कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

के हुँदैछ चीनको १९ औं नेसनल कङ्ग्रेसमा ?

चीनको सर्बोच्च अंग नेशनल कङ्ग्रेसमा विश्वकै ध्यान केन्द्रित
कमलदेव भट्टराई

काठमाडौं — पाँच दिनपछि कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को १९ औ नेसनल कङ्ग्रेसको बैठक बस्दैछ । यतिखेर सम्पूर्ण विश्वको ध्यान नै सो सम्मेलनमा रहेको छ । विश्लेषकहरुले सो सम्मेलनलाई विभिन्न कोणले ऐतिहासिक भनेका छन् । यो विश्वको दोस्रो अर्थतन्त्र चीनको सबैभन्दा उच्च राजनीतिक भेला हो ।

के हुँदैछ चीनको १९ औं नेसनल कङ्ग्रेसमा ?

देशभरीबाट चुनिएर आएका २ हजार २ सय ८७ प्रतिनिधिले आगामी दिनको नीति तथा कार्यक्रमलाई पारित गर्नुका साथै आगामी पाँच वर्षको नेतृत्व चयन गर्ने छन् । विशेषत पार्टीको केन्द्रीय समिति र पार्टीको अनुशासन तथा अनुगमन आयोगले पेश गर्ने दुईवटा कार्यपत्र सो सम्मेलनमा प्रस्तुत हुनेछ ।

चीनमा केन्द्रीय समितिलाई पार्टीको केन्द्रीय नेतृत्वको रुपमा लिइन्छ भने आयोगलाई पार्टीको भ्रष्टाचार विरोधी उच्च निकायको रुपमा । यसका मुख्य तीन वटा कामहरु रहेका छन् । पहिलो, पार्टीको केन्द्रीय समिति तथा अनुशासन आयोगको छनौट गर्ने, दोस्रो पार्टीको विधानमा आवश्यक संशोधन गर्ने र तेस्रो भावी दिनको एजेण्डाको समिक्षा गर्दै एजेण्डाहरुको तय गर्ने ।

सम्मेलनका प्रतिनिधिहरु राजनीतिक र बैचारिक हिसावले उच्च, राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न सक्ने तथा दिइएको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको आधारमा छनौट भएको चिनियाँ संचार माध्यमहरुले उल्लेख गरेका छन् । प्रतिनिधिको रुपमा सरकारी अधिकारी, सैन्य अधिकारीहरु, कामदार, कृषक, मजदुर नर्स एवं डाक्टरहरुसमेत चुनिएका छन् । यसलाई नेतृत्व चयन गर्ने औपचारिक प्लेटफर्मको रुपमा लिने गरिन्छ । प्रतिनिधिहरुको निर्वाचन नोभेम्वरबाट शुरु भएको थियो । प्रतिनिधिहरुको औसत उमेर ५१ वर्ष रहने गरेको छ । पार्टीका सदस्यहरु ८९ मिलियन रहेका छन् । धेरै पोलिटव्यरो तथा केन्द्रीय समितिका सदस्यहरुले उमेर हदका कारण अवकाश प्राप्त गर्दैछन् ।

दोस्रो कार्यकालको सिपिसीको महासचिव तथा राष्ट्रपतिमा सि चिनफिङको निरन्तरता हुने लगभग पक्का रहेको छ । यति मात्र होइन सि सन् २०२२ पछि तेस्रो कार्यकालको लागि समेत चयन हुनसक्ने आंकलन गर्न थालिएको छ । विशेषत उनले हरेक क्षेत्रमा वढाउँदै लगेको नियन्यत्रणका लागि यस्तो आंकलन हुन थालेको हो । सो सम्मेलनले पार्टीको नेतृत्व मात्र चयन गर्ने छ भने सरकारको नियुक्तीको बारेमा भने विधायकले निर्णय गर्ने छ ।

