भने, ‘काभ्रेका एक व्यक्तिबाट बन्दुक किनेर सुन लुट्ने योजनासाथ तीनैजना रसुवा जान लागेको देखिन्छ । पक्राउ परेकाहरूले तस्करीको सुन लुट्ने योजना कसको आड र संरक्षणमा बनाएका थिए भन्नेबारे अनुसन्धान जारी छ ।’ 

 

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?