थप चार ठाउँमा ईन्टरपोलको ‘माइन्ड डिभाइस’ विछ्याइने

लालप्रसाद शर्मा

पोखरा — अवैध तथा फर्जी ट्राभल डकुमेन्टस् प्रयोग गरी आवातजावत र हुनसक्ने संभावित आतंककारी तथा आपराधिक गतिविधि रोक्ने उद्देश्यसहित नेपालका चार ठाउँमा ईन्टरपोलले माईन्ड डिभाईस (मोबाईल ईन्टरपोल नेटवर्क डाटाबेस) राख्ने भएको छ । वीरगन्जको रक्सौल, रुपन्देहीको भैरहवा, रसुवागढी र पोखरास्थित अध्यागमन कार्यालयमा डिभाईस राख्न प्रक्रिया सुरु भइसकेको छ ।

थप चार ठाउँमा ईन्टरपोलको ‘माइन्ड डिभाइस’ विछ्याइने

अहिलेसम्म प्रहरी प्रधान कार्यालय विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो र विशेष ब्युरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरी तीन ठाउँमा मात्र डाटाबेसको पहुँच छ । 

हराएका वा चोरीएका र फर्जी बनाइएका ट्राभेल डकुमेन्ट (परिचय खुल्ने कागजात, पासपोर्ट, भिसा वा प्रशासनिक कागजात)को दुरुपयोगलाई निरुत्साहित गरी सीमालाई थप सुरक्षित बनाउन सिर्जना गरिएको डाटाबेसको प्रयोग विस्तार गरिएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा प्रमुख किरण बज्राचार्यले बताइन् । यस्तो डाटाबेसले ईन्टरपोलमा नोटिस भएका विषयको मुभमेन्टलाई ट्रयाक गर्ने, ट्राभल्स डकुमेन्टको बैधताबारे केही सेकेन्डमै निश्चय गर्ने, अपराधीबाट हुनसक्ने खतराबारे कानुन कार्यान्वयन गर्ने निकायलाई सजग बनाउन सकिने उनले बताइन् ।
 
माइन्डको नियन्त्रण ईन्टरपोलसँग हुने भएकाले अभिलेख अपडेट हुने गर्छ । कुनै पनि यात्रुले प्रस्तुत गरेको पासपोर्ट वा ट्राभल डकुमेन्टलाई बोर्डर कन्ट्रोल अफिसले स्क्यान गर्छ । ती कागजातहरु डाटाबेससँग जुधाएर हेरेर डकुमेन्टको वैधता जाँच हुन्छ । ‘कागजात वैध/अवैध के हो भन्ने तुरुन्तै छुट्टिन्छ,’उनले भनिन्, ‘अवैध भएको देखाएमा कागजातसहित सम्बन्धित व्यक्तिलाई विस्तृत जाँचका लागि नियन्त्रणमा लिई प्रमाणित भएमा कानुनी कारबाही गरिन्छ ।’ 

ईन्टरपोलले ती नाका तथा कार्यालयका १२ प्रहरी अधिकृत र ५ अध्यागमनमा कार्यरत अधिकृतलाई डिभाइस सञ्चालन, महत्वबारे बिहीबार एकदिने प्राविधिक तालिम दियो । ईन्टरपोल हेडक्वार्टर सिंगापुरकी प्रोजेक्ट म्यानेजर मेरी जुडिथ रेज, प्रोजेक्ट एसिस्टेन्ट रोवेना नाभारो र रेजिनल प्रोडक्ट डिप्लोयमेन्ट अफिसर अल्ताफ मायारले सहजीकरण गरेका थिए । 

नेपालमा डाटाबेसको सुरुआत सन् २०१४ मा भएको थियो । यस अवधिमा डेढसय विदेशीको डाटाबेसका माध्ययमबाट ट्राभल डकुमेन्ट अवैध भएको (हिट) देखिएको र विदेशमा ३० नेपालीको हिट देखिएको बज्राचार्यले बताइन् । उनका अनुसार बढी मात्रामा विदेशीको आवतजावत हुने र ट्रान्जिस्नल क्राईमको संख्या बढी भएको नाकको पहिचान गरी यसलाई विस्तार गर्नुपर्छ ।
 
अध्यागमन कार्यालय पोखराका प्रमुख रामचन्द्र अधिकारीले अवैधरुपमा आवतजावत गर्ने पर्यटकलाई पनि यसले नियन्त्रण र व्यवस्थित तुल्याउने विश्वास व्यक्त गरे । नेपाल प्रहरीको चार नम्बर प्रदेश प्रमुख एआईजी कमलसिंह बमले यसले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए । 
  

प्रकाशित : आश्विन २७, २०७४ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?