चीनमा केही दशक यताकै शक्तिशाली राष्ट्रपतिको रुपमा उनले सो सम्मेलन आयोजना गर्दैछन् । उनलाई माओ र देङपछिको शक्तिशाली नेताको रुपमा लिने गरिन्छ जसले राज्य शक्तिलाई पूर्ण रुपमा आफुमा केन्द्रिकृत गरेका छन् । ६४ वर्षीया चिनियाँ नेता आफ्नो प्रभाव अझ वढाउने तयारीमा छन् सो सम्मेलन मार्फत । यस अगाडी चीनमा सामुहिक नेतृत्वको अभ्यास भएपनि सि आएपछि भने सामुहिक नेतृत्व हराउँदै एकल नेतृत्वतर्फ अगाडी वढीरहेको दावी विश्लेषकहरुको छ । उनको नेतृत्वलाई सामुहित नेतृत्वको अन्त र एकल नेतृत्वको पुर्नस्थापनाको रुपमा लिइएको छ । पहिलो सम्मेलन सन् १९२१ मा भएको थियो जुन सिपिसीको स्थापना भएको थियो । यस्तो सम्मेलन पाँच पाँच वर्षमा हुने गर्दछ । सन् २०१२ मा हु जिन्ताओले १८ औं सम्मेलन मार्फन सिलाई सत्ता हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रमको उद्घाटनमा सिले आगामी पाँच वर्षको लागि पार्टीको निति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । उनले अन्तिममा आफ्नो नेतृत्वमा रहेका अन्य सदस्यहरुको बारेमा पनि विश्वलाई जानकारी गराउने छन् । विशेषगरी शक्तिशाली निकाय मानिएको पोलिटव्युरो र स्थायी समितिमा नयाँ नेताहरुले प्रवेश पाउने छन् । सो सम्मेलनमा विगत पाँच वर्षे कार्यकालमा सिको नेतृत्वमा भएका केही महत्वपूर्ण कामहरुको बारेमा छलफल भई उनले लिएका नीतिहरुको अनुमोदन हुनेछ ।

पहिलो, यस पाँच वर्षको अवधीमा सेना तथा राजनीतिमा आफ्नो प्रभाव वढाउनको लागि उनले विभिन्न कदमहरु लिए । यही अवधीमा उनले जनमुक्ति सेनाको सर्वोच्च कमाण्डरको पद सम्हाले । उनले देशको अर्थ व्यवस्थामा झन वढी नियन्त्रण कायम राखेका छन् भने मिडिया एवं संचारको क्षेत्रमा पनि थप प्रभाव वढाएका छन् । राष्ट्रपति भएको चार वर्ष पछाडी गत वर्ष मात्र उनले आफुलाई ‘कोर लिडर’ को रुपमा घोषणा गरेका थिए । सन् २०१६ मा उनले चीनको सैन्य संरचनामा व्यापक फेरवदल गरे । यस अगाडीका राष्ट्रपतिहरु महासचिव भएको केही महिना तथा वर्षपछि सेनाको नेतृत्व लिने गर्दथे तर उनले भने तत्कालै सबै नेतृत्व लिईहाले । त्यसैगरी सेनालाई आधुनिकीकरण गर्नको लागि पनि उनले विभिन्न पहलहरु लिए । उनको सैन्य पुर्नसंरचनालाई धेरैले सोभियत शैली, आर्मी केन्द्रित प्रणालीबाट पश्चिमा शैलीको संयुक्त कमाण्डको रुपमा विकास गर्ने पहल लिएका छन् । उनको सैन्य पुर्नसंरचनाले अर्को पाँच वर्षभित्र पूर्णता प्राप्त गर्ने छ ।

दोस्रो, सो सम्मेलनमा भ्रष्टाचार विरुद्धको लडाईले विशेष प्राथमिकता पाउने छ । सो अभियानलाई भ्रष्टाचार नियन्त्रण गर्ने अभियानको रुपमा मात्र नलिई विरोधी तथा विपक्षीलाई सिध्याउने एउटा औजारको रुपमा समेत प्रयोग गरिएको छ । विशेगरी राष्ट्रपतिले विरोधीलाई ठिक पार्ने अभियानको रुपमा भ्रष्टाचारलाई लिएका छन् । सन् २०१३ मा मात्र पार्टीको केन्द्रीय अनुशासन तथा अनुगमन आयोगले एक लाख ७२ हजार भ्रष्टाचारका मुद्दा हेरेको थियो भने १ लाख ८२ हजार सरकारी अधिकारीहरुमाथि छानविन गरेको थियो । सन् २०१६ मा प्रदेश तथा केन्द्रका झण्डै १६० नेतालाई भ्रष्टाचारको आरोपमा पार्टीको जिम्मेवारीबाट हटाइएको थियो । यि कामहरुले उनलाई एउटा वलियो नेताको रुपमा स्थापित गरेको छ । उसो त भ्रष्टाचार नियन्त्रणका कदमहरुले राजनीतिक नेतृत्वप्रति विश्वास जगाएको दावी चिनियाँ संचारमाध्यमहरुको रहेको छ । त्यसैगरी भ्रष्टाचार नियन्त्रणका कदमले पार्टीको कामलाई प्रभाकारी तथा चुस्त बनाएको बताइएको छ ।

