२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

यूएईमा अलपत्र १६ नेपालीको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौं — पर्यटक भिसामा रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर अलपत्र परेका १६ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।

यूएईमा अलपत्र १६ नेपालीको उद्धार

नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइएमओ), गैरआवसीय नेपाली संघ, यूएईले टिकट उपलब्ध गराएपछि नेपाल पठाएको हो । अलपत्र परेका उनीहरुलाई १० दिनसम्म दूतावासको सेल्टरमा राखिएको थियो । पीडित नेपाली पान्डोरा इन्कर्पोरेशनका सञ्चालक ईश्वरी भण्डारी र कार्यकारी निर्देशक केशव थापा, दलालहरु क्रमश:  मकवानपुरका दिनेश लामा मोक्तान, धादिङका रामेश कामर (रमेश कुँवर)मार्फत यूएई पुगेको दूतावासले जनाएको छ । दूतावासले पीडितलाई कारबाहीको लागि सम्बन्धित निकायलाई सिफारिस गरेको जनाएको छ ।

पीडितहरुमा सबैभन्दा बढी मकवानपुरका छन् । जसमा सुनिल राउत, भीमबहादुर बम्जन, नवराज लामा, सुन्दर तामाङ, दीपेन्द्र साम्दन, सुकुराम थिङ, सिमोन बम्जन रहेका छन् । यसै गरी बाग्लुङका इन्द्रबहादुर थापा, राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरुङ, बाँकेका तुलसीप्रसाद शर्मा र सिन्धुपाल्चोकका फुर्वा तामाङ रहेका छन् । उनीहरुले पान्डोराका सञ्चालकलाई तीन लाख रुपैयाँसम्म बुझाएर राम्रो काम पाउने आशामा यूएई पुगेका थिए । यूएईमा उनीहरुले काम नपाउनुको साथै खाना र बस्न समेत नपाएपछि शरणको लागि नेपाली दूतावास पुगेका थिए । 

वैदेशिक रोजगार ऐन अनुसार श्रम स्वीकृतिबिना नेपालीलाई कामको लागि विदेश पठाएमा मानव तस्करीभित्र पर्छ । त्यसरी मानव तस्करी गर्नेलाई नेपाली दूतावासले कारबाहीको लागि सिफारिस गरे पनि कारबाही हुन सकेको छैन । 

 

प्रकाशित : आश्विन २७, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?