तेस्रो, विगत पाँच वर्षको अवधीमा विश्वको नेतृत्व गर्ने महत्वकांक्षका साथ राष्ट्रपति सि चिनफिङले विभिन्न पहलहरु लिएका छन्, जसको बारेमा कङग्रेसमा विस्तृतमा छलफल हुनेछ । सबैभन्दा चर्चामा रहेको चाहिं वान वेल्ट वान रोड जुन विआरआइको नामले परिचित छ । विआरआइ अहिले चीनको परराष्ट्र नीतिको केन्द्रीय तत्व बनेको छ । सो परियोजना अन्तर्गत उसले विश्वभरी नै आफ्नो प्रभाव विस्तार गर्ने रणनीति लिएको छ । त्यसैगरी उनको अर्को पहल एसियन इन्फ्रास्टक्चर बैंक हो, जसले एसियाली बिकास बैंकलाई सिधा काउन्टर दिएको छ । उनको अर्को पहल न्यु डेभलपमेन्ट बैंक हो । उनको परराष्ट्र नीतिलाई प्रोएक्टिभ विदेश नीतिको रुपमा लिइन्छ, जुन पहिलेको निष्क्रिय विदेश नीति भन्दा फरक छ ।

सिले चार वर्षमा निर्माण गरेको अर्को अस्त्र भनेको आर्थिक बिकास हो । आफ्नो आर्थिक प्रभावलाई उसले विश्वमा आफ्नो कुटनीति तथा सैन्य नीति विस्तार गर्ने औजारको रुपमा प्रयोग गरिरहेको छ । विगत पाँच वर्षको अवधीमा उनले चीनको अर्थतन्त्रलाई चलायमान बनाउन लिएको नीतिको सर्वत्र प्रशंसा भईरहेको छ । उनले चिनियाँ ड्रिमको घोषणा गरे जसले सबै जनताले मध्यम वर्गको जीवनशैली प्राप्त गर्न लागि गर्ने लक्ष्य लिएको छ भने निम्न मध्यमवर्गको जीवनस्तर उकास्ने नीति तयार पारिएको छ । उनले नीजि क्षेत्रलाई अर्थतन्त्रको मुख्य मियोको रुपमा अगाडी बढाउन घोषणा गरेका थिए ।

एसियामा मात्र होइन, युरोपियन युनियन तथा अफ्रिकामा चीनको आर्थिक कार्ड बलियो बन्दै गएको छ । कार्यकाल सम्हाले लगत्तै सिले चाइना ड्रिमको अवधारणा सार्वजनिक गरेका थिए जसलाई धेरैले अमेरिकन ड्रिमको काउन्टरको रुपमा लिएका थिए । सो अवधारणाले चीनलाई विश्वको एउटा शक्ति राष्ट्रको रुपमा स्थापित गर्ने नीति लिएको छ । अहिले नै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीन विश्वकै तिव्र गतिको रेल तथा उच्च गुणस्तरीय मोवाइल पेमेन्ट विजनेसको विकास गर्ने देशको रुपमा परिचिति छ । तर अझै पनि चीन एउटा बिकासशिल मुलुकको रुपमा रहेको छ जहाँ १.३ विलियन नागरिकहरुको लिभिङ स्टान्डर्ड त्यति उच्च छैन् ।

चीनभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रुपमा पनि सो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ । यसले अर्को ५ बर्षको लागि चीनको राष्ट्रिय दिशा निर्धारण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय महत्व रहेको छ । त्यसैले पनि यतिखेर विश्वका संचार माध्यमहरुको ध्यान सो सम्मेलनतिर छ । सो सम्मेलनको लागि मिडिया सेन्टरको घोषणा बुधवार मात्र गरिएको छ । सो मिडिया सेन्टरमा बसेर २०० सय पत्रकारले समाचार संकलन गर्न सक्दछन् । सो सम्मेलनको बारेमा जानकारी लिनको लागि पत्रकारहरुले विच्याटको प्रयोग गर्न सक्दछन् भने वेबसाइटमा समेत पर्याप्त जानकारी दिइएको छ ।

झण्डै २१ मिलियन मान्छे बसोवास गर्ने वेइजिङलाई सो सम्मेलनले केही राहत दिने छ । सरकारी अधिकारीहरुले सो शहर वरिपरी भएका स्टील तथा अन्य उद्योग धन्दाहरुलाई बन्द गर्नको लागि निर्देशन दिएका छन् जसले गर्दा वायु प्रदुषण कम हुने छ । तर, कम्यनिष्ट पार्टीको आलोचकहरुका लागि भने यो निकै नै पीडाको समय हो । पार्टीको कडा विरोध गर्ने कतिपयलाई सरकारी अधिकारीहरुले सो सम्मेलनभरी वेइजिङ छोड्न आदेश दिईसकेका छन् । त्यसैगरी प्रहरीले आलोचकहरुको धरपडक गर्न थालिसकेको छ । केही नरम आलोचना गर्नेहरुलाई पनि विदेशी पत्रकारहरुसंग कुरा नगर्नको लागि निर्देशन दिइएको छ ।

चिनियाँ संचार माध्यमहरुले निरन्तर रुपमा सो सम्मेलनको बारेमा सामाग्रहरु पस्किरहेका छन् । सिसिटिभीले वर्तमान राष्ट्रपतिले विगतको पाँच वर्षमा लिएका सुधारमा नीति तथा कार्यक्रमहरु समेटेर तयार पारिएको डकुमेन्ट्री केही समययता प्रसारण गरिरहेको छ । सिनेमा हलहरुमा समेत तीन मिनेट लामो 'ग्लोरी एण्ड ड्रिम–आवर चाइनिज ड्रिम' नामक सन्देश फिल्मभन्दा अघि प्रसारण गरिरहेका छन् ।

त्यसैगरी सोसल मिडियाहरुमा समेत त्यही खाले सन्देश प्रवाह भईरहेको छ । दर्शकलाई प्रभाव पार्ने उदेश्यले यस्ता सन्देशहरुमा देशका लोकप्रिय कलाकारहरुलाई संलग्न गराइएको छ । सम्मेलनको अन्तिम तयारीका स्वरुप बुधबारदेखि सिपिसीको १८ औं केन्द्रीय समितिको बैठक शुरु भएको छ । सो बैठकले सम्मेलनमा प्रस्तुत हुने विभिन्न दस्तावेजहरुलाई अन्तिम रुप दिनेछ ।

केही दिन अगाडी एक पार्टी कार्यक्रमलाई सम्वोधन गदै सि शासनको विगत ५ वर्षको अवधीमा भएको प्रगतीहरुको बारेमा जानकारी गराइएका छन् ।चाइना डेल्लीका अनुसार अनुसार प्रत्येक वर्ष १० मिलियन भन्दा वढी जनतालाई गरिवीबाट मुक्त गरिएको छ । विभिन्न ६० क्षेत्रमा ३ सय ३६ वटा सुधारका कार्यक्रमहरु कार्यान्यन भईरहेका छन् ।

१.२ मिलियन पार्टी कार्यकता तथा सरकारी अधिकारीहरुलाई अनुशासन भंग गरेको अरोपमा कारवाही गरिएको छ । उनका अनुसार बैज्ञानिक अनुसन्धानमा लगानी गर्ने चीन विश्वको दोस्रो मुलुक हो । विगत ५ वर्षको अवधीमा ४० वटा पार्टीसंग सम्वन्धित नयाँ कानुनहरु बनाइएको अथवा संशोधन गरिएको छ । जुन सम्पूर्ण कानुनहरुको ४० प्रतिशत हो ।

अगामी सन् २०२० भित्र चीनलाई मोडरेट समृद्ध समाजको रुपमा विकास गर्ने लक्ष्य सिले सार्वजनिक गरेका छन् । सन् २०२० मा सिपिसी स्थापनाको १०० वर्ष पुग्दैछ । यसैगरी सन् २०४९ भित्र चीनलाई एक आधुनिक समाजवादी मुलुकको रुपमा रुपान्तरण गर्ने घोषणासमेत उनले गरेका छन् । त्यसैगरी अबको पाँच दिनपछि शुरु हुने सो सम्मेलनले विश्वको ध्यान केन्द्रित गरेको छ ।

प्रकाशित : आश्विन २७, २०७४ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?